PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

बाँके र बर्दियामा कोरोना परीक्षणको दायरा बढाइँदै, हालसम्म सबै रिपोर्ट नेगेटिभ



रासस

बाँके र बर्दियामा कोरोना परीक्षणको दायरा बढाइँदै, हालसम्म सबै रिपोर्ट नेगेटिभ

राँझाः नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ। रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर) उपकरण  शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण सुरुवात भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए।

थापाका अनुसार, कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै सुरु गरिए पनि आजबाट नमूना सङ्कलन गरिएको छ। पीसीआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौँबाट ‘रिएजेन्ट केमिकल’ लिएर शुक्रबार नेपालगञ्ज आएको थियो।

रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौँबाट मगाइएको हो।  बाँके र बर्दियाका जनताको कोरोना सङ्क्रमण परिक्षणका लागि लक्षित गरी सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो। प्रयोगशाला सञ्चालन भएपछि अब स्वाब नमूना परीक्षणका लागि भैरहवा अथवा काठमाडौँ पठाउनु पर्ने बाध्यता हटेको छ। सो उपकरणबाट एकदिनमा १०० जनाको नमूना परीक्षण गर्न सकिने डा. थापाको भनाई छ।

बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना भाइरसका शंकास्पद बिरामीमध्ये शनिबार थप १४ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। यससँगै बाँकेमा शनिबारसम्म भएका सबै परिक्षणमा ४९६ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको हो।

जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५ जना बिरामीको वैशाख ३ गते संकलन गरिएको ‘थ्रोट स्वाब’ को नमूनामध्ये शनिबार बेलुकासम्म १४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, शनिबार थप ८ जनाको नमूना संकलन गरिएको छ। हालसम्म बाँकेमा पीसीआर बिधिबाट एक सय जनाको परीक्षण गर्दा ९१ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ। आरडीटी बिधिबाट ४ सय ५ जनाको जाँच गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ। बाँकेमा हालसम्म ५ सय ५ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये ४ सय ९६ को रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने ९ जनाको रिपोर्ट आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell