
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको कार्यालयले संविधानविपरित बदनियतपूर्वक ल्याइएका अध्यादेशहरु तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।
प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको विषम परिस्थितिको फाइदा उठाउँदै सरकारले हतारहतार ल्याइएको संवैधानिक परिषद सम्बन्धी संशोधन र राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश खोरज गर्न माग गरेका हुन्।
'कोरोना भाइरस नियन्त्रण र उपचारका लागि स्वास्थ्य सामग्री तथा उपकरणको व्यवस्था गरी परीक्षण एवं उपचार कार्यलाई तीब्रता दिने, बाटोमा अलपत्र भएका नागरिकको बासोवास एवं खानपिनको व्यवस्था तथा विदेशमा रहेका कोरोना भाइरस पीडित नेपालीको उद्धार तथा संरक्षण गर्ने बेला सरकारले गलत नियतका साथ संविधानको मूल मर्म र भावना विपरित अध्यादेशहरु जारी गर्नु आपत्तिजनक छ,' विज्ञप्तिमा भनिएको छ।
संविधानका प्रावधानलाई उल्लंघन गर्दै जारी भएको अध्यादेशले संविधानलाई नै चुनौती दिएको भन्दै कांग्रेस संसदीय दलले लोकतान्त्रिक संविधान प्रतिकूल, यसका भावना र मर्म विपरितका कुनै पनि अध्यादेश जारी नगर्न र भविष्यमा त्यस्ता विधेयकहरु नल्याउन सरकारलाई सचेत समेत गराएको छ।
'संकटको यस घडी सबै स्वार्थ भन्दा माथि उठेर देश र आमनागरिकको जीवन रक्षाको लागि नेपाल सरकारलाई गतिशिल रहन नेपाली कांग्रेस आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ।