
काठमाडौं : उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मदरसाहरुमा अनुगमन थालिएको छ। मुस्लिम आयोग आफैँले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो।
मंगलवार उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहित मुस्लिम आयोगको टोलीले मंगलवार काठमाडौंको घण्टाघरस्थित मस्जिद र मदरसामा अनुगमन गरेको हो। मस्जिदमा अनुगमनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताए।
उनले अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको बताएका छन्। दुवै ठाउँमा चार/चार जना धर्मगुरु, तीनका सहयोगी दुई/दुई जना र दुई/दुई जना कर्मचारी गरी आठआठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताए। कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए।
मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रह समेत गरेका छन्। अनुगमनपछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए।
मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुरको घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए। हरेक मस्जिद र मदरसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको उनले बताए। कुनैपनि मस्जिद वा मदरसामा कोही पनि लुकेर नबसेको उनले बताए। अझैपनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले समेत अपिल गरेको छ।
गत शुक्रवार उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेको थियो।