चितवन : भरतपुर कोरोना भाइरस (कोभिड-१९) प्रयोगशालामा पिसिआर परीक्षण गर्ने ‘रिएजेन्ट’ सकिएपछि आजबाट काम रोकिएको छ। यहाँ दैनिक ३५ देखि ४० जनाको पिसिआर परीक्षण हुँदै आएको थियो।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार एक सातादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग रिएजेन्ट सकिन लागेकाले माग गरिएको भएपनि प्राप्त हुन नसकेपछि आजबाट काम रोकीएको हो। रिएजेन्ट मागेर तीन पत्र पठाइएको छ। हेटौँडास्थित प्रदेश कार्यालयको प्रयोगशालाबाट रिएजेन्ट ल्याउन कर्मचारी पठाइएकोमा त्यहाँ पनि आइतवार बाँकी नमुनालाई पुग्ने मात्र ल्याइएको तिवारीले बताए। परीक्षण हुन बाँकी आठ नमुनालाई मात्र हेटौँडाबाट रिएजेन्ट ल्याइएको उनले बताए।
परीक्षणका लागि आज भरतपुर कोरोना अस्पतालमा मात्र २० जनाको नमुना संकलन गरिएको छ। रिएजेन्ट उपलब्ध नभएपछि अन्य अस्पतालबाट नमुना संकलन नगरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। आज र भोलि थप हुने नमुना परीक्षणका लागि काठमाडौं पठाइने छ। नमुना संकलन गरिएकालाई नतिजा नआएसम्म सम्बन्धित अस्पतालमा राख्ने गरिन्छ। र्यापिड डायग्नोस्टिक टेस्ट भइरहेको छ। त्यसमा पोजेटिभ आउनेलाई पनि पिपिआर गर्ने गरिएको छ।
चैत २१ गतेबाट शुरु भएको यस प्रयोगशालामा मन्त्रालयले ४ सय नमुना परीक्षण गर्ने गरी रिएजेन्ट पठाएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहोनीले रिएजेन्ट अभाव भएको बताए। थप आउनका लागि १÷२ दिन लाग्ने बताइएको छ।
जिल्लामा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ। बाहिरबाट आएका झण्डै ७ सय रहेका छन्। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले हालसम्म ६ सय बढीको परीक्षण भइसकेको बताए। त्यसमध्ये तीन जनामा पोजेटिभ देखिएकोमा एक जनामा पुनः पिसिआर परिक्षणमा पनि पोजेटिभ देखिएको छ। एक जनाको नेगेटिभ देखिएको छ। अर्का एक जनाको नतिजा आउन बाँकी छ।
प्रेस युनियनको ३ लाख रुपैयाँको राहत कोष
नेपाल प्रेस युनियन चितवनले ३ लाख रुपैयाँको पत्रकार राहत कोष स्थापना गरेको छ। कोरोना महामारीलाई लक्षित गरी आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गरेर सोमवार दिउँसो बसेको ‘अनलाइन बैठक’ ले सो कोष स्थापनाको निर्णय गरेको हो।
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ। कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी, केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष वसन्त पराजुली रहेका छन्। बैठकले पत्रकार सहयोग समिति गठन गरेको छ। कार्यसमिति सदस्य राजु चौधरीको संयोजकत्वमा सदस्य सशील पन्त, हरि पौडेल रहेको समिति गठन भएको छ। कोषाध्यक्ष विप्लव काफ्लेको संयोजकत्वमा तीन सदस्यीय राहत कोष अभिवृद्धि समिति समेत गठन गरिएको छ।
बैठकले अति आवश्यक परेमा मात्र फिल्डमा सुरक्षित भएर जान पत्रकारलाई अनुरोध गरेको छ। जिल्लामा कोरोना संक्रमण देखिइ सकेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ। कार्यक्षेत्रमा जाने पत्रकारलाई सञ्चार गृहले आवश्यक सुरक्षाका सामाग्री उपलब्ध गराइदिन, पारिश्रमिक समयमा दिन र ढुक्कसँग समाचार सम्प्रेषणको वातावरण बनाइदिन स्थानीय प्रशासनसँग बैठकले माग गरेको छ।