
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउनका कारण चरम समस्यामा परेका सबैखाले वर्गका लागि नि:शुल्क खाना खुवाउने क्रम जारी छ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, ६ र ८ का विभिन्न संघ संस्थाहरुले विपन्न वर्गकालाई यसरी नि:शुल्क खाना खुवाएर उदाहरणीय कार्य गरेका छन्।
गोकर्णेश्वर–५ स्थित सुन्दरटोलमा दुई हप्ताको अवधिमा निरन्तर बिहान र बेलुका गरी १० हजारभन्दा बढीलाई निःशुल्क खाना खुवाइएको छ। यस अभियानमा स्थानीयले तन, मन, धन सबै दिएर लगातार सहयोग गरिरहेको स्थानीय हिरामान शाहीको भनाइ छ।
लामो समयदेखि समाजसेवामा क्रियाशील नयाँबस्ती युवा क्लबले पनि स्थानीय जनप्रतिनिधिहरुको सहयोग तथा समन्वयमा लक डाउनका कारण समस्यामा परेकाहरुलाई निशुल्क खानाको व्यवस्था गरिरहेको छ। क्लब प्रांगण वरपर खाना खान आउनेहरुको बाक्लो भिड लाग्ने गरेको छ।
नारायणटार युवा क्लबले पनि गोकर्णेश्वर–६ स्थित चामुण्डा स्कुल परिसरमा निम्न आय भएका, ज्याला मजदुरी गर्ने वर्गलाई लक्षित गरी विहान बेलुकी निशुल्क भोजनको व्यवस्था गरेको स्थानीय आकाश अर्यालले जानकारी दिए।
दैनिक ज्याला मजदुरी गर्ने बाहेक नारायणटार आसपास ठूलो संख्यामा रहेका फरक क्षमता भएकाहरु समेत खानाका लागि चामुण्डा मावि पुग्ने गरेका छन्।
गोकर्णेश्वर नगरपालिका–८ को पहल तथा वेशीगाउँ युवा समूह, छहारी युवा क्लब, अत्तरखेल युवा समाज, डाँडा गाउँ टोल सुधार समिति र मासिक सय अभियान नेपाल संस्थाको सक्रियतामा वडाका विभिन्न स्थान दैनिक सयौंलाई खाना उपलब्ध गराउने व्यवस्था मिलाइएको स्थानीय राजेश दाहालले बताए। यस अभियानमा स्थानीय दाताहरुले पनि लगातार सहयोग गरिरहेको दाहालको भनाइ छ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित लोक कल्याणकारी युवा समुहले विन्दवासिनी मन्दिर पधेरापाखामा गरिब दिनदुःखीका लागि विहान एक छाक खाना खुवाउने कार्य गरिरहेको स्थानीय श्रीराम बरालले जानकारी दिए। यसरी निशुल्क खाना खुवाउने अभियानमा स्थानीय निकायसँगसँगै, दाताहरु, विभिन्न संघ संस्थाहरु, टोल सुधार समिति, गुठी लगायतले सहयोग गरिरहेका छन्।