PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रचण्ड निकट नेता गजुरेलको दाबी, 'ओलीको कदम पार्टी फुटाउनकै लागि' : परिणाम दुखद हुने चेतावनी



प्रकाश भण्डारी

प्रचण्ड निकट नेता गजुरेलको दाबी, 'ओलीको कदम पार्टी फुटाउनकै लागि' : परिणाम दुखद हुने चेतावनी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि अहिले देशमा राजनीतिक तरंग पैदा भएको छ। सत्तारुढ दल नेकपाभित्र यसको विरोध शुरु भएपछि यसबारे छलफलका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन्।

यही बेला पूर्व माओवादी समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर विवादमा नतानिन चेतावनी दिएको छ। यसले अध्यक्ष ओलीलाई नै घाटा हुने प्रचण्ड निकट नेताहरुले दाबी गर्न थालिसकेका छन्।

प्रचण्ड निकट मानिने नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले ओलीलाई राम्रो नहुने चेतावनी दिएका छन्।

पहिलोपोस्टसँगको कुराकानीमा उनले ओलीलाई पार्टीले प्रधानमन्त्री बनाए पनि उनले घात गरेको दाबी गरे।

'पार्टीले उनलाई प्रधानमन्त्री बनायो तर स्वेच्छाचारी हुँदै घात गर्न अघि बढे', उनले भने।

उनले एमालेको नेपाल समूहसमेत प्रचण्डकै साथमा रहेको संकेत गर्दै भने, 'यो माओवादी एमालेको कुरै होइन। पार्टीमाथिको बेइमानी हो। अब त्यसको परिणाम दु:खद नै हुन्छ। अहिले हामी एकताकै लागि लागेका थियौं।'

नेकपा अध्यक्ष प्रचण्डलाई आइतबार नै अध्यादेश आउन लागेको जानकारी भएको गजुरेलले बताए।

प्रचण्डसँगको भेटमा उनले आफुलाई अध्यादेश आउन लागेको बताएका गजुरेलको भनाइ छ। तर यति छिटो आउछ भन्ने बारेमा भने आफूलाई थाहा नभएको उनको भनाइ छ।

स्थायी समितिको बैठकपछि प्रचण्डले थप कदम चाल्ने गजुरेलेको दाबी छ।

माओवादी समूहका स्थायी समिति सदस्यलाई काठमाडौं नछोड्न प्रचण्डले निर्देशन दिइसकेका छन्।

गजुरेलले ओलीको कदम देशका लागि समेत घातक हुने बताएका छन्।

उनले पार्टी फुटाउने प्रयास प्रचण्डले अन्तिम समयसम्म रोक्ने उल्लेख गर्दै प्रचण्डले फुटाउन नचाहेपनि ओली फुटाउनकै लागि अघि बढेको गजुरेलेको आरोप छ।

नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु भइसकेको छ। सोमबारको मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी ऐन संशोधनको अध्यादेश र संवैधानिक परिषदको गणपुरक संख्या हेरफेरसम्बन्धी अध्यादेश स्वीकृत भएको थियो।

सरकारले दुई अध्यादेश सिफारिस गरेर राजनीतिलाई तरंगित बनाएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको हो। यसअघि सोमबारको मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्धी ऐन संशोधनको अध्यादेश स्वीकृत गरेको थियो। यस्तै संवैधानिक परिषदको गणपुरक संख्या हेरफेरसम्बन्धी अध्यादेश पनि स्वीकृत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell