PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अमेरिकामा कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खट्ने नेपाली नर्सहरुको पीर, 'घर जाँदा परिवारलाई भाइरस सर्छ कि?'



नेत्र तामाङ

अमेरिकामा कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खट्ने नेपाली नर्सहरुको पीर, 'घर जाँदा परिवारलाई भाइरस सर्छ कि?'

कोभिड-१९ का कारण अमेरिकामा मात्र ३८ हजार बढीको मृत्यु भइसकेको छ। अहिले अमेरिकामा सात लाख ३२ हजार १ सय ९७ जना संक्रमणमा परेका छन्। न्युयोर्क कोरोना संक्रमणको नयाँ इपिसेन्टर बनेको छ। यहाँमात्र १६ हजार बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या साढे दुई लाखको हाराहारीमा पुगेको छ।

अमेरिकामा रहेका नेपालीहरु पनि कोरोनाबाट संक्रमित बनेका छन्। कोभिड-१९ कै कारण अमेरिकामा ८ जना नेपालीको मृत्यु भइसकेको छ। कतिपय भने उपचारपछि घर फर्किसकेका छन्। यस्तो अवस्थामा अमेरिकामा कोरोना संक्रमितहरुको उपचारमा नेपाली स्वास्थ्यकर्मी पनि खटिरहेका छन्। फ्रान्टलाइनमा बसेर भाइरससँग लडिरहेकाहरुलाई सघाइरहेका नर्सहरुको अनुभव र अवस्था कस्तो छ त?

अवस्था डराउनैपर्ने छ

अनिता गुरुङ, रजिस्टार नर्स

रेगल हाइट रिह्यबिलेसन एन्ड हेल्थ केयर सेन्टर न्युयोर्क

न्युयोर्क कोरोना भाइरसको इपिसेन्टर बनेको छ। हामीले कोभिड-१९ को केसहरुको लक्षण अगाडि नै देखिसकेका थियौं। त्यसपछि हामीले हाम्रो अस्पतालको फ्लोरलाई क्वारेन्टाइन गर्‍यौ।

भिजिटर आउन दिएनौं। मास्क लगाउन थाल्यौं। अहिले एन ९५ मास्क दुई तीन दिनमा एकपटक फेर्छौं। प्रत्येक दिन मास्क फेर्नपर्ने हो तर मास्कको अभाव हुँदा सप्लाई कम छ। त्यसैले यस्तो हुन सकेको छैन।

पहिले त आफू सुरक्षित हुनुपर्‍यो। अनिमात्र अरुलाई जोगाउने हो। पीपीई लगाउँछौं। डर त हुन्छ नि। यो पेशा रोजेपछि त म लड्न आएको हो भन्ने सोच्छु नि। सबै बिरामी समान हो भन्ने सोच्छु।

यहाँ थुप्रै बिरामी छन्। उनीहरुलाई परिवारसँग कुरा गर्न आइफोनको ट्याब्लेटको व्यवस्था छ। फेमिलीसँग 'फेसटाइम'बाट कुरा गरिरहेका छन्। प्रत्येक बिरामीका लागि एक जना सोसल वर्करको व्यवस्था गरिएको छ।

अहिले हेल्थ वर्करहरुलाई सपोर्ट गर्नुपर्छ। पीपीई अहिलेको आवश्यकता हो। फन्ड जम्मा भए पीपीईमा जोड दिउँ। हेल्थी डाइट खाउँ। क्वारेन्टाइनमा बसेर सोसल डिस्ट्यान्स मेनटेन गरौं। हात धोऔं। भिटामिन सि हुने खानेकुरा खाउँ। जिन्क फाल्फेटले इम्युन सिस्टम बुस्ट अप गराउँछ। जिन्क फल्फेट नट्स, अल्मोन्ड, रेड मिटमा पाइन्छ।

डराउनै पर्ने अवस्था त हो। डराए पो सेकुअर हुन सकिन्छ। अब रोग चाहि लुकाउनु हुँदैन। लुकाए आफैलाई घाटा हो। नेपाली खानपिनमा लवाङ, सुकमेल, लसुनजस्ता चीजहरुमा इम्युन सिस्टम बढाउने कुरा छ। मलाई लाग्छ यी चीजले आत्मबल बढाउँछ।

अस्पतालले एकदम केयर गरिरहेको छ

बीना खड्का लामा, राजिस्टार नर्स

रेस्टन हस्पिटल भर्जिनिया

हाम्रो अस्पतालमा पनि दिनदिनै कोभिड-१९ का संक्रमित बढिरहेका छन्। अस्पतालले छुट्टै नै कोभिड फ्लोर भनेर बनाएको छ। हामीले ड्युटीअनुसार बाँडेर हेर्नुपर्छ बिरामी।

पहिले परीक्षणको रिपोर्ट आउन ५/६ दिन लाग्थ्यो। अब ९० मिनेटमा रिपोर्ट आउँछ। अनि पोजेटिभ देखिएकालाई चाँहि कोभिड फ्लोरमा लग्छौं।

गाडीबाट ओर्लने बित्तिकै अस्पतालको गेटमै सर्जिकल मास्क लिएर बसेको हुन्छ खाममा। यो अस्पतालले नै व्यवस्था गरेको हो। ब्यागमा नामै लेखेर राखेको हुन्छ। गाउन पनि १२ घन्टालाई चलाउनुपर्छ।

४० भन्दा माथिको धेरै छन् बिरामी। उनीहरुमा नयाँ किसिमका लक्षण देखिएको छ। अन्डरलाइन कज भएर आउने। धेरैलाई स्क्रिन गरिरहेको छ। अर्को रोग लागेर आउछ तर कोभिड पनि देखिन्छ। दुईटा रोग लागेपछि बिरामी सिरियस भएको देख्छु।

परिवारको पूरा साथ छ। साथीहरुसँग सामाजिक सञ्जालबाट कुराकानी भइरहन्छ। तर अस्पतालमा काम गरेर घर फर्किँदा घरमा नै रोग लगिरहेको छु भनेर डर पनि लाग्छ। नहुने कुरा हो यो, तरपनि डर लाग्ने रहेछ। नुहाउने व्यवस्था हुन्छ अस्पतालमा। घरमा आएपछि पनि सावरमा जान्छु। मानसिक रुपमा म तयार छु।

यहाँ कार्यरत कर्मचारीहरुलाई मेनेजरले काउन्सिलिङ गर्छ। किप इन टचमा बस्छन् सबैजना। सपोर्टिभ छ ग्रुप। काम गर्न प्रेरणा दिइरहन्छ। के सहयोग चाहिन्छ सोधिरहन्छन्। चाहिएको सेवा सुविधा दिन्छ।

नयाँ नयाँ कुरा आइरहेको छ कोभिडबारे। म आफै पनि ध्यान दिन्छु। स्वतन्त्रताको कुरा हो तर कोभिड लाग्यो भने सहयोग गर्न सकिन्छ नि। एक्लो भएपछि कोहीसँग कुराकानी हुँदैन। त्यसका कारण बिरामीको मृत्यु हुन्छ। यी कुराहरु हामीबीच सेयर गर्नुपर्छ।

पछि कसैलाई आफ्नो कुराले बल पुगोस् भनेर अहिले हामीले धेरै कुराहरु नभनिरहेका हुन सक्छौं। त्यही कुरा राख्दा गल्ती नहोस्।

लसुन, अदुवा, प्याज खाएर यो भाइरससँग बाच्न सकिन्छ जस्तो लाग्दैन। यसको प्रमाण कतै छैन। विल पावर चाहियो। बेसार पानी खानु भन्ने कुराहरु पनि छन्। स्पेसल खानेकुरा खानैपर्दैन। भिटामिन सि भएका खानेकुरा खानुपर्छ। माछामासु खाए यसैबाट भिटामिनहरु पाइहाल्छ नि।

 

हाम्रो हकका लागि युनियनले फाइट गर्छ, डर छैन

कल्पना लामा, लाइसेन्स्ड भोकेस्नल नर्स

लगुना होन्डा हस्पिटल सन फ्रान्सिस्को, क्यालिफोर्निया

हाम्रो अस्पतालमा प्रवेश गर्ने वित्तिकै सेनिटाइज हुने व्यवस्था छ। अस्पतालले त्यही सर्जिकल मास्क दिन्छ। त्यो ८ घन्टाका लागि प्रयोग गर्छौं। युनियनले पनि फाइट गरिरहेको छ नर्सको अधिकारको लागि। यही भएर राम्रो भइरहेको छ। स्टाफलाई पीपीई उपलब्ध हुन्छ। अस्पतालले राम्रोसँग हेरविचार गरिरहेको छ।

नर्सको सर्टिफिकेट लिएकै बेला जे परे पनि पछि हट्दिनँ भनेर कसम खाएको हुन्छ। त्यसैले मलाई डर लाग्दैन। होटलमा गएर बस्न छुट दिएको छ।

यो भाइरसको लक्षणहरु पनि फरक फरक हुने रहेछ। मान्छे अनुसार प्रभाव पार्ने रहेछ यो कोभिडले। इम्युन सिस्टम कम हुनेलाई जुनै रोगले आक्रमण गर्छ।

रुघा लागेपछि डाक्टरको सल्लाह बिना औषधिहरु नखाउँ। जे पायो त्यही औषधि खाँदा अर्को रोगलाई असर पर्न सक्छ। नराम्रो हुन सक्छ।

नेपालीको बानी चुपचाप बस्ने छ। लुकाउने छ। अहिले यो भाइरस विश्वभर फैलिरहेको छ। यसबारे लुकाउनु भनेको सामाजिक अपराध गर्नु हो।

डरले हामीलाई कमजोर बनाउँछ। जब अन्जाइटी आउँछ त्यतिकै सास फेर्न गाह्रो हुन्छ। हामी जब आत्तिन्छौं तब आफै सास फेर्न गाह्रो हुन्छ।

यो रोगले शरीरलाई ड्राइ बनाउँछ। त्यसैले पानी पिउनुपर्छ। सकेसम्म २०/२० मिनेटमा पानी पिउँ। बाहिर जथाभावी नछोऔँ। शंका लाग्नसाथ हात धोऔं। वृद्धवृद्धाहरुबाट अलि टाढा बसौं।

एचआइभी कहिल्यै निको हुँदैन। तैपनि मान्छे बाँचिरहेका हुन्छन्। यो त निको हुने रोग हो। हामी नेपाली अलि कम पानी पिउँछौ। अलि बढी पानी पिऔं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell