PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोरोना संक्रमित भएपछि ठीक हुन लाग्ने समय कति?



फूलमाया पुरी

कोरोना संक्रमित भएपछि ठीक हुन लाग्ने समय कति?
फोटो : China Daily/Reuters

काठमाडौं : कोरोना भाइरसको कहरले विश्वका अधिकांश देशहरु ठप्प छन्। चीनको वुहान हुँदै युरोपलाई प्रभावित गरेर कोभिड १९ ले अहिले अमेरिका सबैभन्दा बढी क्षति गरिरहेको छ।

विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या एक लाख ६१ हजारभन्दा बढी पुगेको छ।  २३ लाख ४३ हजारभन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ।

भाइरसबाट संक्रमित हुने र मृत्युका तथ्यांकहरु सञ्चारमाध्यममा दैनिक अपडेट हुन्छ। तर, निको भएर घर फर्किएकाहरुको भने कमै अपडेट। भाइरसलाई जित्दै निको भएर दैनिक घर फर्कनेहरुको हालसम्म ६ लाखभन्दा बढी छन्।

नेपालमा पनि भाइरसको प्रभाव बढ्दो छ। माघमा पहिलो संक्रमण देखिएको नेपालमा पछिल्लो एक महिनामा नयाँ ३० केसहरु थपिएका छन्। ३१ जनामा संक्रमण देखिँदा चार जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

संक्रमित व्यक्तिलाई पूर्ण रुपमा ठीक हुन कति समय लाग्छ त ? अहिले धेरैको चासोको विषय बनेको छ यो।

कोरोनाबाट संक्रमण मुक्त हुन यति नै समय लाग्छ भन्ने समय अहिलेसम्म तोकिन सकिएको छैन। केही छिटै र केहीलाई लामो समय लागेको देखिन्छ यो भाइरसलाई जित्न। त्यसैले  ठीक हुन लाग्ने समय संक्रमित व्यक्ति भाइरसले कुन तहसम्म प्रभाव पारेको थियो भन्नेमा धेरै भर पर्ने बीबीसीले उल्लेख गरेको छ।

व्यक्तिको उमेर, लिंग र उसको स्वास्थ्य समस्याले कोभिड १९ को संक्रमणको प्रभाव पारेको देखिन्छ। संक्रमितको शरीरमा रोग प्रतिरोधात्मक क्षमता जति कमजोर भयो कोरोनाबाट मुक्त हुन त्यति नै बढी समय लाग्ने चिकित्सकहरु बताउँछन्।

सामान्य लक्षण देखिएमा के हुन्छ, उपचार कस्तो?

कोभिड १९ बाट संक्रमित भएका अधिकांश व्यक्तिमा खोकी र ज्वरोजस्ता मुख्य लक्षण देखिन्छन्। साथै उनीहरुमा शारीरिक दुखाइ, थकान, घाँटीमा समस्या, श्वासप्रश्वास समस्या र टाउको दुखाइ पनि हुन सक्छ।
सुरुमा सुक्खा खोकी लाग्न सक्छ र केहीलाई खोकीसँगै खकार पनि देखिन सक्छ।
यी लक्षणका देखिएमा संक्रमितलाई आराम गर्न सल्लाह दिइन्छ भने दुखाइ कमका लागि पारासिटामोल र पर्याप्त मात्रामा पानी पिउन सुझाइन्छ।

सामान्य लक्षण देखिएका मानिसहरु छिट्टै ठीक हुने आशा गरिन्छ। त्यसो त एकसाताभित्र ज्वरो निको हुन सक्छ भने खोकीका कारण बढी समय लाग्न सक्ने पनि बताइएको छ।
 
चीनबाट प्राप्त तथ्यांकमाथि विश्व स्वास्थ्य संगठनको विश्लेषणका अनुसार कोरोना भाइरस संक्रमणपछि कुनै पनि व्यक्ति ठीक हुनका लागि सामान्तया दुई साता लाग्छ।

गम्भीर लक्षण देखिए के हुन्छ, उपचार कस्तो?

यस भाइरसले संक्रमितको अवस्थालाई गम्भीर बनाउन सक्छ। संक्रमण भएको सातादेखि दश दिनभित्र यसबारे अनुमान गर्न सकिन्छ।

व्यक्तिको स्वास्थ्य स्थिति अत्याधिक बिग्रँदै जाँदा फोक्सोमा पोल्ने र श्वासप्रश्वासमा कठिन हुन्छ। त्यसो हुनुको पछाडि शरीरको प्रतिरोधात्मक क्षमताले संक्रमणविरुद्ध लड्न कोसिस गरिरहेको हुन्छ।

त्यसो त व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता (इम्यूनीटी सिस्टम) कोरोना भाइरसको विरुद्ध लडिरहँदा शरीरमा केही असर हुन सक्छ। त्यसैगरी केहीलाई अक्सिजन थेरापी आवश्यक पर्ने हुँदा अस्पतालमा भर्ना गर्न जरुरी हुन्छ।

बेलायतकी चिकित्सक डा.सारा जार्भिस भन्छिन् ‘स्वासप्रश्वासमा सुधार गर्न केही समय लाग्ने भए पनि शरीर पोल्न र अस्वस्थतामा कमी हुन थाल्छ।’

उनका अनुसार यो चरणबाट संक्रमित हुने व्यक्तिलाई ठीक हुनमा दुईदेखि आठ सातासम्म लाग्न सक्छ।

गम्भीर लक्षण र आइसीयू

विश्व स्वास्थ्य संगठनका अनुसार २० जना कोरोना भाइरस संक्रमितमध्ये एक जनालाई आइसीयूमा राख्न आवश्यक हुन्छ। जसमा भेन्टिलेटरमा राख्न पनि सकिनेछ।

यदि कोही व्यक्ति आइसीयूमा भर्ना गरिएको छ भने संक्रमित जो कोही भए पनि उसलाई संक्रमणबाट मुक्त गर्न निकै समय लाग्न सक्ने निश्चित हुन्छ।

आइसीयूपछि उसको पुन: जनरल वार्डमा सिफ्ट गरी उपचार गरिन्छ र त्यसपछि घर जान अनुमति दिइन्छ।

गम्भीर संक्रमण देखिएका व्यक्तिलाईआइसीयूमा उपचारपाछि सामान्य अवस्थामा फर्किन १२ देखि १८ महिनासम्म लाग्न सक्ने इन्टेन्सिव केयर चिकित्सा संकायका डीन डा. एलिसन पिटार्डले बताएका छन्।

अस्पतालको बेडमा लामो समयसम्म रहँदा मांसपेशीमा समस्या देखिन सक्छ। अन्य रोग देखिन सक्छ भने यस्तो अवस्थामा मांसपेशी दह्रो बन्न समय लाग्न सक्छ। त्यसैले व्यक्ति सामान्य तरिकाबाट हिँडडुल गर्नका लागि फिजियोथेरापी गर्न आवश्यक हुन्छ।

त्यस्तै आइसीयूमा रहँदा शरीरका अनेक उपचारका माध्यमबाट उपचार गरिएको हुन्छ। त्यस्तो समयमा व्यक्तिमा बारम्बार मानसिक समस्या पनि देखिन सक्छ।

क्रिटिकल केयर फिजियोथेरापिस्ट कार्ड टूइज भन्छन्, ‘यस रोगमा - भाइरल थकान पक्कै पनि मुख्य र ठूलो कारक हो।’

चीन र इटालीबाट आएको केही रिपोर्टका अनुसार व्यक्तिमा थकान स्वास्प्रश्वासमा लगातार समस्या देखिएमा वा खोकी र श्वासप्रश्वासमा उतारचढाव देखिएमा, निद्रा बढी लाग्ने गरेमा संक्रमित ठिक हुन निकै समय लाग्ने गरेको पाइएको छ। आइसीयूमा थोरै समय रहेका व्यक्तिलाई भेन्टीलेटरमा बढी समय पनि राख्नुपर्ने हुन सक्छ।

कतिपय संक्रमितलाई ठीक हुन महिनौ पनि लाग्न सक्छ।  तर यो सबै संक्रमितमा लागु भने हुँदैन।

कोभिड - १९ देखिएकापछि पुन परीक्षण हुन्छ कि हुँदैन?

कोभिड १९ लागेर अस्पताल भर्ना भएका बिरामीलाई पटकपटक परीक्षण हुने चिकित्सकहरु बताउँछन्। कोभिड १९ संक्रमण भएपछि भर्ना भएका बिरामीलाई सामान्यतय १४ दिन पुगेपछि पुन पीसीआर परीक्षण गरिन्छ।

परीक्षणमा नतिजा पोजेटिभ आएमा उनलाई अस्पतालमै राखिन्छ र सात दिनपछि पुन परीक्षण गरिन्छ। यसरी कम्तीमा पनि तीन पटक कोभिड १९ को बिरामीको पीसीआर परीक्षण चल्ने चिकित्सकहरु बताउँछन्। जब परीक्षणको परिणाम नेगेटिभ हुन्छ। अनिमात्र अस्पतालबाट डिस्चार्ज हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell