
काठमाडौं : सरकारले लकडाउन घोषणा गरेपछि साइकलमा नै गाँउ फर्किँदै गरेका दुई जना मजदुरको लडेर मृत्यु भएको छ। भारतको मोतिहारी घर भएका दुई जना युवकको गत चैत १७ गते साइकबाट भीरमा खस्दा मृत्यु भएको खुलेको हो।
भारत मोतिहारीका मुकेश गुप्ता र सन्तोष महतोको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण ओझाले जानकारी दिए। 'साइकलको गति ओभरस्प्रिड भएर रोक्न नसकेका कारण भीरमा खसेर मृत्यु भएको हो,' डिएसपी ओझाले भने। साइकल भीरबाट करिब २ मिटर तल खसेको थियो। सुरक्षाकर्मी र स्थानीयले उद्धार गर्दा उनीहरुको मृत्यु भइसकेको थियो।
चापागाउँबाट झन्डै २० किलोमिटरको दुरीमा पर्ने वाग्मती गाउँपालिकाको ५ नम्बर वडा स्थित इकुटोलमा साइकल दुर्घटना भएको थियो। उनीहरु सँगै अन्य दुई आफन्त पनि गाँउ जान हिँडेका थिए।
उनीहरु दुवैजना नेपालमा कवाडीको सामान बिक्री गरेर जिविकोपार्जन गर्दै आएका थिए। सरकारले लकडाउन घोषणा गरेपछि चैत १७ गते बिहान उनीहरु साइकल नै लिएर भारत जान निस्किएका थिए।
त्यस्तै, केही दिनअघि धादिङ ज्वालामुखी गाउँपालिकाका होमबहादुर रानामगर पुलमा लगाएको पर्खाल नाघ्ने क्रममा लडेर मृत्यु भएको थियो।