PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

लकडाउनमा पब्जी सिक्दै भोला सिलवाल, पुलिसका अधिकांश खेलाडी उपत्यका बाहिर



मुकुन्द घिमिरे

लकडाउनमा पब्जी सिक्दै भोला सिलवाल, पुलिसका अधिकांश खेलाडी उपत्यका बाहिर

कोरोनाले फुर्सदिलो बनाएको छ धेरैलाई। लकडाउन चलेको छ। अत्यावश्यक सेवाका क्षेत्रबाहेक अन्य क्षेत्रमा अहिले केही काम चलेको छैन। त्यसमा पनि फुर्सदिला बनेका छन् खेलाडीहरु। त्यसैमध्येका एक हुन् नेपाल पुलिस क्लबका खेलाडी भोला सिलवाल।

घर उनको विराटनगर। अहिले काठमान्डौमै छन् उनी। नेपाली राष्ट्रिय टिमका सदस्यसमेत रहिसकेका उनी नेपाल पुलिस क्लबका सिनियर खेलाडी हुन्। लकडाउन चलिरहँदा उनी फुर्सदमा छन् अहिले।

'अहिले त यतिकै बसिबसाइ छ। अहिले अभ्यासहरु पनि केही छैन। कोरोनाले विश्वभरमा प्रभाव पार्दा हामी पनि प्रभावित भइहाल्यौं,’ फुटबल खेलाडी सिलवालले भने, ‘खेलाडीहरु प्राय उपत्यका बाहिरै छन्। त्यसैले हामी छुट्टी जस्तै अवस्थामा छौं। अहिलेलाई ड्युटी छैन भन्नु पर्‍यो,’

यद्यपि खेलाडीहरुलाई सम्पर्कमा रहन निर्देशन रहेको उनले बताए।

‘हामीलाई परिआएको खन्डमा जोजो जहाँजहाँ छौं त्यहीँको अफिसमा सम्पर्क राख्न भनेको छ।’ सिलवालले भने।

यसरी हेर्दा उनी फुर्सदिला सुनिए।

कोरोनाले सारा विश्वलाई नै असर गरेको छ। सबैलाई मार पारेकै छ। यस्तोमा आफ्नो टिममा  असर परे पनि छिटै फर्ममा फर्किन सक्ने आशामा छन् उनी।

'खेलाडीहरुको तालिम रोकिएकाले चाहीँ केही प्रभावित त हुन्छ नै। तर, केही महिनामा त्यो मेन्टेन हुन्छ।’ उनले भने, ‘खेलाडीले लामो समय तालिम गर्न पाएका छैनन् त्यसले चाहीँ केही समय असर गर्ला’

उनी फिटनेसलाई लिएर चिन्तित सुनिए। प्रायजसो खेलाडी घरमै हुँदा फिटनेस कायम राख्न कठिन होला कि भन्ने चिन्ता छ उनलाई।

+++

घरमै लकडाउनमा परेको हप्तौं भइसक्यो। कहिलेकाहीँ फैलने हल्लाले हतास बनाउने गरेको उनले अनुभव गरेका छन्।

‘घर (विराटनगर) मा फोन भइरहन्छ। त्यहाँ विभिन्न हल्ला फैलिएर घरमा डराएर बसेको पनि भन्नु हुन्छ। बेलाबेला सम्झाउँदै गर्नु पर्छ,’ उनले भने।

त्यसबाहेक लकडाउनमा उनी फिल्म हेर्ने, लुडो र पब्जी खेल्ने गरेर दिन काटिरहेको बताउँछन्।

‘फिल्महरु हेरेर बस्छु। प्राय साउथ इन्डियन मुभी हेर्ने गर्छु। पब्जी पनि खेल्छ। भर्खरै सिक्दैछु,’ लकडाउनको अनुभव साट्दै सिलवालले भने, ‘त्यसबाहेक लुँडो खेल्ने, सामाजिक सन्जाल चलाउने। तेस्तै त हो,’

‘भित्र बस्दाबस्दा कहिले बाहिर निस्कौं जस्तो भएको छ’ उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell