काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीले खान र बस्ने समस्या हल गर्न सघाउन सक्रिय भएको छ। कमिटीले समस्या परेका श्रमिकहरुलाई राहतका लागि समन्वय गर्ने भएको हो। जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले एक विज्ञप्ति जारी गर्दै समस्यामा परेकाहरुलाई सम्पर्क गर्न आब्हान गरेका छन्।
उनले भने, 'स्थानीय तहबाट भइरहेको राहत घरवालाले मात्रै पाउने गरेको गुनासो आउन थालेको छ। घरवालाहरुले कोठामा बस्नेहरुलाई स्थानीय सरकारसम्म पुग्न समन्वय गरेको पाइएन। त्यसैले हामीले विपद्का बेला सबैले न्याय पाउनुपर्छ भनेर समन्वय गर्न लागेका हौं।'
अध्यक्ष राईले जिल्ला कमिटीबाट राहत वितरण गर्ने नभइ समस्यामा परेकालाई वडाका जनप्रतिनिधि, नगरपालिकाका प्रतिनिधिसँग पुर्याइदिने कामको सुरुवात गरेको बताए।
उनले भने, 'पार्टीको नामबाट राहत बाढ्ने भनेका होइनौं। पार्टीका नाममा राहत बाढ्न थालेपछि अन्य पार्टीहरुले पनि राहत वितरण गर्न थाल्छन्। अहिले स्थानीय सरकारबाट राहत वितरण गर्ने हो। सरकारलाई सहयोग गर्नु सबैको दायित्व हो।'
कोरोना भाइरस संक्रमणबाट जोगिने उपयुक्त उपाय लकडाउन नै भएकाले सबैलाई पालना गर्न पनि उनको आग्रह छ।
उनले भने, 'जहाँ हुनुहुन्छ त्यहीँ रहनुस्। खान बस्नका लागि काठमाडौं छाड्नुपर्दैन। लकडाउनको पालन गर्नुस्। समस्यमा परे हामीलाई भन्नुस् तपाईँहरुको समस्या समाधान गराउँछौं।'
स्थानीय तहबाट राहत वितरण हुँदै आए पनि राहत वितरण प्रभावकारी नभएको गुनासो बढ्न थालेको छ।