PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

लकडाउनको पढाइ, रेडियोबाट सिकाइः विद्यार्थी पढाउन बरेङको नयाँ प्रयोग, शिक्षाविद् भन्छन्, 'अन्तरक्रियात्मक बनाए स्कुल चाहिँदैन'



प्रकाश भण्डारी

लकडाउनको पढाइ, रेडियोबाट सिकाइः विद्यार्थी पढाउन बरेङको नयाँ प्रयोग, शिक्षाविद् भन्छन्, 'अन्तरक्रियात्मक बनाए स्कुल चाहिँदैन'
फाइल फोटो

काठमाडौँ: चैत ६ गतेलाई तोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भयो। परीक्षाकै अघिल्लो दिन अनिश्चितकालका लागि स्थगित भएपछि विद्यार्थी अलमलमा परे। चार लाख ८२ हजारभन्दा धरै विद्यार्थीले परीक्षा दिन पाएनन्। 

गाउँघरका परीक्षा केन्द्रमा टाढाबाट आएका विद्यार्थी घर फर्किन बाध्य भए। त्यसको पाँच दिनपछि चैत ११ गतेबाट लकडाउन  भएसँगै अत्यावश्यकबाहेकका क्रियाकलाप रोकिए। 

अभिभावक र विद्यार्थी पढाइलाई लिएर चिन्तित छन्। शहरी क्षेत्रमा इन्टरनेटका माध्यमबाट पढ्ने अभ्यास प्रारम्भ भए पनि दूर दराजका विद्यार्थी र अभिभावक पढाइ बिग्रने चिन्तामा छन्। लकडाउनकै बिच बाग्लुङको बरेङ गाउँपालिकाले रेडियोका माध्यमबाट पढाउन सोमबारदेखि (भोलि) सुरु गर्दैछ। 

दिउँसो ४ घण्टा पढाइ, रोजी-रोजी शिक्षक
गाउँपालिकाले सामुदायिक रेडियो बिहानी ८९ मेगाहर्जसँग मिलेर अतिरिक्त कक्षा सुरु गर्न लागेको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पढाइ हुनेछ। गणित, विज्ञान, सामाजिक र अङ्ग्रेजी विषयका शिक्षकले स्टुडियोबाट पढाउने छन्। 

पढाउनका लागि ८ जना शिक्षकलाई तयारी अवस्थामा राखिएको छ। रेडियोको स्टेसन नजिकै रहेको सर्वोदय माविका आठ जना शिक्षकलाई तयारी अवस्थामा राखिएको बताए। 

'आठ जनालाई तयारी हुन भनेका छौँ। विद्यार्थीले मन पराएनन् भने अरू शिक्षकलाई पनि पढाउन लगाउँछौँ', उनले भने। विद्यार्थीले जुन शिक्षकले पढाएको मन पराउँछन् त्यही शिक्षकलाई पढाउन लगाउने शर्माको भनाई छ। 

हप्तामा एक दिन प्रश्नोत्तर
रेडियोबाट पढ्ने विद्यार्थीले हप्तामा एक दिन टेलिफोनबाट शिक्षकलाई प्रश्न गर्न पाउनेछन्। विद्यार्थीले माग गरेमा प्रश्नोत्तरका लागि अरू दिन पनि छुट्ट्याइने छ। अहिले नै कुन दिन भन्ने यकिन भइसकेको छैन। 

विद्यार्थीलाई आवश्यक परेमा शिक्षकले पढाएको अडियो वितरण गरिने छ। रेडियोसँग कुरा गरेर अडियो पनि उपलब्ध गराइने शर्माले बताए। 
'विद्यार्थीलाई आवश्यक परेमा दोहोर्‍याएर सुन्न अडियो दिन्छौँ,' उनले भने। 

पाँच सय बढी विद्यार्थीलाई लाभ
शर्माका अनुसार बरेङ गाउँपालिकामा ८ मावि छन्। पाँच सयभन्दा बढी विद्यार्थी एसईईको तयारीमा छन्। 

'पाँच सयभन्दा बढीले एसईई तयारी गरिरहेका थिए तर कोरोनाले परीक्षा स्थगित भयो। हामीले उनीहरूकै लागि भनेर रेडियोबाट पढाउने योजना बनाएका हौँ,' उनले भने।

लकडाउन रहुन्जेल तथा प्रभावकारिता हेरेर रेडियोबाट गरिने पढाइ लम्ब्याइने छ। अध्यक्ष शर्माले लकडाउनको बेला धेरैजसो विद्यार्थी अन्य कुरामा अलमलिएकाले पढाइ सुरु गरेको बताए। 

'हामी लकडाउनको बेलामा पनि काममा खटिँदा धेरै ठाउँमा विद्यार्थी अन्य कुरामा अल्झिएको देखेर चिन्तित थियौँ', उनले भने।

शिक्षक र अभिभावकसँगको छलफलपछि रेडियोबाट पढाउने योजना बनेको शर्माको भनाई छ। शर्मा विद्यार्थीमा कोरोनाले पारेको मानसिक समस्यालाई समेत पढाइले हटाउने दाबी गर्छन्। शर्माले आफ्नो गाउँपालिकामा मात्रै नभएर जिल्लाका अधिकांश ठाउँमा रेडियो सुनिने भएकाले थुप्रै विद्यार्थीले लाभ लिने बताए। 'रेडियो त धेरै ठाउँमा सुनिन्छ। अरू ठाउँका विद्यार्थीलाई पनि काम लाग्छ', उनले भने।

विकटका गाउँघरमा रेडियोबाट पढाउनु सबैभन्दा उत्तम विकल्प भएको उनको तर्क छ।

लकडाउनपछि पनि पढाउँछौँ: शिक्षक
सर्वोदय माविका शिक्षक ओमबहादुर पुनले अङ्ग्रेजी पढाउँछन्। रेडियोबाट पढाउँदा कक्षा कोठाकै जस्तो नभए पनि अहिले लकडाउनका बेला सिकाइमा महत्त्वपूर्ण हुने पुनले बताए। 

'गाउँ कार्यपालिकाको निर्णय एकदमै ठिक छ। अहिले लकडाउनको बेला विद्यार्थी गाउँघरमा लकडाउनको पालनभन्दा पनि बरालिन थालेका छन्। यसैले पढाउन लागिएको हो', उनले भने।

रेडियोबाट लाइभ पढाइ सकिए पनि सोध्न चाहने विद्यार्थीका लागि शिक्षकले सम्पर्क नम्बर दिने भएकाले प्रभावकारी हुने दाबी गरे। टोल टोलमा भएका सम्पर्क मञ्चले विद्यार्थीलाई रेडियोबाट पढाइ हुने जानकारी गराएको उनको भनाइ छ। 

'अभिभावकको माग अनुसारै गरेका हौँ। त्यही भएकाले पनि प्रभावकारी हुन्छ। रेडियोले पनि कक्षा सञ्चालन हुने जिंगल बजाइरहेको छ। विद्यार्थीलाई पढाइ हुने जानकारी भएको छ', उनले भने।

रेडियोका स्टेसन म्यानेजर शेखर थापाले गाउँपालिकाले आफूहरूलाई राम्रो अवसर दिएको बताए। रेडियो उद्देश्य पनि शिक्षा दिने भएकाले पढाइका लागि समय उपलब्ध गराएको बताए। 

रेडियोबाट विद्यार्थीलाई पुनर्ताजकी गराउने उद्देश्यले पढाइ सुरु गरेको थापाको भनाइ छ। अरू ठाउँका सामुदायिक रेडियोलाई पनि यस्तै कार्यक्रम तयार पार्न उनको आग्रह छ। 

'गाउँघरमा अरू सञ्चार माध्यमको त्यति पहुँच छैन। रेडियोले यस्ता कार्यक्रममा सहकार्य गर्नुपर्छ', उनको तर्क छ। 

अन्तरक्रियात्मक बनाए विद्यालय चाहिँदैन
शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला विपद्मा रेडियोबाट कक्षा चलाउनु सकारात्मक भएको बताउँछन्। प्रभावकारी बनाउन सके विद्यार्थीलाई स्कुल जानै नपर्ने दाबी कोइरालाको छ। तर रेडियोको कक्षा अन्तरक्रियात्मक हुनु जरुरी भएको उनको भनाइ छ। त्यसका लागि शिक्षकसँग तत्काल टेलिफोनबाट र पछि विषय विज्ञसँग सोध्ने कार्यक्रम बनाउन सुझाउँछन् उनी।

कोइरालाका अनुसार यसअघि नुवाकोटमा पनि यसको प्रयोग भएको थियो। त्यति प्रभावकारी भएन। यसअघि रेडियो र टेलिभिजन कार्यक्रम झारा टार्ने भएको उनको तर्क छ।

'अध्ययनले भूकम्प र बाढी पहिरोका बेलामा रेडियोबाट विद्यार्थीले राम्रो शिक्षा पाएको देखिएको छ। म त यसमा एकदमै आशावादी छु', उनले भने। 

कोइराला एक गाउँपालिका एक रेडियो र हरेक ठुला स्कुल कलेजका लागि पनि रेडियो आवश्यक भएको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell