
काठमाडौँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले लकडाउनको विकल्प खोज्नुपर्ने सुझाएका छन्। मंगलबार उपत्यकाका सासदहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भिडियो संवादमा लकडाउन खकुलो बनाउनुपर्ने सुझाव दिएका हुन्।
उपत्यकाका सांसदहरुले वरिष्ठ नेताको हैसियतमा नेपाललाई सबै क्षेत्रको अवस्थाबारे ब्रिफिङ गरेका हुन्। नेपाल काठमाडौँ २ बाट निर्वाचित सांसद् हुन्।
नेपाल र सांसदबीच कोरोना उपचार रोकथाम र नियन्त्रणका बारेमा सम्वाद भएको थियो। भिडियो कन्फ्रेन्समा सहभागी काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठले लकडाउनलाई खुकुलो पार्नुपर्ने सुझाव दिइएको जानकारी दिए।
'निरन्तर लकडाउनमात्र भनेर हुँदैन। सुरक्षाका उपाय अपनाउँदै, समाजिक दूरी कायम गर्दै यसलाई खुकुलो बनाउँदै जानुपर्छ। जनजीवनलाई विस्तारै समान्यीकरण गर्दै लैजानुपर्छ। त्यसो नगरिए धान्नै नसक्ने अवस्था पनि आउन सक्छ' श्रेष्ठले भने।
आगामी दिनमा उत्पादन क्षेत्रलाई ध्यान दिई सामाजिक गतिविधि सञ्चालन गर्नुपर्ने जोड सांसदहरुले दिएका छन्।
'खेतीपातीको सिजन सुरु भएको छ। उत्पादन क्षेत्रमा विशेष जोड दिनुपर्छ। खेतीबाली गर्न किसानलाई सहज बनाउनुपर्छ। समाजिक गतिविधि सञ्चालन गर्न सहज बनाउने विकल्बारे सोच्ने बेला आएको छ भन्ने कुरा उठेका छन्' उनले भने।
छलफलमा ठूलो जनघनत्व रहेको रहेको काठमाडौँलाई सुरक्षित गर्नेतर्फ पनि सोच्नुपर्ने सुझाव दिएका थिए। सांसदहरुले घर जानका लागि बाटोमा अलपत्र परेकाहरुको विषयमा समन्वय गर्न जरुरी रहेको बताएका थिए।
वरिष्ठ नेता नेपालले सांसदहरुको सुझाव सरकारसमक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
'हाम्रा सुझावहरुलाई सरकारसमक्ष पुर्याउन भनेका छौँ। उहाँले समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ' श्रेष्ठले भने।