PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लकडाउनबाट बन्द चिनियाँ जीवन क्युआर कोडबाट चलायमान : रुस, सिंगापुर र जापानमा पनि उस्तै अभ्यास



विधुर ढकाल

लकडाउनबाट बन्द चिनियाँ जीवन क्युआर कोडबाट चलायमान : रुस, सिंगापुर र जापानमा पनि उस्तै अभ्यास

काठमाडौं : कोभिड-१९ को आउटब्रेक इपिसेन्टर वुहान यतिबेला सामान्य जीवनमा फर्किँदै छ। सहज हुँदै गएको चीनमा सर्तकताका उपायहरु भने अनेक अपनाइन थालिएको छ।

विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा स्मार्ट फोन प्रयोगकर्ताको संख्या पनि धेरै छ। कोभिड-१९ विरुद्धको पहिलो अभियान लकडाउन र क्वारेन्टाइसँगै सामाजिक दुरीलाई प्राथमिकतामा राखेको चीनले अहिले संक्रमण नियन्त्रणका लागि प्रविधिको व्यापक प्रयोग गरिरहेको छ।

कल्पना गर्नुस्, तपाईँको दैनिक जीवन स्मार्ट फोनका एपहरुमा निर्भर भइरहेका छन्। आफ्नै घरमा प्रवेश गर्दा होस् या काममा जाँदा, सार्वजनिक यातायातको प्रयोग गर्दा, कार्यालय छिर्दा होस् वा रेस्टुरेन्ट वा सपिङ मल प्रवेश गर्दा, स्मार्ट फोनको प्रयोग अनिवार्य छ। चीनले हालै सुरु गरेको प्रविधि अनुसार तपाईँले स्मार्ट फोनमा क्युआर कोड मार्फत् आफ्नो निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्छ। क्युआर कोड हरियो भए, तपाईँ स्वस्थ हुनुहुन्छ र प्रवेश गर्न पाउहुन्छ। रातो भए प्रवेश निषेध।

चीनमा सयौं करोड मानिसहरुको दैनिकी मोबाइलमा भएको क्युआर कोडमा निर्भर भइरहेको छ।

मोबाइल प्रविधि र विग डाटाको प्रयोग गर्दै चीनले रङमा आधारित 'हेल्थ कोड' प्रणालीको विकास गर्दै कार्यान्वयनमा ल्याएको छ।

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि यस्तो कोडको प्रयोग भइरहेको हो। यसरी स्क्यान गर्दा संक्रमित व्यक्ति भए उसलाई सार्वजनिक स्थानमा जानबाट रोकिन्छ।

स्वचालित रुपमा सिर्जना हुने यस्तो कोडले नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउँछ। अझै केही शहरमा यसको प्रयोग भइनसके पनि अधिकांश शहरमा यो एपविना मानिसहरु घरबाट बाहिर निस्किन पाउँदैनन्। कोरोना भाइरस नियन्त्रणका लागि झण्डै तीन महिना लकडाउनमा रहेको चीन यतिबेला बारकोडमा चल्न थालेको छ।

चीनमा जस्तै प्रविधि अन्य देशले पनि प्रयोग गर्न थालेका छन्। सिङ्गापुरले गत महिनामात्र कोभिड-१९ को संक्रमणमा रहेका व्यक्तिको संसर्गमा रहेका व्यक्तिहरुको ट्रेसिङका लागि स्मार्टफोन एपको प्रयोग थालेको थियो।

यस एपले संक्रमित व्यक्तिको सम्पर्क र संसर्गमा रहेका मानिसहरुको ट्रेसिङ गर्छ।

त्यस्तै जापान सरकारले पनि यस्तै एपको प्रयोग थालेको छ।

जापान सरकारले प्रयोगमा ल्याएको यो एपले कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिसँग सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्दछ।

कसैले स्मार्टफोनमा ट्रेस टुगेदर नामको एप इन्स्टल गरेको छ भने, कोकोसँग सम्पर्कमा पुगेको थियो भने यो निकटतालाई एकअर्काको फोन नम्बर इन्क्रिप्ट गर्दै रेकर्ड राख्छ। यदि कुनै एक प्रयोगकर्ता संक्रमित भए अधिकारीहरुले उसको नम्बरको माध्यमबाट उसँग नजिक भएका व्यक्तिसँग सम्पर्क गर्न सक्छ।

रुसको राजधानी मस्कोमा पनि लकडाउनलाई कार्यान्वयनका लागि क्युआर कोड प्रणालीको विकास भएको छ। मस्कोले प्रयोगमा ल्याएको यस्तो एपले घरबाहिर निस्किएका व्यक्ति तथा कोरोना भाइरसका संक्रमितहरुको अवस्थालाई ट्र्याक गर्छ।

चीनले प्रयोगमा ल्याएको एपले कसरी काम गर्छ?

चीनले देशका दुई ठूला इन्टरनेट जायन्ट अलिबाबा र टेनसेन्टलाई यसको होस्ट गर्ने जिम्मेवारी दिएको छ।

चीनमा सूचना प्रविधि र पेमेन्ट गेटवेको रुपमा काम गरिरहेका अलिबाबाको पेमेन्ट एप अलिपे र टेनसेन्टको म्यासेजिङ तथा पेमेन्ट एप विच्याटलाई यसको प्रयोग दिइएको छ। चीनमा स्मार्ट फोन प्रयोगकर्ताहरुले यी दुवै एपको प्रयोग गर्दै आएका छन्। चीनमा विच्याट म्यासेजिङ र अलिपे पेमेन्ट गेटवेको रुपमा चर्चित एप हुन्। यी दुवै प्लेटफर्मलाई यसको होस्ट गर्ने अधिकार दिएसँगै उनीहरुको अवस्था ट्र्याकिङ गर्न सहज हुने भएकाले उनीहरुले यसको होस्ट गरिरहेका हुन्। अलिपेले यसको सुरुवात फेब्रुअरी ११ बाट गरेको थियो अलिबाबाको मुख्यालय हाङजोउ प्रान्तको जजियाङबाट यसको सुरुवात भएको थियो।

हेल्थ कोड प्राप्त गर्नका लागि नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण, परिचयपत्र नम्बर वा राहदानी नम्बर र फोन नम्बर भर्नुपर्छ। उनीहरुलाई त्यहाँ आफ्नो ट्राभल हिस्ट्री, संक्रमित व्यक्तिको सम्पर्कमा रहे नरहेको विषयमा जानकारी गराउनुपर्छ।

उनीहरुलाई कोरोना भाइरस सम्बन्धि लक्षणहरुको बारेमा पनि जानकारी गराउनुपर्छ। यति गरेपछि सरकारी अधिकारीहरुले यसलाई प्रमाणित गर्छ। यससँगै उनीहरुलाई हरियो, पहेलो र रातो क्युआर कोड दिइन्छ।

रातो कोड पाएका व्यक्ति सरकारी क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा १४ दिन बस्नुपर्छ। पहेलो क्युआर कोड प्राप्त गरेका व्यक्तिहरु सात दिन क्वारेन्टाइनमा बस्नुपर्छ। त्यस्तै, हरियो क्युआर कोड प्राप्त गर्नेलाई यात्रा अनुमति दिइन्छ।

यसरी कोड प्राप्त गरेका व्यक्तिहरु कहाँ कुन समयमा पुगेका थिए भन्ने रेकर्ड राखिन्छ। अलिपेले तयार गरेको यो प्रविधि सरकारले सञ्चालन गरिरहेको छ। अलिपेले आफ्नो प्लेटफर्म दिएको छ। टेनसेन्टले पनि गत फेब्रुअरीको सुरुवातमा आफ्नो मुख्यालय रहेको सन्जनबाट यसको सुरुवात गरेको थियो।

अलिपेल एप लञ्च गरेको पहिलो साता नै यसको प्रयोग देशभरका १०० शहरमा पुगेको थियो। फेब्रुअरी १५ मा चीनको स्टेट काउन्सिल मातहतको इ-गभर्मेन्ट हेर्ने कार्यालयले अलिपेलाई देशव्यापी यसको प्रयोग गर्न अनुमति दियो।

फेब्रुअरीको अन्त्यसम्म अलिपेले चीनका २ सय शहरसम्म यसलाई पुर्‍यायो। गत महिनामात्र टेनसेन्टको यो कोड देशभरका तीन सय शहरमा पुगेको बताइएको छ।

मार्च १ मा बेइजिङमा अलिपे र विच्याटबाट प्रयोग गर्न मिल्ने तीन रंगको क्युआरकोड लञ्च गरियो।

यही कोडको प्रयोगले वुहान र हुवेइमा लकडाउन हटाउन र यात्रा सुरु गर्न सहयोगी भएको छ। हुवेइले मार्च १० मा आफ्ना सबै नागरिकलाई यस्तो क्युआर कोड जारी गरेको थियो। हरियो कोड पाएका नागरिकहरुलाई वुहानभित्र यात्रा अनुमति दिइएको छ।

वुहानमा जारी भएको क्युआर कोडमा त्यहाँका नागरिकहरुको स्वास्थ्य अवस्था त्यहाँका अस्पताल तथा प्रान्तको महामारी नियन्त्रण केन्द्रको डाटाबेसबाट लिइएको थियो। कोभिड-१९ को संक्रमण, शंकास्पद भएकाहरुलाई रातो क्युआर कोड दिइएको थियो भने संक्रमितको सम्पर्कमा आएकालाई पहलो क्युआर कोड दिइएको थियो। त्यस्तै यदि दुवै रेकर्ड नभएकालाई हरियो कोड दिइएको थियो।

चिन्ता सूचना चुहिने

संक्रमण नियन्त्रणको हतियारको रुपमा प्रयोग भएको यस क्युआर कोडले व्यक्तिगत सूचना चुहिने चिन्ता पनि व्यक्त गरिएको छ।

तर, बेइजिङको इकोनोमिक एन्ड इन्फर्मेसन टेक्नोलोजी व्यूरोका उपप्रमुख पान फङले व्यक्तिको सूचना संकलन गरिने र यस्ता फोनमा व्यक्तिको नाम र उनीहरुको परिचयपत्रको अन्तिम दुई अंकमात्र देखिने भन्दै सूचना सुरक्षित रहने दाबी गरेका छन्।

उनले यस्ता सूचनाहरु स्थानीय सरकारको नियन्त्रणमा रहने र निजी व्यक्तिको हातमा नजाने दाबी गरेका छन्।

अर्कोतिर यसरी दर्ता गरिएका सूचनाहरु गलत भए यसले संक्रमणलाई थप फैलाउनसक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

सुरुवातमा यस्तै घटना हान्चोउ शहरमा देखिएको थियो। स्थानीयहरुले गलत रुपमा कोड आएको गुनासो गरेका थिए।

चीनको 'युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड ल' का विज्ञ चु वेइले सरकारको बचाउ गरेका छन्। उनले यो कोड चीनको इन्टरनेट सेक्युरिटी कानुन मातहत रहने भन्दै सरकार यस प्रक्रियामा सामेल भएकोले व्यक्तिहरु सूचना नचुहिने कुरामा ढुक्क रहेको दाबी गरे।

यता हङकङको बाप्टिस्ट विश्वविद्यालयका प्रध्यापक आसन लौले चिनियाँ अधिकारीहरुले व्यक्तिगत सूचना सम्वन्धि सिद्धान्तमा ध्यान दिनुपर्ने बताएका छन्। उनले संकलित सूचनाहरु पान्डेमिक सकिएपछि के हुने भन्दै प्रश्न गरेका छन्।

त्यही युनान प्रान्तको प्रहरीमा विग डाटा एक्पर्टको रुपमा काम गरिरहेका लिउ युवेनले यस्ता सूचना पान्डेमिक नियन्त्रणमा आएसँगै नस्ट गरिने दाबी गरेका छन्।

'कसैले पनि राज्यको महामारी नियन्त्रण तथा रोकथाम केन्द्रको अनुमितबेगर सूचना हेर्न पाउँदैन्,' उनले भनेका छन्।

महामारी पूर्ण रुपमा नियन्त्रणमा आइसकेका केही शहरमा क्युआरकोड खारेज गरिसकिएको छ। क्युआर कोड सुरुवात गरिएको हान्चोउका केही क्षेत्रमा मार्च २१ देखि यस्तो कोड देखाउन नपर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell