PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

हावाहुरीका कारण बारा-पर्सामा ठूलो क्षति, पोल ढल्दा विद्युत सेवा अवरुद्ध



राधेश्याम पटेल

हावाहुरीका कारण बारा-पर्सामा ठूलो क्षति, पोल ढल्दा विद्युत सेवा अवरुद्ध
प्रतीकात्मक तस्विर। Photo: cchsoracle.com

वीरगंज : सोमवार राति ७ बजेपछि आएको हावाहुरीका कारण बारा, पर्सा, रौतहटमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। हावाहुरीका कारण घर, पर्खाल तथा टहराहरु भत्किएको पर्सा प्रहरीका प्रवक्ता वीरेन्द्र बहादुर शाहीले बताए। शाहीका अनुसार हावाहुरीको क्षतिको विवरण संकलन गर्ने काम भइरहेकोले केही घण्टापछि मात्र यकीन विवरण आउने जानकारी दिए।

हावाहुरीले नारायणी अस्पतालमा बनाइएका २० बेडका आइसोलेसन वार्ड समेत भत्किएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए। केही हप्ता अगाडि कोभिड-१९ को उपचारका लागि २० बेडको आइसोलेसन वार्ड निर्माण गरी सञ्चालनमा ल्याइएको थियो।

यता किसानहरुले लगाएको बाली समेत नष्ट भएको छ। हावाहुरीका कारण पर्सा-बाराको विद्युत सेवासमेत अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख शम्भुराय कुशियतका अनुसार केन्द्रीय प्रशारण लाइनमा कुनै क्षति नभए तापनि पर्सा-बाराको विभिन्न ठाउँमा विद्युत पोल ढलेको जानकारी पाएको र प्राविधिक टोली फिल्डमा खटाएको जानकारी दिए।

हावाहुरीले क्षति नपुर्‍याएका क्षेत्रमा विद्युत सेवा सञ्चालनमा आउने उनले बताए। विद्युत पोल र तारमा क्षति पुगेका क्षेत्रमा विद्युत सेवा शुरु हुन समय लाग्ने उनको भनाइ थियो।

यस्तै, बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझप्टी टोलमा हावाहुरीले ६ वटा फुसको घरको छानो उडाएको छ। स्थानीय समत तिवारी, प्रमोद तिवारी, सञ्जय तिवारी, मुकेश पटेल, विहारी पटेल र दरोगा राउतको फुसको घरको छानो उडाएको स्थानीयले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell