PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

चेन्नईमा कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कारमा अवरोध, शव बोकेको एम्बुलेन्समै हमला



पहिलोपोस्ट

चेन्नईमा कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कारमा अवरोध, शव बोकेको एम्बुलेन्समै हमला
PHOTO : GETTY IMAGES

भारतको चेन्नईमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका न्युरो सर्जन डाक्टरको अन्तिम संस्कारमा अवरोध भएको छ। दुई हप्ताअघि कोरोना पोजेटिभ देखिएका ५५ वर्षीय ती डाक्टरको आइतबार मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ।

सोमवार मृतक डाक्टरको शवलाई अन्तिम संस्कारसहित पुर्नका लागि कब्रिस्तान लगियो। तर, त्यहाँ ५० भन्दा बढी मानिस जम्मा भएर शव बोकेको एम्बुलेन्माथि नै हमला गरे।

भीडलाई नियन्त्रणमा लिन प्रहरी पनि असफल रह्यो। स्थानीयले डाक्टरका परिवारजनलाई शव अर्को कब्रिस्तान लैजान अपिल गरे। स्थानीयको विरोधपछि डाक्टरको शवलाई अर्को कब्रिस्तान लगेर पुरिएको आजतकले जनाएको छ।

यो घटनामा प्रहरीले २० जनाविरुद्ध लकडाउन उल्लंघन, हतियारबाट हमला र सरकारी कमर्चारीलाई ड्युटीबाट रोकेको अभियोगमा मुद्दा दर्ता गरेको छ।

यसअघि तमिलानाडुमा पनि १३ अप्रिलमा एम्बातुरका स्थानीयले कब्रिस्तानको बाहिर हंगामा गरेका थिए। त्यहाँ ६२ वर्षीय डाक्टरको कोरोनाबाट मृत्यु भएपछि अन्तिम संस्कार गर्न खोज्दा स्थानीयले रोक्न खोजेका थिए।

प्रहरी र स्थानीय प्रशासनको सहयोगमा परिवारजनले डाक्टरको शवलाई अर्को कब्रिस्तानमा अन्तिम संस्कार गरेका थिए।

भारतका विभिन्न ठाउँमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति तथा परिवारमाथि दुर्व्यवहारका घटना सार्वजनिक भइरहेका छन्। त्यसैगरी कोरोना भाइरस विरुद्धको लडाईंमा अग्रमोर्चामा खटिएका चिकित्सकमाथि पनि दुर्व्यवहार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell