
काठमाडौँः प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले लकडाउनको अवधिमा काठमाडौँबाहिर जान पैदल यात्रामा रहेका नागरिकलाई सुरक्षित तवरबाट घरसम्म पुर्याउन सरकारलाई सुझाव दिएको छ। समिति सभापति शशी श्रेष्ठले सदस्यहरुसँगको परामर्शपछि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लिखित सुझाव पठाएकी छन्। सचिवालयमार्फत सुझाव पठाइएको हो।
समितिले बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय तहको समन्वयमा घरसम्म पुर्याउन तथा उक्त प्रबन्ध नहुँदासम्म सम्बन्धित स्थानमा नै खाने बस्ने व्यवस्था गर्न पनि समितिले सुझाव दिएको छ।
यस्तै, समितिले भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरी सुरक्षाका काममा लगाउन पनि सुझाव दिएको छ। समितिले भन्सारलाई व्यवस्थित गर्न अत्यावश्यक सामाग्रीमात्र सुरक्षित तवरबाट ल्याउन पनि सुझाव दिएको छ।
समितिले कोरोना जोखिम न्यूनीकरणको कार्यमा सरकार र विद्यमान कानुनी संरचना नै सक्रिय बनाउन भनेको छ। तर, सरकारका काम कारबाही अनुगमनका लागि संघीय सांसद्को संयोजकत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधि रहेको समिति गठन गर्न सुझाव दिएको छ। यस्तो समिति निर्वाचन क्षेत्र अनुसार गठन गर्न सुझाव दिइएको छ।
समितिले कोरोनाबाहेक अन्य रोगका विरामीको उपचार सुनिश्चितता गर्न तथा विपदमा सेवा नदिने अस्पताललाई कारबाही गर्न पनि सुझाव दिएको छ। स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोरोना नियन्त्रण तथा उपचारका लागि खर्च गर्न पनि समितिले सरकारलाई दिएको सुझावमा उल्लेख छ।