
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको सर्वदलीय संयन्त्र गठन गर्ने प्रस्तावलाई समर्थन गरेको छ। विज्ञप्ति जारी गर्दै सर्वदलीय संयन्त्र गठन गर्नु उपयोगी हुने बताएको हो।
प्रचण्डले कोरोना भाइरसको प्रकोपपछि सर्वदलीय संयन्त्र गठनको प्रस्ताव गरेका थिए। नेकपाको सचिवालय वैठकमा समेत यस विषयमा छलफल भएको प्रचण्डले बताएका थिए।
सार्वजनिक विज्ञप्तिमा राप्रपाले सरकारका काम प्रभावकारी नभएको टिप्पणी गरेको छ। लकडाउन गर्नु कोरोना नियन्त्रणका लागि राम्रो कदम भए पनि सरकारले अन्य प्रभावकारी काम नगरेको आरोप लगाएको हो।
राप्रपाका तीनै जना अध्यक्ष कमल थापा, डाक्टर प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारलाई १२ वटा सुझाव समेत दिइएको छ।
चिकित्सक र सर्वसाधारणमाथिको ज्यादति रोकियोस्
राप्रपाले चिकित्सक र सर्वसाधारणमाथि ज्यादती भएको भन्दै सरकारलाई त्यस्ता कार्य आग्रह गरेको छ। पार्टीले यस्ता घटना दोहोरिन नदिन अपिल गरेको हो।
'सरकारी निर्णयहरु कार्यान्वयन गर्ने क्रममा सरकारी संयन्त्र सहिष्णु र संवेदनशील रहनु जरुरी देखिएको छ। यस्ता कार्य दोहोरिन नदिन राप्रपा सरकारसंग आग्रह गर्दछ', लेखिएको छ।
भ्रष्टचारीलाई कारवाही
राप्रपाले व्यक्तिगत सुरक्षा उपकरण अझै पर्याप्त मात्रामा नहुनुलाई सरकारको कमजोरी भएको जनाएको छ। स्वास्थ्य सामाग्री र ब्यक्तिगत सुरक्षा उपकरण आपुर्तिमा ध्यान दिन राप्रपाले अपिल गरेको छ। विज्ञप्तिमा भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भएपनि अविलम्ब कार्वाही गरिनुपर्ने उल्लेख छ।
विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउन अपिल
राप्रपाले विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउन सरकारलाई आग्रह गरेको छ। विदेशमा अलपत्र परेकालाई नेपाल ल्याउन, उनीहरुको बारेमा जानकारी दिन तथा नेपालमा रोजगारीको व्यवस्था मिलाउन राप्रपाको सुझाव छ
'रोजगारदाताले जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भएपनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न', राप्रपाको विज्ञप्तिमा उल्लेख छ,'
'वैदेशिक रोजगारीको क्षेत्रमा लामो लमयसम्म नकरात्मक प्रभाव पार्ने निश्चित रहेको हुँदा त्यसबाट नेपालमा पर्ने प्रभावलाई न्युनिकरण गर्न अहिले देखि नै अल्पकालिन र मध्यमकालिन रोजगारी प्रवधन सम्बन्धि कार्यक्रम तयार
किसानका लागि राहत
राप्रपाले सयौं किलोमिटर हिंड्दै घर फर्किरहेका सर्वसाधारणलाई गन्तव्यसम्म पुयाउन अनुरोध गरेको छ।
किसानलाई अल्पकालीन तथा दिर्घकालीन राहत दिन सरकारलाई राप्रपाले आग्रह गरेको हो।
'पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसाय लगायत कृषी सम्बन्धि अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकरात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालिन र दीर्घकालिन राहत प्याकेज कार्यान्वन गर्न राप्रपा सरकारसंग माग गर्दछ', विज्ञप्तिमा उल्लेख छ।
वित्तीय र मौद्रिक कार्ययोजना
विज्ञप्तिमा मौद्रिक योजना बनाउन सकारलाई अपिल गरिएको छ। 'नेपाल जस्तो अल्पविकसित र विकासोन्मुख राष्ट्रको आर्थिक स्थितिमा पर्ने प्रतिकुल प्रभावलाई न्युनिकरण गर्न प्रभावकारी आर्थिक नीति र योजनाको आवश्यकता पर्दछ।' विज्ञप्तिमा लेखिएको छ,'उपयुक्त वित्तीय र मौद्रिक कार्ययोजना तयार गर्न राप्रपा सरकारसंग आग्रह गर्दछ।'
५० प्रतिशत ऋण मिनाह
सरकारले अन्तरराष्ट्रिय समुदाय र फोरमहरुमा निम्न विकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा दुई वर्षसम्मको लागि व्याज मिनाह गर्न सुझाएको छ। 'नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नु पर्ने कुल ऋणको कम्तिमा ५० प्रतिशत मिनाह गरिनु पर्दछ।', राप्रपाको विज्ञप्तिमा लेखिएको छ।
सर्वदलीय संयन्त्र गठन
राप्रपाले सरकारले चालेको कदममा राप्रपाको सकारात्मक धारणा रहेको बताएको छ। सरकारलाई विगतको अनुभवलाई आधार मानेर सर्वदलीय संयन्त्र गठन गर्न राप्रपाले आग्रह गरेको छ। प्रधानमन्त्री संयन्त्रको संयोजक हुन उपयुक्त हुने राप्रपाको धारणा छ।
'विगतका परम्परा र अनुभवलाई समेत विचार गरि सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यवारे सबैलाई जानकारी दिन सबैतहमा सर्वदलिय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ।', विज्ञप्तिमा लेखिएको छ।
सरकारलाई सहयोग गर्न कार्यकर्तालाई निर्देशन
राप्रपाले आफ्ना कारयकर्तालाइ सबै तहका सरकारलाई सहयोग गर्न निर्देशन दिएको छ।
एकता कायम राखि कोरोना भाईरसको संक्रमणलाई पराजित गर्न राप्रपाले अपिल गरेको छ।
कोरोना भाईरसको महामारी नियन्त्रण गर्न तथा विपन्न वर्गलाई सहयोग गर्नपनि राप्रपाले कार्यकर्तालाई निर्देशन दिएको छ। 'सबै तहका सरकारले चालेका कार्यहरुमा सहयोग पुर्याउन पार्टीका सबै निकाय र कार्यकर्ताहरुमा हामी आह्वान गर्दछौं', राप्रपाको विज्ञप्तिमा भनिएको छ।