PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एउटा अरिङ्गाल बन्न चाहनेको मनोवाद : बालुवाटार नपुग्ने ठाउँमा किन पुग्दैछ मिडिया?



विधुर ढकाल

एउटा अरिङ्गाल बन्न चाहनेको मनोवाद : बालुवाटार नपुग्ने ठाउँमा किन पुग्दैछ मिडिया?

प्रधानमन्त्री ज्यू,

विश्व कोभिड-१९ को पान्डेमिकको चपेटामा परेको छ। नेपाल पनि स्वभाविक रुपमा नै परेको छ। तपाईँले चालेका हरेक कदम नेपालकै हितका लागि हुन् भनेर जनताले साथ दिएका पनि छन्। अरुले साथ दिए दिएनन् आफ्नो ठाउँमा होला, मैले चाहिँ दिएकै छु।

हामी जनता केही नदेखेका केही नपाएका न पर्‍यौं। औँलो दिँदा डुँडुलो निल्न खोज्छौं। फेरि हामीले भोट दिएर नै पठाएका हौँ लाग्छ। तपाईँ हाम्रै मान्छे हुनुहुन्छ। र, त तपाईँलाई आफ्नै ठानेर घुर्की लगाउँछौँ। तर, पनि साथ चाहिँ मेरो तपाईँलाई नै छ। अरुले साथ दिउन् नदिउन्। तपाईँका आफ्नै मन्त्रीले साथ दिउन् या नदिउन्, मेरो साथ तपाईँलाई नै।

लकडाउन लम्बिँदै गर्दा कोरोना भाइरसको संक्रमितको ग्राफ पनि बढ्दै गयो। यो मैले भनेको होइन तपाईँकै मन्त्रालयले भनेको हो। स्वास्थ्य मन्त्रालयमा त अझ तपाईँकै आफ्नै मान्छे हुनुहुन्छ। मन्त्रालयले जनतालाई संख्या बढ्दै गयो भनेर त्रास फैलाउने काम गरेको छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई असफल बनाउने षड्यन्त्रको रुपमा मैले बुझेको छु।

लकडाउन लम्बिँदै गर्दा काठमाडौंमा आफ्नो जिल्लाका नागरिक अलपत्र परे भन्दै तपाईँकै क्याविनेटका एक मन्त्रीले गाडी रिजर्भ गरेर आफ्नो गाम पठाउनु भयो रे! सामाजिक सञ्जालमा तस्विर पनि हाल्नु भएको छ। मलाई त पत्यार लागेन।

तपाईँले भनेको मलाई याद छ- 'अब नेपालमा कोही पनि भोकै पर्दैनन्। कोही पनि भोकले मर्दैनन्।'

तपाईँलाई सफल बनाउने मेरो जिम्मेवारी हो। म भोकले मरे पनि भोकले मरेँ भन्दिन्। तर, तपाईँका मन्त्रीले त्यस्तो भन्लान् जस्तो लाग्दैन। किनकि उनीहरु तपाईँलाई असफल पार्ने पर्यत्नमा जुटिरहेका छन्।

केही गरेनन्। केही गरेनन् भनिरहेका छन्, जनताहरु। म त तिनलाई जनता नै मान्दिन्। किनकि उनीहरु प्रतिपक्ष हुन्। प्रतिपक्षले असफल पार्न जे पनि बोल्न सक्छन्। जे पनि गर्न सक्छन् किनकि उनीहरुको ध्याउन्न भनेको तपाईँलाई असफल पार्नमा नै छ। तर, म भोको होइन खाली पेटलाई सुकेको मुखमा अलिअलि निस्किने थुकसँगै अमिलो डकारले भर्दै छु। किनकि मलाई भोकै मरेर तपाईँलाई असफल बनाउने छुट त कदापी छँदैछैन।

केही नपुगे भन्नु भनेर भन्नु भएको छ। तर, पनि म भन्दिन्। किनकि मलाई तपाईँलाई असफल बनाउनु छैन। मलाई सबचिज पुगेको छ।

सीमा नाका पारी धारचुलामा अलपत्र परेका नेपाली हुन् भनेर म भन्दै भन्दिन्। त्यसरी नेपाललाई धरापमा पार्ने पनि नेपाली हुन्छन्? म तिनीहरुलाई उद्धार गरेर ल्याउनुस् भन्दै भन्दिन्। तपाईँकै स्थानीय सरकारले यस्तै भनिरहेका छन् बरु।

नेपालमा अड्किएका दुई जना आफ्ना नागरिकलाई सिंगो जहाज चार्टर गरेर भुटानले आफ्नो देश फर्काउने मुर्खता गर्‍यो। मैले तपाईँलाई त्यस्तो मुर्खता गर्दै नगर्नुस् भन्छु। ल्याउनै परे जहाज पठाइँदिउला भन्नु भएको छ। अनि जाबो एउटा झोलुङ्गे पुलको ढोका खोल्नुस् त म भन्दै भन्दिन्।

तर, यहाँ मिडियाहरुलाई यही रमाइलो लागेको छ। रमाइलोकै लागि मानिसलाई सडकमा ओरालेर अभिनय गर्न लगाउँदै छन् मिडियाहरु। तपाईँको प्रश्न जायज हो प्रधानमन्त्री ज्यू। प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए? अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे? के यो रहस्यपूर्ण छैन र? पक्कै पनि रहस्यमय छ। बालुवाटर नपुग्ने ठाउँमा पत्रकार पुग्नु हुन्छ? यो के कुरा हो?

सरकार असफल बनाउन कुन तत्वले लगानी गरिरहेको छ, सहजै बुझ्न सकिन्छ। तपाईँले भन्नु भएकै छ - मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिऊँ। हेल्लो सरकार छ। या अरु माध्यम हुन सक्छन्। सीसीएमसीमा २० जना मान्छे २४ सै घण्टा स्ट्याण्डबाइ बसिरहेका छन्। त्यहाँ खबर गरौँ।

तर, यहाँ खबर नै गर्दैनन्। अझ प्रहरी पनि कस्ता? तपाईँकै आदेश नमान्ने? थानकोटमा पुगेका मानिसलाई खाली ट्रक रोकेर कोचेर बाहिर पठाउँदै छन्। अनि त्यही ट्रकका फोटो खिचेर मिडियामा हाल्दिने? यो तरिका हो? तपाईँलाई असफल बनाउने षड्यन्त्र भइरहेको छ।

चन्द्रागिरी नगरपालिकाले बस नै रिजर्भ गरेर पठायो रे! यो पनि तपाईँलाई असफल पार्ने षड्यन्त्र हो। अलपत्र कोही परेका छैनन् भनेर तपाईँले भन्दाभन्दै त्यत्रा मान्छे जम्मा पारेर नाटक गर्न लगाएर मानिसलाई बाहिर पठाएर फोटो खिचेर मिडियामा दिने हो त?

तपाईँले राम्रो गर्दागर्दै सरकारलाई विरोध गर्न अस्त्रहरु तयार गरेर खोल्दै छन् कुतत्वहरु। तपाईँले भन्नु भएकै छ - 'नेपालमा रोग या भोकले कोही मर्नु पर्दैन। यो देश भीखमङ्गाहरुको देश होइन।' अनि देशलाई नै भिखमंगा जस्तै गरेर प्रचार गर्ने? यो कस्तो षड्यन्त्र गरिरहेका छन् मैले बुझ्न सकिरहेको छैन।

हामी अरु देश जस्ता हौँ र चीन सरकाले दिन्छु भनेर लिने? अरुले सहयोग लिए भन्दैमा लिने? हामी त किनेरै लिन सक्छौं नि। करोडौं कमिसन पनि दिन सक्छौँ। त्यसैले म भन्छु प्रधानमन्त्रीज्यू यो तपाईँलाई असफल पार्ने षड्यन्त्र नै हो।

तपाईँलाई तपाईँकै अर्क को-पाइलटले नै असफल पार्न खोज्दैछन्। दुई तिहाईको सरकार हुँदा अर्को संयन्त्र गठन गर्न खोज्दै छन्। जनतासँग सपथ लिएको सरकार हो नि यो। अब अब एकाध दम्भपूर्ण अभिव्यक्तिले नेतृत्व गर्न पाइन, लोकप्रिय हुन पाइन भनेर कुन्ठा साँधेर संयन्त्र गठन गर भन्दैमा गर्ने हो र? अझ साथ पनि कसले दिएका छन् हेरन् मन्डलेहरुले।

तपाईँकै पार्टीका नेताहरु कस्ता भएका हुन् कुन्नी - १० दिनमा गाउँमा क्वारेन्टाइन घर बनाएँ भन्दै सामाजिक सञ्जालमा फोटो हाल्दै छन्। सरकारले केही गरेन भनेर देखाएर तपाईँलाई असफल बनाउन खोजेका त हुन नि तिनीहरुले।

डाक्टरहरु पनि तपाईँलाई असफल बनाउन खोज्दै छन्। जनतालाई सुरक्षित हुनुस् भनेर सचेत गराउने हो? सचेत कहाँ हो र त्यो त्रास पो हो त। पशुपतिनाथ भएको देश हो नि नेपाल। कोरोनालाई पशुपतिनाथले बचाइ हाल्छन् नि। हात धोउ मास्क लगाउ भन्ने हो? त्यसै बैज्ञानिक बन्न खोज्ने? बालुवाटारमा तपाईँ जस्तो बैज्ञानिक हुँदाहुँदै। यस्ता औषधी त नेपालीले जमानामा बनाएका थिए नि। वेद पुरण पल्टाएर भन्दिनु पर्‍यो उनीहरुलाई तातो पानी खान, बोसो पगाल्न्। विश्व स्वास्थ्य संगठनले विज्ञको रुपमा हायर गर्नुपर्ने मान्छे तपाईँलाई यहाँका जाबो अन्त कतै काम नपाएर करारमा तपाईँले दिएको सुको चाटेर बस्नेले तपाईँलाई सिकाउने हो? यो कस्तो तरिका हो - पूरै तपाईँलाई असफल बनाउने। 

दुईदुई पटक किड्नी फेल भएर प्रत्यारोपण गरेको मान्छे तपाईँलाई असफल बनाउन खोज्ने? यो कहाँको न्यायको कुरा हो? संसारमा कोही देशमा यस्तो प्रधानमन्त्री छ? नेपालमा छ भन्न त पाएका छौं नि हामीले। प्रधानमन्त्रीज्यू तपाईँ आफूले आफैलाई सिफारिस गर्न अली नसुहाउला, म सिफारिस गर्छु गिनिज बुकमा तपाईँको नाम लेख्नुपर्‍यो भनेर।

अब यति भनिसकेपछि म खाँटी अरिंगाल भइन त? म पनि तपाईँको सल्लाहकार हुने लाइनमा परिन त? लौ यसो कुरो बुझ्दिनुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell