PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लकडाउनमा बाटो र पुलमा बार : ज्यानै गुम्दा चाहिँ को जिम्मेवार?



सविन ढकाल

लकडाउनमा बाटो र पुलमा बार : ज्यानै गुम्दा चाहिँ को जिम्मेवार?

काठमाडौं : लकडाउन थपिँदै गएपछि धादिङ ज्वालामुखी गाउँपालिकाका होमबहादुर रानामगर चितवनबाट हिँडेर नै भए पनि गाँउ फर्किन तयार भए। घर जानुको विकल्प नपाएपछि उनले रोजे पैदल यात्रा। चितवनबाट घन्टौं लगाएर प्रहरीका चेकिङ र नाका छल्दै धादिङ पुगे। लकडाउनका कारण अव्यवस्थित भएको जीवन सहज बन्ने आशामा उनका पाइलाहरु झन् छिटो लम्बिएको थियो।

तर, घर नै नजिक आएपछि उनको अघि एउटा विशाल पर्खाल आइलाग्यो, उनको गतिमा नराम्ररी ब्रेक लाग्यो। गोरखा र धादिङ जोड्ने बाङकोटघाटमा पुल पुरै बन्द गरिएको रहेछ। घण्टौंको हिँडाइभन्दा त्यो पर्खाल उनको लागि कयौं गुणा असहज थियो, अमानवीय पनि। पुलमा लगाएको पर्खालकै कारण त्यति टाढाबाट आइपुगेका उनी फर्किने मुडमा थिएनन्। पुलको पर्खाल नै नाघेर जाने प्रयास गरे। त्यहीक्रममा उनी लडेर र प्राण त्यागे। कोरोनाको कहरमा अरु नै कारणले ज्यान गुमाउनेहरुको सूचीमा चढ्यो उनको नाम।

सरकारले लकडाउन घोषणा गरेको आज २७ दिन भइसकेको छ। अत्यावश्यक कामबाहेक घरबाट निस्किन रोक लगाइएको छ। सडकमा हिँड्ने तर परको कुरा, सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेश गर्न समेत रोक लगाएको छ।

सरकारको निर्णयसँगै स्थानीय मानिसको पनि सक्रियता बढेको छ। सरकारले हिँड्नेहरुलाई जस्तो व्यवहार गरेको छ, त्यसले स्थानीयहरुमा पनि कडा छाप छाडेको छ। उनीहरुलाई लाग्न थालेको छ - हिँड्नेहरु कोरोनाका बम हुन्, मानव निर्मित। त्यसैले मानिसका गतिविधि ठप्प पार्ने होडबाजी चलेको छ, पुलबाट वारपार नै रोकेर।

अहिले प्रत्येक गौडा गौडामा प्रहरी तैनाथ गरिएको छ। स्थानीय जनप्रतिनिधि समेत भाटा बोकेर सडकमा खटिएका छन्। अहिले टोलटोलमा मानिसहरु बाटो बन्द गरेर नै लकडाउन सफल बनाउन लागि परेका छन्। तर, के सार्वजनिक बाटो यसरी बन्द गर्न पाइन्छ?

शनिवार काठमाडौं महानगपालिको ६ नम्बर वडाको फैकामा यसैगरी सडक बन्द गरेको देखियो। अत्यावश्यक कामले हिँडडुल गर्ने मानिस ती बाटोबाट कहीँ पुग्न सकेनन्। लगाइएको बार भत्केला भन्दै युवाहरु ढुकेर बसेका थिए, त्यहाँ।

गृह मन्त्रालयले लकडाउनको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन, समूहमा नबस्न, २५ जनाभन्दा बढी कुनै पनि कार्यक्रममा भेला नहुन अनुरोध गरेको छ। त्यसको मतलब सार्वजनिक बाटो नै रोक्नु सही हो त?

'हामीले अहिलेसम्म बाटो नै बन्द गर्नु भनेका छैनौं। स्थानीय तहले कसरी गर्नुभयो थाहा छैन। बाटो बन्द गर्न पाइँदैन,' गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले भने, 'घरमा बस्नु भनेका हौं बाटो बन्द गर्नु भनेको होइन।'

अहिले काठमाडौंमात्र होइन, देशका विभिन्न जिल्लाका स्थानीयले मुल बाटोमा नै तगारो राखेर छेकबार गरेका छन्। केही स्थानमा त काँडेतार, टायर नै लगाएर बलियोसँग बाँधिएको छ, कोही छिर्न नसक्ने गरी। बाटो अवरोधका कारण अत्यावश्यक सवारी साधनलाई अवरोध पुगेको छ।

'लकडाउनको समय अत्यावश्यक साधनहरु एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, ढुवानीका सवारी चल्छन्। त्यसैले कसैले पनि रोक लगाउन पाइँदैन,' सहप्रवक्ता अधिकारीले भने।

गृह मन्त्रालयका अधिकारीमात्र होइन, प्रहरीलाई पनि यसरी बाटो बन्द गर्न निर्देशन छैन।

'बाटो नै बन्द गर्न मिल्दैन। हामीले बन्द गरेका छैनौं। सवारीको गति बढी भएको देखिएपछि केही चेक प्वाइन्ट राखेका छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले भने।

तर, मानिसको ज्यान लिनेगरी कहर मच्चाउने पुलमा ठोकिएको अवरोध र सडकका गल्ली गल्लीमा लगाइएको बार कसको निर्देशनमा खडा भयो र कसको निर्देशनमा भत्काइन्छ? पुलबाट जान नपाएपछि ज्यान गुमाएका होमबहादुरको मृत्युको जिम्मेवारी पुलमा पर्खाल लगाउनेहरुले लिने कि नलिने? के यसरी बाटो छेकेर ज्यान लिनेमाथि कारवाही हुन्छ? प्रश्नहरु अनुत्तरित नै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell