अमेरिकाका नागरिकहरु लकडाउनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन्। विभिन्न प्रान्तका मानिसहरु कोरोना रोकथामको नाममा सबैकुरा ठप्प पार्नु सरकारको अनावश्यक निर्णय भन्दै नाराबाजीसहित सडकमा आएका हुन्।
जबकी कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ ७ लाख ८४ हजार ५९९ मा संक्रमण पुष्टि भइसकेको छ। कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४२ हजार १३८ पुगेको छ।
विरोधमा उत्रिएका एक समूहको नेताले बीबीसीसँग भने,'हाम्रो प्रान्त खुला गरियोस्। नत्र हामी आफै यसलाई खोल्न बाध्य हुन्छौं।'
सोमबारको ह्वाइट हाउस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधकर्ताको समर्थनमा बोले। भने,'उनीहरुको जीवन खोसिएको छ। यी मानिस आफ्नो देशलाई माया गर्छन् र काममा फर्कन चाहन्छन्।' भलै गभर्नरहरुले भने कोरोना संक्रमण अझै फैलने चुनौती कम नभएसम्म लकडाउन जारी राख्नु पर्ने बताएका छन्।
