PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'अन्य निकायले गरेको गल्ती' सच्याउँदै सांसद अञ्जना विशंखेको समूह : पीडित मजदुरलाई यसरी दिँदैछन् साथ



कमलराज भट्ट

'अन्य निकायले गरेको गल्ती' सच्याउँदै सांसद अञ्जना विशंखेको समूह : पीडित मजदुरलाई यसरी दिँदैछन् साथ

काठमाडौं : तीन दिन यता राष्ट्रिय युवा संघ, चन्द्रागिरीका युवाहरु पैदलै उपत्यका छाडिरहेका यात्रहरुको उद्धारमा सक्रिय छन्। उनीहरुको नेतृत्व गरिरहेकी छिन् अञ्जना विशंखेले। उनी प्रतिनिधि सभा सदस्य हुन्।

उनीहरुले नागढुङ्गाको बाटो हुँदै विभिन्न जिल्ला प्रवेश गर्न लागेकाहरुलाई सवारी साधनको व्यवस्थापनसहित पठाइरहेका छन्। सुरुमा थानकोटस्थित त्रिभुवन पार्कमा लगेर त्यहाँका स्टलहरुमा यात्रुलाई राखिन्छ। पाल र म्याट्रेससहितको स्टलमा खाने र सुत्ने व्यवस्था पनि छ। पिकनिक स्पट भएकाले पानी र ट्वाइलेटको समस्या हुने कुरै भएन।

शनिबार मात्रै त्यहाँबाट ३ सय यात्रुलाई सात फरक गाडीमा राखेर जिल्ला पठाइयो। 

सरकारले मानिस जहाँ छन् त्यही रोक्नु, उपत्यका छोड्न नदिनु भन्ने निर्देशन दिइराख्दा विशंखे र उनको समूहले किन यात्रुहरुको उद्धार गरिरहेका छन् त?

'सामाजिक सञ्जालदेखि मिडियामार्फत् सरकार कहाँ छ? श्रमिकका लागि राज्य कहाँ छ? लगायत प्रश्नहरु उठिरहेका छन्। मजदुरका लागि पनि राज्य यहीँ छ भन्ने देखाउन हामीले यो पहल गरेका हौं', अञ्जना वशंखेले भनिन्।

फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा उठेका प्रश्नहरुकै कारण आफू यस उद्धार कार्यको लागि प्रेरित भएको बताउँछिन् उनी।

लकडाउनको प्रत्यक्ष प्रभावमा परेका मजदूरको समस्या रोगको त्रासमा सीमित छैन। उनीहरु अभाव र भोकका कारण उपत्यका छाडिरहेका छन्। उनीहरुलाई राहत र उद्धार प्रशासन र स्थानीय सरकारको जिम्मेवारी भएपनि यस विषयमा सम्बन्धित निकायहरु मौन रहे। हाल चन्द्रागिरी नगरपालिकाका युवाहरुको सक्रियतामा भइरहेको पहल बारे खबर सार्वजनिक भयो। त्यसपछि अन्य नगरपालिका र वडाका नेतृत्वदायी भूमिकामा रहेकाले पनि 'त्रिभुवन पार्कबाट घर पठाउँछन्' भन्दै मानिसहरुलाई पठाएको बताउँछिन् उनी। 

'यो त आपतमा परेकाहरुका लागि गरिएको सहयोग हो। क्वारेन्टाइन शैलीमा ल्याएर राख्न खोजेको होइन। अरु निकायले हिँड्न दिएर गरेको गल्तीलाई सच्याउने प्रयास छ। लकडाउन व्यवस्थित बनाउन गरिएको सहयोग पनि हो', उनले भनिन्।

हेल्थ डेस्कसहितको सेवा सुविधा त्यहाँ पुग्ने मजदुरलाई दिइएको छ। विशेषगरी ती मजदुरलाई जो खान र बस्नै समस्यामा परे। तर नतिजा अस्वभाविक महसुस गरिन् विशंखे स्वयंले। पहिलो चरणमा मानिस पठाएको भोलिपल्ट मानिसहरुको लर्को लाग्यो। कति त घर जाने तारतम्यसहित सुट बुटमै आए। त्यसैले दोस्रो दिन, शनिबार मानिसलाई पठाउन सम्भव भएन।

असली पीडित पहिचानका लागि स्वयं सेवकहरुले फोन नम्बर, ठेगानासहित डाटा कलेक्सन गरेका छन्। मुल गेटदेखि शिविरहरु आसपास प्रहरी कर्मचारी र स्वयंसेवक परिचालित छन्। पार्कभित्र नेपाली सेनाले किटनाशक औषधि पनि छर्किरहेको छ।

अति मार्कामा परेर त्यहाँ आएकालाई सम्बन्धित जिल्ला पठाउने र नजिकैको कारखाना, ईट्टा भट्टाबाट आएकाहरुलाई सोही स्थानमा फर्काउने योजना छ उनीहरुको।

ठेकेदार, भट्टा वा अन्य कारखाना सञ्चालक लगायतले जिम्मेवारी नलिएको खण्ठमा उनीहरुको नाम कालोसूचीमा राख्ने र अन्य कारवाहीको प्रक्रियामा अघि बढ्ने उनको योजना रहेको छ।  

'म सडकमै परें, कहीँ ठाउँ छैन भन्नेहरुलाई यहाँ ठाउँ दिएका हौं तर घर पठाउन बसेका होइनौं', अञ्जनाले सुनाइन्,'चप्पलमै सयौं किलोमिटर पैदल हिँडेकाहरुका लागि हो यो सहयोग।' 

सितापाइला, भक्तपुर लगायत ठाउँबाट आएकालाई फिर्तासमेत पठाइसकेको छ यो समूहले। टाढाबाट आएकालाई आश्रय दिने योजनासहित नै सुरु भएको थियो यस अभियान। 'तर एकदिन मै अवस्था अनियन्त्रित बन्यो। पहिलो दिन अनेपेक्षित रुपमा गाडी चढेर घर जान पाएको खबर फैलियो। दोस्रो दिन हुलका हुल आए', उनी सुनाउँछिन्,'हामीलाई पनि व्यवस्थापन गर्न गाह्रो हुन्छ नि। यस्तो भिडमा चुनौती पनि छ।'

पार्कमै वैशाख २२ गतेसम्म राख्ने जानकारी दिएपछि भने काठमाडौंका विभिन्न आएकाहरु खाना समेत नखाइ फर्किएको बताउँछिन् उनी।

उनीसँगै प्रदेश सांसद रमा आलेमगर लगायत अन्य, नगरपालिका, वडा, पार्टीका सदस्यहरु यस अभियानमा सक्रय ढङ्गले लागेका छन्। कसैले गाडी उपलब्ध गराए। कसैले गाडीका लागि तेल र ड्राइभरलाई भत्ता। एक महिला समूहले स्यानिटाइजर दियो। युवाले तरकारी र खाद्यान्न सहयोग गरे। यसरी भोका मजदुरलाई खान, बस्न र गाडीको व्यवस्थापन भयो।

'मजदुरको नेतृत्व गर्ने पार्टीले साँच्चिकै अलपत्र मजदुरको सेवा गर्नुपर्छ। हाम्रो भावना यहीँ हो', उनले सुनाइन्।

आम मानिसलाई पनि उनी यही आह्वान गर्छिन्। भन्छिन्,'फेसबुकमा सरकारलाई गाली गरेर बस्नुभन्दा सक्दो सहयोग गरौं। यति गर्‍यौं भने समस्या समाधान हुन्छ। म देशैभरका जनप्रतिनिधि, राजनीतिक नेतृत्वलाई आ-आफ्नो ठाउँबाट प्रशासनसँग समन्वय गरेर उद्धारका लागि पहल गर्न अनुरोध गर्दछु।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell