PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

उत्तर कोरियाली नेता किम जोङलाई के भयो? समस्या हर्टमा कि ब्रेनमा?



पहिलोपोस्ट

उत्तर कोरियाली नेता किम जोङलाई के भयो? समस्या हर्टमा कि ब्रेनमा?

काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था नाजुक बनेको र मृत्युको मुखमा रहेको भन्दै सिएनएनले रिपोर्ट सार्वजनिक गरेको छ।

अमेरिकी अधिकारीलाई उदृत गर्दै सिएनएनले किम ‘ग्रेभ डेन्जर’मा रहेको जनाएको छ।

किमको हालै मात्र शल्यक्रिया भएको र त्यसैका करण उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको बताइएको छ।

हालैमात्र किम अप्रिल १५ मा आफ्ना हजुरबुबाको जन्मजयन्ती समारोहमा सहभागी भएका थिएनन्। उत्तर कोरियाका संस्थापक नेताको जन्मजयन्ती हरेक वर्ष भव्य रुपमा मनाइँदै आएकोमा यस वर्ष त्यस्तो भव्यता देखिएको थिएन।

किम त्यसको चार दिन अगाडिमात्र पार्टी कमिटीको बैठकमा उपस्थित भएका थिए। अर्का अमेरिकी अधिकारीले उनको स्वास्थ्य अवस्थाबारेमा चासो भए पनि सूचना पहुँचमा कठिन भएको बताएका छन्।

दक्षिण कोरियाबाट उत्तर कोरियाको विषयमा लेख्ने डेली एनकेले उनको मुटुको शल्यक्रिया भएको दाबी गरेको छ।

आफ्ना स्रोतलाई उदृत गर्दै एनकेले उनको शल्यक्रिया अप्रिल १२ मा भएको जनाएको छ। उनको हियाङसान अस्पतालमा श्लयक्रिया भएको र उनी त्यही नजिकैको भिलामा आराम गरिरहेको उल्लेख छ।

प्योङयाङको किम मान यो अस्पतालका चिकित्सकहरुले उनको शल्यक्रिया गरेको बताइएको छ। त्यस्तै कोरियन रेडक्रस अस्पताल र प्योङयाङ मेडिकल युनिभर्सिटिका चिकित्सकहरुले उनको हेरचाह गरिरहेको रिपोर्टमा उल्लेख छ।

उनको सुरक्षाका लागि ३० जना निजी सुरक्षा टोली भिल्लामा बसेको र यसअघि भिल्लाको सुरक्षा हेरिरहेका सुरक्षा अधिकारीहरुलाई सरुवा गरिएको उल्लेख छ।

रिपोर्टमा उनको मुटुको शल्यक्रिया विभिन्न कारणले भएको उल्लेख छ। मोटोपना, अधिक धुमपान र अधिक कामका कारण उनमा समस्या आएको बताइएको छ जसले शल्यक्रियाको अवस्था निम्त्यायो।

किम गत अगस्ट देखि रक्त नली सुन्निने समस्या झेलिरहेका थिए। तर, उनको अवस्था हालै माउन्ट पाइकेटुमा पटकपटकको भ्रमणपछि बिग्रिँदै गएको रिपोर्टमा उल्लेख छ।

स्रोतलाई उदृत गर्दै एनकेले अप्रिल १२ मा प्योङयाङबाट हेलिकोप्टर बाहिरिएको सँगसँगै किमले प्रयोग गर्ने कार पनि बाहिरिएको दाबी गरेको छ। पार्टीको पोलिटव्यूरो कमिटीको बैठकको अर्को दिन नै उनले प्योङयाङ छाडेको दाबी गरिएको छ। उनको हेलिकोप्टर र कारले प्योङयाङ छाडे पनि उनी केमा गएका हुन खुलेको छैन।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका अधिकारीहरुले यस विषयमा जानकारी दिन अस्वीकार गरेका छन्। उनीहरुले सुरुमा दक्षिण कोरियाबाट खुलाउन चाएको सिएनएनले जनाएको छ।

विश्वभरबाट सूचना संकलन गर्न सक्ने अमेरिकाका लागि पनि उत्तर कोरियाबाट सूचना निकाल्न हम्मेहम्मे पर्ने गरेको छ। अझ आफ्ना नेताको बारेमा सूचनामा पहुँच त्यहीँका जनतामा पनि कमै हुने गरेको छ। किम गत अप्रिल ११ मा त्यहाँको सरकारी मिडियामा उपस्थित भएका थिए। अप्रिल १५ मा मनाइएको उत्तर कोरियाका संस्थापक किम इल सङको जन्मजयन्तीमा उनी उपस्थित भएनन्।

उनी किन अनुपस्थित भए भन्ने पनि खुल्न सकेको छैन।

किमको स्वास्थ्यको विषयलाई लिएर अहिले हल्ला भइरहेका छन्। धुमपान, मुटु, ब्रेन। यदि उनी अस्पतालमा भर्ना भएका हुन् भने यसले अप्रिल १५ को उत्सवमा किन आएनन् भन्ने प्रश्नको उत्तर दिन्छ,’ सीआइएका पूर्व उत्तर कोरिया डिभिजन उपप्रमुख तथा हेरिटेज फाउन्डेसनका रिसर्च फेलो ब्रुस क्लिङगरले भने, ‘वर्षै भरी किम जोङ उन र उनका पिताकै बारेमा पनि धेरै हल्लाहरु हुने गरेका छन्। हामीले पर्खिएरै हेर्नुपर्छ।’

२००८ मा उत्तर कोरियाको ६० औं स्थापना दिवसको परेडमा नेता किम जोङ इल अनुपस्थित हुँदा उनको स्वास्थ्य अवस्थाको विषयमा पनि यस्तै चर्चा थियो। त्यतिबेला उनलाई हृदयघात भएको पछिमात्र खुलेको थियो। त्यसपछि उनको अवस्था क्रमिक रुपमा नाजुक हुँदै गयो र २०११ मा मृत्यु भएको थियो।

यसअघि किम जोङ उन पनि २०१४ मा लामो समयसम्म सार्वजनिक रुपमा देखिएका थिएनन्। त्यतिबेला पनि उनको स्वास्थ्यको विषयमा यस्तै हल्ला आएको थियो। पछि उनी खेलाडीको भेषमा देखिएका थिए। त्यसको केही दिन पछि उत्तर कोरियाको गुप्तचर संस्थाले उनको कुर्कुच्चाबाट सिस्ट निकालिएको जनाएको थियो।

दक्षिण कोरियाको योनसेइ विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्रध्यापक जोन डेलुरीले यस पटक पनि गलत हुने सम्भावना बढी रहेको बताएका छन्।

सिएनएनको रिपोर्ट आएसँगै दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाली नेताको स्वास्थ्य सम्बन्धी असामान्य संकेत नदेखेको बताएका छन्।

दक्षिण कोरियाको युनिफिकेसन मन्त्रालयका अधिकारीहरुले रिपोर्टमा आए जस्तो विश्वसनीय संकेतहरु नदेखिएको बताएका हुन्।

यता, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले पनि त्यस्तो कुनै संकेत फेला नपरेको जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता काङ मिन सियोकले सार्वजनिक गरेको वक्तव्यमा भनेका छन्, ‘हामीलाई उत्तर कोरियामा त्यस्तो असामान्य संकेत फेला परेको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell