सुर्खेत : कालिकोटका कलबहादुर खड्का हिउँदको समयमा घरमा काम नहुने भएपछि दुई चार पैसा कमाउनका लागि गत मंसिर पहिलो साता गाउँबाट कामदार लिएर घरबाट निस्किएका थिए। संखुवासभामा निर्माण हुन लागेको जलविद्युत आयोजनाको काम गर्न कलबहादुरसँगै २६ जनाको टोली त्यहाँ पुगेको थियो। संखुवासभाको कामपछि उनीहरु घरै नर्फकी नवलपुरमा मजदुरीका लागि रोकिए।
‘हिउँदको समयमा घरतिर केही काम नहुने हुँदा दुई चार पैसा कमाउन जाउँ भनेर संखुवासभा पछि हामी नवलपुर काम गर्दै थियो’, खड्काले भने, ‘एक्कासी बन्द भयो। गाउँमा खाना बनाएर खाने, बस्ने वातावरण बनेन् अनि हिँडेरै भएपनि घर जान्छौँ भनेर आयौँ।’
मजदुर आफैँ खाना बनाएर खाने र गाउँमा बस्ने हुदाँ त्यहाँका स्थानीयले छिछिदुरदुर गर्न थालेपछि आफूहरु बाध्यताले हिँड्नु परेको उनी सुनाउँछन्।
‘लकडाउन भयो, त्यहाँ हामीले खाना बनाएर खाने त परको कुरा बस्नलाई समेत कसैले दिएनन्। गाउँबाट निस्किहाल् भनेर यता गयो गाली, उता गयो गाली। सहनै, बस्नै नसकिने भयो अनि हिँड्यो,’ उनले भने।
सुर्खेत पुगेका उनीहरु धेरथोर गाडी र धेरैजस्तो पैदल नै हिँडेर आएको सुनाए।
‘गाडी सबै बन्द। फाट्टफुट्ट ट्रकहरु पाइन्थ्यो, त्यसमा पनि चर्काे भाडा तिर्नुपर्ने त्यो पनि दुई चार किलोमिटर मात्रै,’ उनले भने।
उनीहरुसंगै ५६ जना हिँडेरै सुर्खेत पुगेका थिए। केहीलाई भने आफ्नै स्थानीय तहले गाडीको व्यवस्था गरेर गन्तव्यस्थलसम्म पुर्याइसके भने केही बीच बाटोमै छन्।
कोरोना भाइरस रोगथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले दैनिक मजदुरी गर्नेहरु अलपत्र छन्। देशका विभिन्न जिल्लामा मजदुरी गर्न गएकाहरु अहिले आफ्नो घरसम्म पुग्न भोक र निन्द्रा नभनेरै दिनरात हिँड्नेहरुको लर्काे छ।
यस्तै, मजदुरीका लागि काठमाडौं गएका मुगु छायानाथ रारा नगरपालिकाका जेबी कुमाँइ खर्च सकिएपछि चाउचाउ चिउराको भरमा हप्ता दिन लगाएर सुर्खेत आईपुगे।
‘काठमाडौंबाट हिँडेको आज आठ दिन भयो। बाटोमा चाउचाउ र चिउरा नपाउने अवस्था छ। खानाको के कुरा गर्नु?’ जेबी भन्छन्, ‘हामीलाई कोही कसैले गाडीको व्यवस्था गरेर गाउँसम्म पुर्याए हामी जति दिन भनेपनि क्वारेन्टाइनमा बस्थ्यौँ।’
त्यस्तै, पहाडी जिल्लाबाट तराई फर्किनेको लर्को पनि कम छैन। बर्दियाबाट मजदुरी गर्न जुम्ला पुगेकाहरु पाँच दिन पदैल हिडेर सुर्खेत पुगेका छन्। मजदुरी गरेर कमाएको रकम सकिएपछि हिँडेर आएका १६ जना सुर्खेतमा अलपत्र परेका छन्।
‘आज जुम्लाबाट हिँडेको पाँच दिन भयो’, बर्दिया राजापुरका युवराज चौधरीले भने, ‘चाउचाउ र चिउराको भरमा यहाँसम्म (सुर्खेत) आइपुगेका छौँ।’
बर्दियाबाट मजदुरी गर्नकै लागि जुम्ला पुगेका थिए। बीच बाटोमा कतै पनि खान र बस्नेको व्यवस्था नभएको उनले बताए।
‘बीच बाटोमा कसैले पनि खाने र बस्नेको व्यवस्था गरेनन् तर कालिकोटबाट एक स्थानीय तहले गाडी चढाएर आफ्नो क्षेत्र कटाइदिए। अनि हिँडेरै आयौँ,’ उनले भने।
आधाभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको कर्णाली प्रदेशबाट काठमाडौंलगायत विभिन्न जिल्लाहरुमा मजदुरी गर्न गएकाहरु फर्किने क्रम बढ्दो छ। उनीहरुलाई उचित व्यवस्थापन गर्न नसकेपछि लुकीछिपी आफ्नो गन्तव्यमा पुग्दा कोरोना भाइरस फैलिएर भयावह अवस्था नहोला भन्न सकिन्न।
अहिले काठमाडौं र नवलपुरसहित बाहिरबाट कर्णालीमा भित्रिनेलाई सुर्खेतको क्वारेन्टाइनमा राखिएको छ। आफ्नै जिल्ला जाने दाउमा हप्तौँ लगाएर चाउचाउ र चिउराको भरमा पैदल हिँडेर सुर्खेत पुगेका उनीहरु सुर्खेतको क्वारेन्टाइनमा राख्दा निराश देखिएका छन्। कतिपय सर्वसाधारण भने स्थानीय प्रशासनले पासको व्यवस्था गरेर गाडी पठाइने आशमा छन्।