
कोरोना भाइरस पान्डेमिकले संसारभरका राजनीतिक नेतृत्वको ठूलै परीक्षा लिइरहेको छ। सबै नेतृत्वले एकैखाले जोखिमको सामना गरिरहेका छन्, मात्र उनीहरुको कदम फरक छ। सबै आआफ्नो शैलीमा संकटसँग जुधिरहेका छन्। र, त्यसको नतिजाका आधारमा उनीहरु सफल असफल भएको मूल्यांकन पनि हुनेछ।
जर्मन चान्सलर एन्जेला मर्केल विज्ञानलाई मान्छिन् तर ब्राजिलियन राष्ट्रपति जैर बोल्सोनारो त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित ब्रिफिङमार्फत् चटक गर्दा डेढ अर्ब नागरिकलाई लकडाउनमा राखेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै नियमित ब्रिफिङ गरेका छैनन्।
यस्तैमा न्युजिल्यान्डकी ३९ वर्षीय प्रधानमन्त्री जासिन्डा आर्डेर्नले पनि काम गर्ने आफ्नै शैली पक्रिएकी छिन्। उनको नेतृत्व शैली हालको संकटको समयमा सहानुभूति बनेको छ जसले नागरिकको आत्मबल बढाउने काम गरेको छ। उनका लगातारका सन्देशहरु स्पष्ट त छन् नै, गम्भीर र सुखदायक पनि छन्। अनि उनका प्रयासहरु भावनात्मक रुपमा मात्रै होइन नीति निर्माण र कार्यान्वयनको कडी पनि बनेको छ।
‘मानिसहरुले आर्डेर्नले भाषण गरेको मात्रै ठान्दैनन्, उनीहरुकै माझमा भएको अनुभूति पनि गर्छन,’ १९९९ देखि २००८ सम्म न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी हेलेन क्लार्क भन्छिन्, ‘उनलाई सबैको साथ छ, त्यसकारण पनि उनमा उच्च विश्वास र आत्मबल छ।’
राजनीतिको सुरुवाती दिनहरुमा आर्डेर्नले लेबर पार्टीमा क्लार्कका रुपमा काम गर्ने गर्थिन्।
आर्डेर्नले सञ्चारमा डिग्री हासिल गरेकी बताउँदै क्लार्कले थपिन्, ‘उनी एक संचारकर्मी हुन्। यस्तो संकटले नेतृत्वलाई जोड्ने या तोड्ने काम गर्छ। जासिन्डालाई यसले जोड्नेछ।’
आर्डेर्नको एउटा नौलो काम भनेको निरन्तरको फेसबुक लाइभ च्याट हो, जुन अनौपचारिक र जानकारीमूलक हुने गर्छ। न्युजिल्यान्ड लकडाउनका लागि तयार हुँदै गर्दा मार्चको अन्त्यतिरको एउटा सेसनमा सामान्य लुगामा देखिएकी उनी घरबाटै लकडाउनको तयारीबारे निर्देश गर्दै थिइन्।
आपत्कालीन सन्देशका चेतावनीमूलक आवाजहरुले त्रसित मानिसहरुलाई उनी सहानुभूति दिँदै थिइन्। सामान्य जीवनयापन अब केही समयको लागि रोकिँदैछ भनेर भयभीत भएका नागरिकहरुलाई उनी सान्त्वना दिँदै थिइन्। यस्तोमा उनले केही सहयोगी अवधारणाहरु पनि प्रस्तुत गरिन्। जस्तो कि आफ्नो नियमित सम्पर्कमा रहने मानिसहरुलाई एउटा घेरामा राख्ने र आफूलाई कोभिड १९ को संक्रमण भएजस्तै गरी घेराभन्दा बाहिर रहेका मानिसका बारेमा सोच्ने। अति गम्भीर नीतिलाई पनि उनी व्यवहारिक रुपमा सम्झाउने गर्छिन् : सबैजना आफ्नै स्थानमा बस्नुपर्छ किनकि यदि दुर्गम क्षेत्रमा जाँदा गाडी बिग्रिँदाको अवस्थासँग तुलना गर्नुस् त, के हुन्छ? अभिभावकको रुपमा बालबालिकाले खेल्न नपाउँदाको पीडा उनले बुझेकी छिन् तर भाइरस सतहमा ७२ घण्टासम्म जीवित रहने कुरालाई पनि उनी नजरअन्दाज गर्न सक्दिनन्।
उनले त्यतिबेलै लकडाउन केही हप्तासम्म लम्बिने अपेक्षा गरिसकेकी थिइन्। र, मानिसहरु घरभित्रै बसे पनि संक्रमणको दर उकालो लाग्ने कुरा पनि उनलाई थाहा थियो।
उनले भनेकी थिइन्, ‘भाइरसको प्रकृति नै यस्तो छ कि सेल्फ आइसोलेसनमा बस्नुको महत्व कम्तिमा १० दिनसम्म देखिँदैन। त्यसैले निराश नहुनुहोस्।’
उनले हालसालै फेसबुक लाइभमार्फत् सरकारले लकडाउन खुला पारेपछिको जीवनयापनबारे बयान गर्दैगर्दा एक कर्मचारी उनको अफिसभित्र छिरे। उनले ती कर्मचारीको परिचय दिँदै उनी कर्मक्षेत्रको घेरामा रहेको बताएकी थिइन्। उनको डेस्क पछाडि बच्चाको खेलौना पनि देखिन्थ्यो। सो दृश्यले काम र व्यक्तिगत जीवनको टक्कर हुने अबको युगको झल्को दिएको थियो।
उनले उच्च अधिकारी तथा पत्रकारहरुका माझ नियमित ब्रिफिङ गरिरहँदा पनि त्यसमा आफ्नो फरक व्यक्तिगत शैली प्रस्तुत गरिरहेकी हुन्छिन्।
‘ट्रम्पले पनि आफ्नो ब्रिफिङ गरिरहेका हुन्छन् तर त्यो भिन्दै खालको छ,’ अमेरिकी राष्ट्रपतिले पत्रकारविरुद्ध आक्रोश पोखेको सन्दर्भमा क्लार्क भन्छिन्, ‘पत्रकारले प्रश्न सोधेकै भर जासिन्डा उनीमाथि खनिएको कुनै त्यस्तै घटना छैन।’
केही समय अघिको ब्रिफिङमा एक जना पत्रकारले आफ्नो प्रश्न भुल्दा आर्डेर्नले ठट्टा गर्दै आफू उनको निन्द्रा नपुगेको प्रति चिन्तित रहेको बताएकी थिइन्।
‘उनी गलत सूचना प्रवाह गर्दिनन् र कसैलाई दोषारोपण पनि गर्दिनन्। उनले आश्वासनमार्फत् सबैको अपेक्षाको सम्बोधन गर्ने गर्छिन्,’ वेलिङटनको भिक्टोरिया युनिभर्सिटीका कूटनीतिक विज्ञ भान ज्याकसन भन्छन्, ‘समाजलाई सकारात्मकतर्फ लैजान उनी आफ्नै शासकीय अधिकारको प्रयोग गर्छिन्। एक अर्काप्रति दयावान बन्ने जस्ता कुरा सिकाउँछिन् उनी।’
आर्डेर्नको व्यवहारिक र अनौपचारिक शैलीले नीति निर्माण र कार्यान्वयनमा सकारात्मक र प्रेरणादायी नतिजा दिएको छ।
गत मार्चदेखि नै कोरोना भाइरसको केसलाई कम गर्ने मात्रै होइन भाइरसलाई निस्तेज पार्ने राष्ट्रिय उद्देश्य प्राप्तिमा न्युजिल्यान्ड नौलो देखिएको छ। सोही दिशामा उसले काम गरिरहेको छ। कोभिड-१९ को परीक्षणलाई विस्तार गरिएको छ। यसले स्वास्थ्य प्रणालीमा भार पारेको छैन। अप्रिलको सुरुवातमा नयाँ केसको संख्या उच्च थियो। ५० लाख जनसंख्यामध्ये यो समाचार तयार पार्दासम्म १२ जनाको मृत्यु भएको छ।
दक्षिणी प्रशान्त महासागरको पुछारमा अवस्थित टापु भएकाले पनि कोरोना भाइरस नियन्त्रणमा न्युजिल्यान्ड भाग्यशाली बन्यो।
‘हामी कहाँ थोरै केसमात्रै आइपुगेकाले पनि यसको उन्मूलनमा हामीले काम गर्न सक्छौँ,’ क्लार्कले भनिन्, ‘पृथ्वीको परिधीमा रहनु पक्कै पनि हाम्रो लागि फाइदाजनक बन्यो, संसारमा के भइरहेछ भनेर हामीले राम्रोसँग हेर्न सक्छौँ।’
तर, आर्डेर्नको सरकारले तत्काल निर्णायक काम पनि गरेको थियो। न्युजिल्यान्डमा अन्य देशहरु भन्दा निकै चाँडो लकडाउनको घोषणा गरिएको थियो। उसले फेब्रुअरीको सुरुवातमा नै चीनबाट मानिसहरुलाई आउन प्रतिबन्ध लगाएको थियो, जतिबेला न्युजिल्यान्डमा एउटा पनि केस देखिएको थिएन। मार्चको बीचतिर केही केसहरु देखा पर्दा न्युजिल्यान्डले गैर नागरिकहरुका लागि आफ्नो सीमा बन्द गरिसकेको थियो।
सरकारका महत्वाकांक्षी रणनीतिहरु असफल हुने अवस्था रहे पनि सुरुवाती समयमा चालिएका कदमहरुले कोरोना भाइरस संक्रमण फैलिन नदिन संयन्त्रको विकासको लागि प्रशस्त समय बनेको न्युजिल्यान्डका वरिष्ठ जनस्वास्थ्य विज्ञद्वय माइकल बेकर र निक विलसनले बताए। उदाहरणको लागि देशको सीमामा क्वारेन्टाइन गर्ने र काभिड-१९ परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङलाई बिस्तार गर्ने।
कूटनीतिज्ञ भान ज्याकसनका अनुसार आर्डेर्न सरकारले जारी गरेको चार तहको चेतावनी प्रणाली (अलर्ट सिस्टम)ले मानिसलाई यो संकटको गम्भीर अवस्थाको लागि मनोवैज्ञानिहरु रुपमा तयार गरेको थियो।
यस सफलताका पछाडि पक्कै पनि आर्डेर्नको मात्रै हात भने छैन। जनस्वास्थ्य संस्थाहरु, प्रतिपक्षी पार्टी, तथा सामाजिक दुरीको नियम पालना गर्ने सम्पूर्ण न्युजिल्यान्डवासीको संयुक्त प्रयासबाट मात्रै यो सम्भव भएको हो।
तर, सो एकता कहिलेकाही तरङ्गित पनि देखिन्छ। सरकार आर्थिक अवस्थालाई उकास्ने प्रयासमा देखिए पनि विरोध गर्नेहरुको कमी छैन। विपक्षी पार्टीका केही नेताहरु तथा स्वास्थ्यकर्मीहरुले यो हप्ता खुकुलो पारिने अपेक्षा गरिएको लकडाउन हटाउनुपर्नेमा जोड दिइरहेका छन्। अस्ट्रेलियाले कडा लकडाउन बिना नै नयाँ संक्रमण घटाएको उदाहरण दिँदै उनीहरुले सरकारले चाहिनेभन्दा बढी गरेको आरोप लगाएका छन्।
‘यसमा आर्डेर्न पनि बाराक ओबामाजस्तै बनेकी छन्, देश बाहिर लोकप्रिय र स्वदेशमा विवादित,’ ज्याक्सन भन्छन्, ‘तर उनलाई संकटमा साथ दिने अन्य समयभन्दा धेरै छन्।’
मार्केट रिसर्च फर्म कोल्मार ब्रुन्टोनले अप्रिलको सुरुवातमा गरेको एक अध्ययनमा काभिड-१९ विरुद्ध सरकारका निर्णयमा ८८ प्रतिशत न्युजिल्यान्डका नागरिकले विश्वास गरेको पाइएको थियो। त्यस्तै ८४ प्रतिशत नागरिकले पान्डेमिकविरुद्धको सरकारको प्रतिकार्य स्वीकृत गरेका थियो। यो संख्या अमेरिकालगायत विश्वका अन्य सात ठूला अर्थतन्त्र भएका देशहरु भन्दा धेरै हो। आर्थिक असहजताका बावजुद पनि धेरै नागरिकहरुले आर्डेर्न सरकारका नीतिहरुको समर्थन गरेका थिए।
आर्डेर्न र अन्य युरोपेली मुलुकका युवा नेतृत्वले कोराना भाइरसको संकटमा सही मार्गनिर्देश गरे पनि यसपछि देखिने नतिजाहरुलाई यी युवा नेतृत्वले कसरी लिन्छन् भन्ने बारे कूटनीतिज्ञ भान ज्याकसन चिन्ता व्यक्त गर्छन्।
‘रणनीतिक निर्णय र संकटका बेला लिइने निर्णय बिलकुल फरक कुरा हुन्,’ उनले भने, ‘आगामी वर्षहरुमा विश्व पूरै परिवर्तन हुनेछ, विशेषगरी नकरात्मक रुपमा। ठूलो उदासिनता सर्वत्र छाउने देखिन्छ। चीनको रणनीतिक अवसरवादलाई कुनै सीमाको ख्याल छैन। सबैतिर तानाशाहहरु यो पान्डेमिकलाई अस्त्र बनाइ समाजमा कब्जा जमाउने दाउमा छन्। बहुपक्षीय संस्थाहरुले अपेक्षाकृत नतिजा दिन सकिरहेका छैनन्। यस्ता संकटको सामना गर्नु नयाँ विश्वको लागि बहादुरी सावित हुनेछ।’