PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लकडाउनमा यसरी चल्दैछ खोकना ...

लकडाउनमा यसरी चल्दैछ खोकना ...

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : देश लकडाउनमा छ। सबैजना कोरोना भाइरसबाट बच्ने बचाउने उपाय खोज्दैछन्। सर्तक हुँदै घरभित्र बस्दैछन्। जावलाखेलबाट करिब सात किलोमिटर दक्षिणमा पर्ने पुरानो नेवार बस्ती खोकनामा सन्तमाया महर्जन आफ्नो बारीमा मकै रोप्ने तयारी गर्दैछिन्।

६० वर्ष पुग्न लागिन् उनी तर पनि कुटोकोदालो बोकेर खेत धाइरहन्छिन्। लकडाउनको समयमा पनि त खाद्यन्नको जोहो गर्नैपर्‍यो त्यसैले साथीलाई सँगे लिएर दैनिक खेत पुगिरहेकीछिन्।

'लकडाउन छ थाहा छ। तर खेती पनि त गर्नैपर्‍यो। खानै पर्‍यो।' उनी भन्छिन्।

लकडाउनको समय सदुपयोग गर्दै सन्तमाया जस्तै कयौं किसान खोकनामा खेती गर्दैछन्। तोरी फुल्ने खेतहरुमा अहिले मकै र आलु रोप्ने चटारो छ।

भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले त लकडाउन गरेकै छ। खोकनावासीले आफै आफ्नो क्षेत्रमा अर्को लकडाउन गरेका छन्। खोकनामा अपरिचितलाई प्रवेश गर्न रोकिएको छ। प्राचीन खोकना प्रवेश गर्ने बाटोमा बन्द गरिएको छ।

'बाहिरबाट धेरै मानिस आएपछि हामीले बाध्य भएर अस्थायी रुपमा बाटो बन्द गरेका हौं।' स्थानीय चन्द्रमान डंगोलले बताए।

अरु स्थानमा भन्दै लकडाउनको बेग्लै स्वरुप देखिन्छ खोकनामा। वृद्धवृद्धाहरु बिहान, बेलुकी कुदेश तर्फ ओर्लिरहेका देखिन्छन्। अधिकांशको अनुहारमा मास्क देखिन्छ। फर्सदको समयमा साथीभाइ जम्मा भएर केही छिन् गफिन्छन्, घाम ताप्छन्।

कोरोनाको कहरबीच धेरैजसो खोकनावासीको समय खेतीमा बित्दैछ। बिहानको समयमा तरकारी घरघर लिएर पुग्छन् किसान। अहिले यसरी नै चलिरहेको छ खोकना।

चन्द्रमान भन्छन्,' काम नगरी खान पुग्दैन। खोकनाबाट बाहिर जाने कुरा पनि छैन अहिले त। जसोतसो चलिरहेको छ।'



ट्रेन्डिङ पोस्ट

Ncell