PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

ओली समूहका नेता भन्छन्: सरकारको निर्णयले पार्टी फुट्दैन, तरङ्गित हुन आवश्यक छैन, बेमौसमी बाजा नबजाउ: प्रतिपक्षी नेता



पहिलोपोस्ट

ओली समूहका नेता भन्छन्: सरकारको निर्णयले पार्टी फुट्दैन, तरङ्गित हुन आवश्यक छैन, बेमौसमी बाजा नबजाउ: प्रतिपक्षी नेता

काठमाडौं: सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश अघि बढाएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी नफुट्ने दावी गरेका छन्। पार्टी नफुट्ने भएकाले यो निर्णयबाट तरंगित नहुन उनीहरुले आग्रहसमेत गरेका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन गर्ने निर्णयपछि कोरोना महामारीकाबीच एकाएक राजनीतिक घटनाक्रम विकास भएका बेला नेकपाभित्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुले नेतृत्वको बचाउ गर्न थालेका छन्।

नेकपाका नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारको निर्णयले पार्टी नफुट्ने धारणा राखेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले ४० प्रतिशत प्रावधान लोकतान्त्रिक विशेषता भएको टिप्पणी गरेका छन्। 'ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन। ४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता नै हो। अनुशासित बनौ, जिम्मेवार बनौं,' उनले भनेका छन्।

ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन।४०% को प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौ, जिम्मेवार बनौ ।

Posted by Shankar Pokhrel on Monday, April 20, 2020

नेकपाका नेता एवं पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले सरकारको निर्णयले तरंगित हुनुनपर्ने टिप्पणी गरेका छन्। सरकारको निर्णय साधारण विषय भएको उनको भनाई छ। दलहरु कानुनले भन्दा बढी दर्शनमा आधारित सिद्धान्त, विचार, उद्देश्यसहितको संगठनात्मक तथा भावनात्मक प्रणालीमा एकताबद्ध भएकाले यो निर्णयले कुनै समस्या सिर्जना नहुने उनी जिकिर गर्छन्।

पूर्वमाओवादी समूहका नेकपा नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको निर्णयले पार्टी फुटाउन खोजेको आशंका गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'दुई तिहाई बहुमत आफैसँग हुँदाहुँदै अरु पार्टी फुटाउन किन आवश्यक भयो? कतै...!'

प्रतिपक्षी नेता भन्छन्: बेमौसमी बाजा नबजाउ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संकटका बेला बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन्। राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णयलाई बेमौसमी बाजा भन्दै शर्माले अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हुनुपर्नेमा जोड दिएका छन्।

'नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन्। गौण रहनुपर्छl हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ,' शर्माले ट्वीटरमा भनेका छन्।

त्यसैगरी नेता मीनेन्द्र रिजालले सरकारको निर्णयले लोकतन्त्रलाई अझ सकसमा पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले कुन पार्टीका कोरोना संक्रमितलाई सरकारी क्वारन्टीनमा राख्नु परेर हो सरकारले नयाँ अध्यादेश ल्याउन लागेको भनेर प्रश्न समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell