
महेन्द्रनगर: कोरोना भाइरसको संक्रमण फैलिनसक्ने जोखिमले देश लकडाउनमा छ। मानिसको सबै जनजीवन ठप्प छ। यसबाट विवाह कार्यक्रम पनि प्रभावित भएको छ। वैशाख महिना विवाहको साइतका हिसाबले उत्तम महिना हो। तर, लकडाउनका कारण धेरै परिवार र जोडीले विहे गर्न पाएका छैनन्। उनीहरुले तय भइसकेको साइतको मिति सारिसकेका छन्।
तर, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने लकडाउनको अवधिमा पनि विवाह गर्न सशर्त छुट दिएको छ।
आइतबार विज्ञप्ति जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जिल्लाभित्र अधिकतम ५ जनाको उपस्थितिमा विवाह गर्न पाइने जानकारी दिएका छन्।
यसका लागि सवारी, पास आवश्यक नपर्ने उपाध्यायले बताए। तर, सम्बन्धित स्थानीय तहको सिफारिस बोक्नुपर्ने, शुभ विवाहको ब्यानर राख्नुपर्ने, प्रहरीसँग समन्वय गर्नुपर्ने, बेहुला/बेहुली पण्डित र पूजा सामग्री मात्र राख्ने तथा अधिकतम ५ जनामात्र उपस्थित हुनुपर्ने शर्त राखिएको छ। पाँच जनामा दुलाहा, दुलही, पण्डित, दुलाहाका पिता र दुलहीका पिता अथवा दुबैतिरका एक एक जना अभिभावक पर्न सक्नेछन्।
साथै प्रशासनले सामाजिक/भौतिक दुरी कायम राख्न र अन्य कोभिड १९ जोखिम न्युनिकरणका उपायहरु अवलम्बन गरेर विवाह सम्पन्न गर्न आह्वान गरेको छ।