PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउनले रोकिएन माथिल्लो तामाकोशीको काम, सुरक्षाको उपायसहित ६५० मजदूर फिल्डमा



पहिलोपोस्ट

लकडाउनले रोकिएन माथिल्लो तामाकोशीको काम, सुरक्षाको उपायसहित ६५० मजदूर फिल्डमा

  • रमेश लम्साल-

काठमाडौः सरकारले कोरोनाको कहर रोक्नका लागि लकडाउन गरेको छ। नागरिक घरभित्र छन्। मुलुकमा आर्थिक गतिविधि ठप्प छ। यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन्। प्रगति पनि लोभलाग्दो देखिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ। लकडाउनमा पनि काम भइरहेको छ। आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम भइरहेको छ।

लकडाउनमा धेरैजसो पूर्वाधारको काम रोकिएका छन्। सोही कारण सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटसमेत खर्च हुनसकेको छैन। माथिल्लो तामाकोशी यस्तो आयोजना हो, जहाँ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर लकडाउनमा समेत काम भइरहेको छ। जुन अन्य आयोजनाका लागि समेत अनुकरण गर्नलायक छ।

काम भइरहँदा आयोजनाका पदाधिकारीलाई अन्य कुराले भन्दा पनि निर्माण सामग्रीको ढुवानी रोकिँदा भने समस्या आइलाग्छ कि भन्ने चिन्ताले सताएको छ। आगामी २०–२५ दिनलाई पुग्ने निर्माण सामग्री भए पनि लकडाउन लम्बिँदै जाँदा समस्या पर्ला कि भन्ने चिन्ता भने उत्तिकै छ।

जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनालाई सहजीकरण गरिरहेको छ। अत्यावश्यक पास तथा अन्य सुविधासमेत उपलब्ध गराएको छ। आयोजनाको महत्व र गाम्भीर्यतालाई बुझेर जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग गरे पनि नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका निर्माण उपकरण ल्याउन निर्माण व्यवसायीलाई सहजीकरण गरिदिनुपर्ने माग आयोजनाले गरेको छ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार लकडाउनको समयमा समेत झण्डै ६५० मजदुर आयोजनास्थलमा कार्यरत छन्। उनीहरुलाई व्यक्तिगतरूपमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ। उनका अनुसार आयोजनाको सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत गतिमा अगाडि बढिरहेको छ। कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी १७५ मिटरमात्रै बाँकी रहेको छ।

कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये शनिबारसम्म ३०८ मिटर खण्डमा पाइप जडान कार्य भइसकेको छ। अब मात्रै ६५ मिटर बाँकी छ। सो काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले काम गरिरहेको छ। यस्तै कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लकडाउनको समयमा आफूलाई अब्बल सावित गर्ने प्रयास गरिरहेको छ। प्राप्त विवरण अनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये शनिबारसम्म कूल २०० मिटरमा पाइप जडान भइसकेको छ। पाइप जडानको काम प्रभावकारीरूपमा अगाडि बढेको र एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएको छ। त्यसले पनि अब कामले झनै तीव्रता पाउने देखिएको छ।

आयोजनामा निर्माण सामग्रीको ढुवानीको समस्यामा देखिएको छ भने इन्धन नभएकाले केही जटिलता पैदा हुन्छ कि भन्ने सन्त्रास पैदा भएको छ। बाँधको सिभिलको काम पूरा भएको छ। हाइड्रोमेकानिकल गेट भने राख्न बाँकी छ। आयोजनालाई अत्यावश्यक रहेको अक्सिजन ग्यास, केही केमिकल भने तत्काल जरुरी देखिएको छ। आयोजनामा भारतीय सिमेन्टको प्रयोग भएकाले पनि आयात गर्न समस्या पैदा भएको छ। यस्तै रड बोकेका सवारीसमेत आउन पाएका छैनन्। हाइड्रोमेकानिकलका केही उपकरण नेपाल–भारत सीमा आइपुगेका छन्। ती आयोजनास्थल पुर्‍याउन समस्या देखिएको छ।

सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ। सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेको जनाए पनि आयोजनाले निर्माण सामग्री आयातमा सहजीकरण गरिदिन गरेको आग्रह हालसम्म पूरा भएको छैन।

आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आइसोलेसनमा बसेजस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्यरूपमा राख्ने व्यवस्था गरिएको छ।  कुनै स्वास्थ्य समस्या देखिनेबित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ। कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ। सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीको काम चालू हालतमा छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ। निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ। त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउने र अन्य कुनै पनि नागरिकलाई चढाउने वा यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ। सो कामसमेत अब सुरु गर्ने तयारी गरिएको छ।

निर्माण सामग्रीको आयातमा देखिएको समस्या समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने, सामग्री लिएर फर्कने व्यवस्था गरिएको छ। निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउनेजस्तो विकृति देखिएपछि सीमितलाई पास दिएर आयात गर्न दिने व्यवस्था गरिएको छ। निर्माण सामग्रीलगायत आयातमा केही जटिलता देखिएको गुनासो आएपछि त्यसलाई व्यवहारिकरूपमा हल गर्नेतर्फ मन्त्रालयले विशेष प्रबन्ध गरेको मन्त्री पुनको भनाई छ।

राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीलगायत आयोजना सञ्चालन भइरहेको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ। निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीको लागि गृह मन्त्रालयले आवश्यक समन्वय गरेको छ। मन्त्री पुनले गृह मन्त्रालयसँग पनि समन्वय गरेर सरकारी तथा निजी क्षेत्रका आयोजनालाई समेत काम गर्न मार्गप्रशस्त गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell