PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

घर जान गाडी पाउने खबरले त्रिभुवन पार्कमा मानिसको ओइरो

घर जान गाडी पाउने खबरले त्रिभुवन पार्कमा मानिसको ओइरो

कमलराज भट्ट/पहिलोपोस्ट


काठमाडौं : थानकोटस्थित त्रिभुवन पार्कमा अहिले भिडभाड छ। मानिसहरु घर जाने भन्दै पोकापुन्दरा बोकेर आइरहेका छन्। कतिपय पैदल हिँडेर जाँदै गर्दा नागढुंगाबाट फर्काइएका मजदुर छन् भने कति चाहिँ हिजो घर पठाएको सुनेर आइरहेका।

लकडाउनले काठमाडौंमा थन्किएका पनि घर जान पाइने सुनेर आएका भेटिए। केही त सवारी साधन चढेर पनि आएका रहेछन् यहाँसम्म।

गेटमा प्रहरी बसेको छ सईको कमाण्डमा। नाम र ठेगाना टिप्दै इन्ट्री गरेर भित्र पठाइरहेको छ। उनीहरुमा भित्र पस्दैगर्दा घर जानेमा आशावादी बनिरहेका थिए।

शनिवार राती ७ वटा बसमा साढे तीन सय जना मजदुरलाई घर पठाएको खबर फैलिएसँगै अहिले मानिसहरु अनेक जुक्ति लगाएर त्रिभुवनपार्क पुग्न थालेका छन्। आज दिउँसोसम्म २ सय ३० जनाभन्दा बढी त्यहाँ जम्मा भइसकेका थिए।

पार्कभित्र हेल्थ डेस्कमा ज्वरो जाँच्ने व्यवस्था छ। खाना र बस्नको पनि व्यवस्था छ। पार्कभित्र प्राय : कैलाली, दाङ, नेपालगन्ज जाने मजदुरहरु लालाबालासहित बसेका छन्।

'गाडीमा जान पाइन्छ भनेर नागढुंगाबाट पुलिसले फर्काएर यहाँ पठायो,' पार्कको गेटमा विवरण टिपाउँदै गरेकी कैलालीकी सुनिता डगौराले भनिन्, 'हामी १२ जनाको समूह हिँडेरै घर जान लागेका थियौं। आज साँझ जान पाइन्छ कि?'

सुनिताले हिँडेरै गएको भए १२ दिनमा पुग्ने आफूहरुको योजना रहेको सुनाइन्। उनीहरु ६ महिनादेखि काठमाडौंमा ज्यामीको काम गर्दै आएका थिए।

उनको समूह काठमाडौंमा डेरामा बसेर घर बनाउने काममा ज्याला मजदुरी गर्दै आएको थियो।

'लकडाउनले काम पनि छैन। खाना छैन। घरबेटीलाई तिर्न पैसा छैन। अनि सल्लाह गरेर आज बिहानै ३ बजे हिँड्यौं,' टोखामा कोठा भाडामा लिएर बस्दै आएका उनले भनिन्।

उनीजस्तै पार्कमा आइरहेका अधिकांश काठमाडौंमा दैनिक ज्यालादारी गर्ने श्रमिक थिए।

प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेको नेतृत्वमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, चन्द्रागिरी नगरपालिका र अन्य युवाहरुको सहयोग तथा संयोजनमा त्रिभुवन पार्कमा खानेबस्ने व्यस्था गरिएको छ। यातायातको चाहिँ टुंगो छैन।



ट्रेन्डिङ पोस्ट

Ncell