
चीन सरकारले सबैभन्दा पहिलो नयाँ खालको निमोनियाको बारेमा जानकारी गराउने 'व्हिसल ब्लोअर' चिकित्सकसहित ३३ जनालाई मे फोर्थ मेडलले सम्मान गर्ने भएको छ। चीनको वुहानका चिकित्सक लि वेनलियाङले नयाँ खालको भाइरसको संक्रमण फैलिएको भन्दै जानकारी पहिलोपटक जानकारी गराएका थिए। पछि यो भाइरसलाई नोवेल कोरोना भाइरस हुँदै कोभिड-१९ को रुपमा चिनिन थाल्यो।
कोभिड-१९ विरुद्धको लडाइमा आहुती दिने चिकित्सक सहितका विभिन्न ३३ जनालाई चीनले राष्ट्रिय सम्मान दिन लागिएको ग्लोवल टाइम्सले जनाएको छ।
'एक नेत्र रोग विशेषज्ञको रुपमा उनी खतरासँग कहिल्यै डराएनन्। विरामीहरुको नजिक पर्नबाट पनि उनी डराएनन्। उनी सँधै अग्रपंक्तिमा रहेर आठ वटा शैय्यामा रहेका विरामीहरुको सेवामा खटिए। काममा खटिँदा खटिँदै जब उनलाई कोभिड-१९ को संक्रमण भयो त्यतिबेला पनि उनले कामकै बारेमा सोचिरहेका थिए। संक्रमण निको भएपछि पनि उनी अग्रपंक्तिमै रहेर काम गर्न जाने इच्छा देखाएका थिए,' चिकित्सक लीको परिचय दिने गरी जारी गरिएको वक्तव्यमा भनिएको छ।
वुहानको केन्द्रीय अस्पतालमा जनवरी सातमा उनको निधन भएको थियो। प्रहरीले सुरुवातमा उनलाई इन्टरनेटमा गलत सूचना दिएको भन्दै स्पष्टिकरण सोधेको समेत थियो। पछि मार्च १८ मा सम्पन्न विशेष अध्ययनले यसलाई गलत सावित गरिदिएको छ।
वुहान प्रहरीले उनी विरुद्ध जारी गरेको अभिव्यक्ति फिर्ता लिँदै उनको परिवारसँग माफी मागेको छ। उनलाई स्पष्टिकरण सोध्ने दुई प्रहरी अधिकारीलाई कारवाही गरिएको छ।
उनीसँगै १३ जना जना स्वास्थ्यकर्मीहरुले कोभिड-१९ विरुद्धको अभियानमा ज्यान गुमाएका छन्। लीसँगै उनीहरुलाई अप्रिल २ मा शहीद घोषणा गरिएको छ।
सोमवार जारी गरिएको सम्मानित हुनेहरुको लिस्टमा चिकित्सकहरुसँगै, किसान, प्रहरी अधिकारीहरु, तल्लो तहका कर्मचारीहरु, इन्जिनियर र फर्मासिस्टहरु छन्। उनीहरु सबै २५ वर्ष देखि ३९ वर्षका छन्।
यस वर्ष सम्मानित हुनेहरुको नाम न्यायाधीशहरु, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका प्रमुखहरु, सञ्चारमाध्यका प्रतिनिधि, स्थानीय तहका युवा प्रतिनिधिसहितको १०८ जनाको टोलीले छनोट गरेको हो।
मे फोर्थ मेडल चीनमा युवाहरुका लागि चिनयाँ कम्युनिस्ट पार्टीको कम्युनिस्ट युथ लिग र चाइना युथ फेडेरेसनले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो।