PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

अक्षयको २५ करोड प्रकरणले शत्रुघ्न सिन्हा विवादमा: पहिले आलोचना, अहिले प्रशंसा



पहिलोपोस्ट

अक्षयको २५ करोड प्रकरणले शत्रुघ्न सिन्हा विवादमा: पहिले आलोचना, अहिले प्रशंसा

बलिउड अभिनेता शत्रुघ्न सिन्हा आफ्नै अभिव्यक्तिले विवादमा तानिएका छन्। लकडाउनबाट प्रभावित मजदुरका लागि अभिनेता अक्षय कुमारले राहतस्वरुप प्रधानमन्त्री केयर्स फण्डमा जम्मा गरेको २५ करोड रुपैयाँमाथि प्रश्न उठाएपछि शत्रुघ्न विवादको घेरामा परेका हुन्।

सुरुमा शत्रुघ्नले अक्षय कुमारको नाम नलिई २५ करोड दान दिए भनेर समाजसेवाको पब्लिसिटी गर्न नहुने बताएका थिए। 'यो सुन्नु निकै निरुत्साह र अमानवीय हो कि कसैले दानमा २५ करोड रुपैयाँ दिए। समाजसेवाको पब्लिसिटी हुनु हुँदैन,' उनले भने, 'शोबि़ज अहिले आएर शो अफ बिज बनिसक्यो।'

बलिउडमा अक्षयले मात्रै २५ करोड रुपैयाँ सहयोग गरेका छन्। उनले सार्वजनिक रुपमा यो घोषणा गरेका थिए भने प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रुपमै धन्यवाद दिएका थिए। उनको सहयोग उच्च तहमा चर्चा भएपछि शत्रुघ्नले सांकेतिक रुपमा अक्षयको आलोचना गरेका हुन्

अक्षयको सांकेतिक आलोचना गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताले नबुझ्ने कुरै भएन। उनीहरुले शत्रुघ्नले आफू पनि सहयोग नगर्ने र २५ करोड दान गर्ने अक्षयमाथि सार्वजनिक अभिव्यक्ति दिएर आलोचना गरेको भन्दै विरोध गरे। आफ्ना फ्यान नै विरोधमा उत्रिएपछि शत्रुघ्नले जवाफी धारणा दिँदै अक्षयको प्रशंसा गरेका छन्।

उनले २५ करोडको कुरा गर्दा आफ्नो मस्तिष्कमा अक्षयको नामै नआएको दावी समेत गरेका छन्।

'मैलै २५ करोडमाथि टिप्पणी गर्दा मेरो दिमागमा अक्षय कुमारको नाम कतैबाट पनि थिएन। अक्षयले २५ करोड रुपैयाँ डोनेट गरेकाले मानिसहरुले मैले अक्षयलाई नै टारगेट गरेको निष्कर्ष निकाले। तर, मैले उनलाई लक्षित गरेर भनेको होइन,' उनले भने, 'उनी मेरी छोरी सोनाक्षी सिन्हाको को-स्टार मात्र होइन निजी जीवनमा पनि मसँग नजिक छन्। उनी हाम्रो पारिवारिक मित्र हुन्। म उनको घर गइरहन्छु। उनी मेरो घर आइरहन्छन्।'

यतिमात्रै होइन शत्रुघ्नले अक्षयको प्रशंसा गर्दै भने, 'एक ठूलो स्टार हुनुका साथै उनी लगातार मानिसहरुको मद्दत गरिरहेका छन्। जहाँ पनि उनी समस्या देख्छन्, त्यहाँ आफ्नो स्तरअनुसार मद्दत गर्छन्। अक्षय कुमारले जे गरिरहेका छन्, त्यो समाजका लागि एक उदाहरण हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell