
काठमाडौं : काठमाडौं जिल्ला प्रहरी प्रमुख बिहीन भएको छ। देशको केन्द्रीय राजधानी समेत रहेकाले यहाँ जिम्मेवारी पाउने प्रहरीलाईलाई विशेषरुपमा हेरिन्छ।
काठमाडौं जिल्लाका प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी उत्तमराज सुवेदीको बढुवा भएपछि निमित्तले नै काठमाडौं परिसर चलाइरहेका छन्। गृह मन्त्रालयमा चैत ८ गते बसेको बढुवा समितिले १० जना एसएसपीको बढुवा गरेको थियो। त्यही बढुवामा सुवेदी पनि परेका हुन्।
कोरोना संक्रमणको कारण देश २९ दिनदेखि लकडाउनमा छ। सडकमा सुरक्षाकर्मी लकडाउन पालना गराउन खटिएका छन्। संकटको समयमा प्रहरी प्रमुखको भूमिका अहम हुन्छ। परिसरमा एसपी सोमेन्द्र राठौरले निमित्त प्रमुखको भूमिका सम्हालिरहेका छन्।
त्यस्तै, महानगरीय अपराध अनुसन्धान महाशाखामा पनि प्रमुख विहीन भएको छ। महाशाखाका प्रमुख रहेका एसएसपी सहकुल थापा पनि चैत ८ गतेको बढुवा नै परे। सोमवार प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक ठाकुर ज्ञवालीले दर्ज्यान्ही चिन्ह प्रदान गरेका थिए। त्यस्तै थापाको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)मा पदस्थापना भएको छ।
तीन जिल्लाको अपराध अनुसन्धान हेर्ने महाशाखाको जिम्मेवारी एसपी हृदय थापाले सम्हालेका छन्। देशमा भएको लकडाउनको कारण अपराध सङख्या न्युन छ। तर, अपराध भइहालेको समयमा के गर्ने? पुराना घटनाको अनुसन्धान गर्न पनि प्रमुखको भूमिका अहम् हुन्छ।
कसले पाउँला जिम्मेवारी?
एसएसपीको दरबन्दी रहेको काठमाडौं जिल्लाको प्रहरी प्रमुख हुन योग्यता पुगेका सबै प्रहरीको चाहना हुने गर्छ। चुनौति र अवसर दुवै भएको जिल्ला भएकाले पनि काठमाडौंको एसएसपी हुन धेरै दौडधुप गर्ने गरेका विगत पनि छन्।
अहिले पनि काठमाडौं प्रहरी परिसर र महाशाखाको प्रमुखको जिम्मेवारी लिन एसएसपी दौडधुपमा छन्। तर, बाजी कसले मार्छ भन्ने मात्र हो। अहिले काठमाडौं प्रहरी परिसरको प्रमुखको पहिलो दाबेदारमा छन् एसएसपी श्याम ज्ञवाली।
२०७४ माघ २६ गते १४ जना एसपीको बढुवामा चौथो नम्बरमा बढुवा भएका थिए। गृह मन्त्रालयले एसएसपी ज्ञवालीलाई नै पहिलो प्राथमिकतामा राखेर काठमाडौं प्रहरी प्रमुखमा पठाउने तयारी गरेको छ। तर ज्ञवाली महानिरीक्षक ठाकुर ज्ञवालीका भाइ भएकाले ल्याइहालेमा पनि आलोचना हुने सम्भावना उत्तिकै छ।
त्यस्तै, एसएपी रामदत्त जोशी, किरन बज्रचार्य, उमेशराज जोशी लगायत पनि परिसर आउने सम्भावनामा छन्।
यता, महानगरीय अपराध महाशाखामा भने एसएसपी दीपक थापा पठाउने तयारी भइरहेको स्रोतको दावी छ। उनी पनि ज्ञवालीसँगै माघ २६ मा सातैं नम्बरमा बढुवा सूचीमा परेका हुन्।