
काठमाडौं : समाजवादी पार्टीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन अध्यादेशलाई सत्ता, शक्ति र आर्थिक चलखेलमा पार्टी फुटाउने अस्त्र भएको टिप्पणी गरेको छ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार विज्ञप्ति जारी गर्दै लोकतन्त्र, संविधानको मर्म तथा भावनाविपरित र देश र जनताको हितविरुद्ध ल्याइएको अध्यादेशको उद्देश्य राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने रहेको र यसले लोकतन्त्रलाई समाप्त पार्ने तथा देश पनि दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।
जनहित विपरितका अध्यादेश फिर्ता हुनुपर्ने समाजवादीको माग छ।
'यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने देखिन्छ। यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ,' विज्ञप्तिमा भनिएको छ।
त्यस्तै समाजवादी पार्टी संसदीय दलका उपनेता सरिता गिरीले पनि अध्यादेश तुरुन्तै फिर्ता गर्न माग गरेकी छन्।