PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

चिकित्सकको हुर्मत लिन बन्द होस् [सम्पादकीय]



पहिलोपोस्ट

चिकित्सकको हुर्मत लिन बन्द होस् [सम्पादकीय]

कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा सबैभन्दा अघिल्लो मोर्चामा रहेर खटिइरहेका चिकित्सक अहिलेको सन्दर्भमा सबैभन्दा सम्मानित लडाकु हुन्। पर्याप्त असुविधाका बाबजुद पनि उनीहरुले हात उठाएका छैनन्- संघर्षमा भिडिरहेका छन्। तर, यस्तो विषम परिस्थितिमा उनीहरुको व्यवहारलाई लिएर कसैले घोचपेच गर्छ भने, त्यो असहिष्णु चरित्रको पनि हद हुन जान्छ। कठिन परिस्थितिमा जनताको ज्यान बचाउन र संक्रमण फैलिन रोक्नका लागि सचेतना अभियानमा जुटेका सबै चिकित्सक र स्वास्थ्यकर्मी धन्यवादका पहिलो पङ्तिका पात्रहरु हुन्।

वर्तमान होस् या यसअघिका सरकार, स्वास्थ्य क्षेत्रलाई कति प्राथमिकता राखेको रहेछ उदाङ्गिएको छ अहिले। यसअघि पनि स्वास्थ्य क्षेत्रका विषयमा प्रश्न उठ्दा सत्ताको स्वर एउटै हुने गर्थ्यो। त्यो स्वर निर्मम सुनिन्थ्यो। सरकारले जतिसुकै निर्मम व्यवहार गरे पनि चिकित्सकहरु आफ्नो विचार प्रवाह गर्न रोकिएनन्। उनीहरु जति प्रस्ट रहे, सत्ता उनीहरुसँग उत्तिकै चिढिन् थाल्यो। स्वास्थ्य सेवामा उठाइएका मुद्दाहरुलाई सरकारविरुद्धको अभियानका रुपमा बुझ्ने सत्ताको मगजले उनीहरुलाई तुच्छ शब्दले गाली गरिरह्यो।

प्राध्यापक डाक्टर गोविन्द केसीले उठाएका स्वास्थ्य क्षेत्रका मुद्दामा सत्ता सधैँ तर्सिरह्यो। सत्ता र प्रतिपक्षी दलका नेता जोडिएर खडा भएका विरामी खरिद बिक्री केन्द्र झै लाग्ने अस्पताल र मेडिकल कलेजका संचालकहरु सत्ताको सधैं प्यारा भए। तिनका खराब आचरणहरुलाई सधैं सत्ताले साथ दिइरह्यो। डाक्टर गोविन्द केसी सधैं सत्ताको आँखी भइरहे। आफ्ना राजनीतिक अभिष्ट पूरा गर्ने बेलामा गोविन्द केसीलाई 'महान' बनाउनेहरु जब सत्ताको भर्‍याङ चढ्छन्, उनी आँखाको कसिङ्गर बन्न थाल्छन्।

कोरोना संक्रमणले गाँजिरहँदा त्यसैगरी सत्ताको आँखी भएका थिए वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित। उनले नाका खुला र विमान सेवा संचालन गरिहँदा चिच्याएका थिए - परीक्षण नगर्ने, नाका खुला राखिरहने, कोरोनाको महामारी त फैलिइसक्यो। उनले सचेत गराउँदा सत्ता र तिनको आरती उतार्न व्यस्त भएकाहरु डाक्टर दीक्षितविरुद्ध लागेसक्दो बल लगाएर उत्रिन थाले। उनले जबर्जस्ती सचेत गराइरहँदा सरकारका जिम्मेवार मन्त्रीहरुले कस्तो अभिव्यक्ति दिइरहेका थिए, जनतालाई थाहा छ।

यस श्रृङ्खलामा पछिल्लो पटक जोडिएका छन् डाक्टर शेरबहादुर पुन। उनी मिडियासँग नजिक रहे र कोभिड-१९ विरुद्ध जनचेतना फैलाउन सक्रिय रहिरहे। सरल भाषामा जनताले बुझ्नेगरी उनले यसबारे जानकारी दिइरहे। उनका 'हाकिम'हरुलाई उनको मिडियामा बढ्दो उपस्थिति प्रीतिकर थिएन। डाक्टर पुन पेशासँग जति सक्रिय रहे, राजनीतिक विषयबाट उत्तिकै टाढा। डाक्टर गोविन्द केसीले त कतिपय अवस्थामा राजनीतिकै मुद्दा पनि उठाए। डाक्टर दीक्षितले त राजनीतिक मञ्चमा गएर भाषण पनि गरेका छन्। तर, डाक्टर पुन जनस्वास्थ्यका विषयबाट बाहिरिएको देखिएको छैन। यति चाहिँ पक्का हो उनी मिडियासँग फ्रेन्डली रहे।

यतिखेर बालुवाटारले मिडियासँग दुरी कायम गर्न निर्देशन दिएको छ। भक्तिमण्डली बाहेकका अभिव्यक्ति बालुवाटारका लागि कर्कस ध्वनी भएका छन्। ती ध्वनी निस्तेज भए देशमा रामराज्य स्थापित हुने आंकलन छ उसको। किनकि सरकारले सबै 'चिज' राम्रो गरेको ठम्याइ छ उसको। मिडियाले औषधी खरिदमा अपचलन, अस्पतालका दुरावस्था, चप्पल पड्काउँदै हिँड्ने लवालस्कर जनता देखाएर सरकारलाई छवि धमिल्याउने काम गरेको उसको बुझाइले मिडियासँग दुरी कायम गर्न मार्गदर्शन गरेको छ।

कोरोनाको यस्तो कहरमा चिकित्सकलाई प्रेरित र सम्मान गर्नु त टाढाको कुरा, उनीहरुको हुर्मत लिनु कति जायज होला? चेतना फैलाउन जुटेका डाक्टरलाई सम्मान गर्न सकिन्न भने उनीहरुमाथि लान्छनाका तिर चाहिँ नचलाउँ। पटक्कै नचलाउँ, किनकि चिकित्सकविना कोरोनाको युद्ध हामीले जित्न सक्दैनौं। बालुवाटारलाई एउटा चाहिँ सुझाव छ - प्रधानमन्त्रीले दिनुभएको 'बोसिइ, फ्याटीय' तत्वलाई तातोपानीले पखाल्ने लगायतका 'टिप्स' बारे सत्तारुढ दलसँगै जोडिएका चिकित्सकहरुलाई बोल्न लगाउनुस्, जनता अलमलमा पर्नु देशको स्वास्थ्यकै लागि राम्रो होइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell