PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

कोरोनाले बिर्साएको 'अतिथि देवो भव'



पहिलोपोस्ट

कोरोनाले बिर्साएको 'अतिथि देवो भव'

'बाँचिएछ भने भेटिराखौंला। अहिलेलाई काम नपरी नआउनु होला।'

घरको मुल ढोकामा टाँसिएको यस सूचनाले मानिसमा कोरोना भाइरस संक्रमणको त्रास इंकितगर्छ। पढ्दा/सुन्दा तीतो लागे पनि सामाजिक, शारीरिक वा भौतिक दूरी कायम गर्नका लागि उचित उपाय भने हो। जसले फरक ठाउँबाट आएका व्यक्तिसँगै आएको भाइरस संक्रमण सर्ने सम्भावनालाई ढोकाबाटै बिदा गर्छ।

तर, त्रासका कारण लेखिएका यस्ता सूचनाले नेपालीको पाहुना स्वागतको संस्कारमा भने पक्कै केही असर गरेको छ।

घरमा कोही पाहुना आउँदैछन् भने कोठादेखि आँगनसम्मै सफा गर्ने, जालो झार्ने, झारपात उखेल्ने, लिपपोत गर्ने चलन छ। साँझमा आएको पाहुनालाई फर्काउनु हुन्न भन्ने मान्यता पनि धेरैले पालन गर्छन्। तर कोरोना कहर – आउनेलाई घर बाहिरै रोक्नुपरेको छ।

सामान्य अवस्थाको त कुरै छाडौं चाड पर्वहरु पनि प्रभावित छन्। होलीमा मानिसहरु सँगै रमाउन पाएनन्। चैते दशैंमा पनि अवस्था उस्तै। मातातीर्थ औंशी आइसकेको छ। माइती जाने, आमालाई भेट्ने चलन मान्ने विवाहित महिलाहरु पनि छन्। यो पटक त्यो दिनको विशेष भेट सम्भव नहुने निश्चित छ। किनकि कोरोनाको त्रास छ। त्यसमाथि लकडाउन पनि।

एक घरको गेटमा टाँसिएको सूचनामा लेखिएको छ : 'अति आवश्यक परिस्थितिमा बाहेक यस घरमा प्रवेश नगरिदिनु होला र नगराइदिनु होला। यदी प्रवेश गरिहाल्नु परे मास्‍कको प्रयोग गर्नुहोला।'

यस्तो सूचना एकअर्काको सुरक्षाका लागि जारी गरेको समेत जनाइएको छ। त्यसमा डेरामा बस्नेहरुलाई आफ्नो सवारी साधन मात्र कम्पाउन्डभित्र राख्न समेत अनुरोध गरिएको छ।

'आफू पनि सुरक्षित रहौं। अरुलाई पनि सुरक्षित राखौं' भन्दै टाँसिएको सूचनामा लेखिएको छ 'यस सुरक्षाप्रति कसैलाई आपत्ति भए क्षमाप्रार्थी छौं।'

घरभित्र भएका कोही बाहिर ननिस्किन र बाहिरबाट कोही भित्र नछिर्न आग्रह गरेका यी सूचनाहरुले 'अतिथि देवो भव'को भाव पक्कै बिर्साएको छ। तर यो यस संकटकालमा आवश्यक प्रयास भने पक्कै हो। मानिस सावधान र सतर्क हुँदैछन् भन्ने उदाहरण पनि हो।

तर उदाहरणीय बन्ने होडमा मृत्युको भय देखाउनु कति सही कति गलत?

एक घरको ढोकामा लेखिएको छ: 'इटालीमा लास उठाउने आफन्त पनि भएनन्। हाम्रोमा त्यो अवस्था नआओस्। त्यसैले घरभित्रै बसौं मृत्युलाई रोकौं।'

त्यस्तै केही सूचना भने व्यङ्ग्यात्मक लाग्छन् : 'घरभित्र बसौं। अरुलाई पनि बचाऔं। यो कुरा जनावरमा लागू हुँदैन।'

'धिक्कार ती मानिसलाई जो संकटको यस घडीमा घरभित्र नबसी बाहिरै बस्छन्।'

घरघरका कुरा बेग्लै नेपाल सरकार विश्वभरका अतिथि स्वागत गर्ने तयारीमा थियो। भ्रमण वर्ष २०२० बनाएर। पर्यटन मन्त्री योगेश भट्टराईले विभिन्न कार्यक्रममा आम नागरिकदेखि हरेकलाई 'अतिथि देवो भव' अनुशरण गर्न आग्रह गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले त भ्रमण वर्ष २०२० नै लक्षित गरी कर्मचारीहरुलाई आन्तरिक तथा वाह्य पर्यटकसँग गर्नु पर्ने व्यवहारबारे प्रशिक्षण नै दिएको थियो।

तर, कोरोना संक्रमणकै कारण भ्रमण वर्ष पनि स्थगित भयो। बीस लाख विदेशी अतिथि स्वागत गर्ने योजना पनि स्थगित भयो।

यसरी वाह्य मानिस स्वागत नगर्ने, सामाजिक दूरी कायम राख्ने, अत्यावश्यक बाहेक अन्य अवस्थामा भेटघाट नगर्ने प्रयासले कोरोना फैलन नदिन योगदान पक्कै पुर्‍याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell