प्यूठान : प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेशालको एकता पोल्ट्री फार्ममा चार हजार ५०० कुखुरा छन्। ८५ लाख रुपैयाँको लगानीमा युवा प्रकाश आचार्यले सञ्चालन गरेको फार्ममा दैनिक चार क्विन्टल दाना खपत हुन्छ। दैनिक २१० वटा अण्डा प्रतिपेटी हुनेगरी २० पेटी अण्डा उत्पादन हुँदै आएको छ। सो फार्ममा अहिले अण्डा ६५ पेटी छ तर दाना छैन। दैनिकरुपमा खुवाउने दाना नभएपछि फार्मले खुला चउरमा कुखुरा चराउन थालेको छ। दाना किन्नका लागि चाहिने नगद नभएपछि भारतीयले दाना आपूर्ति नगर्दा माउन्टेन विधिबाट कुखुरा पाल्ने उपाय खोजिएको छ।
करिब १५ दिनमा दानामा पाइने तत्वको प्रतिशत घटाउँदै खुला चरनबाट कुखुरालाई बचाउने विधि माउन्टेन विधि हो। केही महिनाअघि सरकारले दानाको मूल्य बढाएको थियो। दानाको मूल्य बढे पनि अण्डाको मूल्य नबढ्दा निराश देखिएका व्यवसायीले लागत घटाउन खोरको क्षमताअनुसार कुखुराको संख्या बढाएको फार्मका सञ्चालक आचार्यले बताए।
प्यूठान–१ दाखाक्वाडीको प्रगतिशील पोल्ट्री तथा कृषि फार्ममा अण्डा दिने १० हजार हाइलाइन र लोम्यान जात लेयर्सलाई पनि दाना संकट परेको छ। लकडाउनको समयमा अण्डा फार्ममै थन्किएपछि नगद कारोबार गर्न नसक्दा दानालाई चाहिने तत्व खरिद गर्न सकिएको छैन। कोल्चेन अर्थात् चिस्यान घरको व्यवस्थापन नभए १५ देखि ३० दिनमा अण्डा बिग्रिन थाल्दछ। यही समस्या फार्ममा देखिन थालेको छ।
हाल खोरमा रहेको कुखुरामा एक करोड ११ लाख रुपैयाँ जति खर्च भइसकेको छ। अण्डा उत्पादनको पहिलो चरणमा नै अण्डा बिक्री गर्न नपाएपछि व्यवसाय नै धरापमा परेको व्यवसायी मुक्ति पोखरेलको दुखेसो छ। ६० लाख रुपैयाँ ऋण लिएर व्यवसाय सञ्चालन गरेका पोखरेललाई झण्डै १३ लाख रुपैयाँको अण्डा बिग्रिन थालेपछि ऋण र कुखुरा कसरी बचाउने चिन्ता छ।
‘सरकारले नहेर्ने हो भने हामी डुब्छौँ,’ उनले भने।
जिल्लाका लेयर्स फार्ममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना तथा विश्व बैंकको लाखौँ अनुदान सहयोग छ। जिल्लामा व्यावसायिक रुपमा १८ वटा लियर्स कुखुरापालन फार्म छन्। दैनिक करिब ४२ क्विन्टल दाना लेयर्सका लागि मात्र खपत हुन्छ। अठार फार्ममा रहेका करिब ५५ हजार कुखुराबाट दैनिक २०५ पेटी अण्डा उत्पादन भइरहेको छ।
फार्ममै दाना बनाउन चीन र भारतबाट आउने दानाका तत्व उधारोमा नपाउने र अण्डाले बजार नपाएपछि व्यवसायी समस्यामा परेको जिल्ला पोल्ट्री व्यवसायी संघका अध्यक्ष झगबहादुर जिसीले बताए।
‘जिल्ला अण्डामा आत्मनिर्भर बनेको थियो’, उनले भने, ‘बजार व्यवस्थापनमा सरकारले समयमै कृषकलाई सहयोग नगरे राज्यको लाखौँको अनुदान पनि खेर जाने र कृषकको व्यवसाय धरापमा पर्ने निश्चित छ।’
सरकारले पशु र पक्षीजन्य वस्तु राम्रोसँग पकाएर मात्रै खाने भने पनि स्थानीयवासीले अण्डा तथा मासु कम खरिद गरेकोे कृषकको भनाइ छ।
मल्लरानी गाउँपालिकाका पशु शाखा संयोजक बाबुराम न्यौपानेका अनुसार १६ वटा तत्व लेयर्सलाई चाहिन्छ। लाइसिन, मिथाइन, क्याल्सियम, इन्जाइम, मिनेरल, एसिडिन फाइभ, भिटामिन एविलगायतका भिटामिन अभाव हुँदा अण्डा फुट्ने र कुखुराको उत्पादन शक्ति घट्न थालेको न्यौपानेको भनाइ छ। यति मात्रै होइन जिल्लामा ब्रोइलर पालन गरेका कृषक पनि मारमा छन्। कडा परिश्रमका साथ हुर्काएका कुखुरा छिप्पिन थालेपछि कृषक चिन्तित छन्।
मजदुरको उद्धारमा सक्रिय बन्दै स्थानीय तह
मुलुकका विभिन्न जिल्लाबाट पैदलै घर फर्किदै गरेका मजदुरलाई प्यूठानका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी गन्तव्यसम्म पुर्याउने काम गरेका छन्।
बाहिरी जिल्लाबाट स्थानीय तहले सीमामा राखिएको हेल्पडेस्कसम्म ल्याएर छोड्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहको सहकार्यमा सीमापार गराउने गरिएको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए। लकडाउनको समयमा आधा बाटोबाट भए पनि घर जान पाएपछि पैदलयात्रु खुशी भएका छन्।
काठमाडौं, गुल्मी, कास्की, धादिङ, पर्वत, बागलुङलगायतका जिल्लामा खानेपानी, पुल, मोटरबाटो, भवन निर्माणलगायतका योजनामा काम गर्ने मजदुरहरु लकडाउन लम्बिएर कामविहीन भएपछि लामो दुरीको कष्टकर पैदल यात्रा गरी धमाधम घर फर्किन थालेका हुन्।
पैदलयात्राबाटै बीचबाटोसम्म आइपुगेकालाई गुल्मी, बागलुङ, प्यूठान, दाङ, बाँके, बर्दिया जिल्लाका विभिन्न स्थानीय तहको समन्वयमा सम्बन्धित स्थानीय तह र मजदुरको घरसम्म पुर्याउने काम भएको छ। प्यूठान नगरपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाको समन्वयमा सयौँ पैदलयात्रीको उद्धार गरी खाना खुवाएर सम्बन्धित स्थानसम्म पुर्याइएको प्यूठान नगरपालिकाका नगर प्रमुख कक्षपतिले बताए।
स्थानीय तहले समन्वय गरी उद्धार गर्न थालेपछि मजदुर हर्षित बनेका छन्। लामो दुरीको यात्राले थाकेको अवस्थामा पेटभरि खाएर घर जान पाउँदा दुःख बिर्सिएको बर्दिया जिल्लाको बार बर्दिया नगरपालिका-९ बनगाईकी ३० वर्षीया सीता सार्कीले बताइन्।
बागलुङको जैमुनी नगरपालिका-३ रामखोलाको सडकमा जाली भर्ने काम गर्ने २५ जनाको समूह थियो। सडक मर्मतको काम गर्दै आएका मजदुर लकडाउनपछि कामविहीन हुनुपर्यो । बागलुङबाट गुल्मी, प्यूठान, दाङ, बाँके हुँदै बर्दिया पुग्ने तयारीमा करिब तीन दिन पैदल हिँडेर गुल्मीको रेसुङगा नगरपालिकामा आएका मजदुरलाई रेसुङ्गा नगरपालिकाले प्यूठान नगरपालिकासँग समन्वय गरी पठाएको थियो।
पर्वत र गुल्मी हुँदै आएका १६ जना मजदुर पनि सजिलै घर जान पाएपछि खुशी देखिन्थे। ३ गते लकडाउन सकिने र काम पाइने आशामा रहेका मजदुर लकडाउनको समय थप भएपछि घर फर्किनुको विकल्प नभएको प्यूठान नगरपालिका-६ माझकोटका नारायणबहादुर पुनले बताए।
‘धेरै पीडा भोगेर धन्न आइपुग्यौँ’, उनले भने, ‘पानी मागेर खान खोज्दा खान दिनु त के छुनसमेत बन्देज गरियो।’
गण्डकी प्रदेशको पर्वतको विहादी गाउँपालिका-३ रानीपानीमा खानेपानी निर्माण योजनामा १९ जना मजदुर कार्यरत थिए। तीन जना लकडाउन हुनुअगावै फर्किए पनि १६ जना भने ३ गते बिहानै विहादीबाट हिँडेका थिए। अन्य जिल्लाबाट प्यूठानसम्म आएका पैदलयात्रीलाई गन्तब्यसम्म पुर्याउन स्थानीय तहले सक्रियता देखाएको प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए।
‘यातायातको व्यवस्थापन, खाना, आवासको व्यवस्थापनका विषयमा स्थानीय तहले सक्रियता देखाएका छन्’, प्रमुख जिल्ला अधिकारी पन्थले भने, ‘मजदुरको पीडामा स्थानीय तहले गरेको सहयोग सरहानीय छ।’
विभिन्न जिल्लाबाट मजदुरी गरी फर्किदै गरेकालाई सम्बन्धित जिल्ला एवं स्थानीय तहको समन्वयमा आवश्यक उद्धार गरिएको छ। नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, प्रहरी, उद्योग वाणिज्य संघ, विभिन्न संघसंस्थाले पैदलयात्रीलाई आवश्यक सहयोग गर्नुका साथै क्वारेन्टाइन व्यवस्थापन, हेल्पडेस्क निर्माण तथा आर्थिक सहयोग पुर्याएको प्रमुख जिल्ला अधिकारी पन्थको भनाइ छ।