PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मस्जिदमा भारतीय आउने क्रम बढेपछि सुर्खेतमा सतर्कता, मुस्लिम समुदायमा नयाँ मान्छेको प्रवेशमा रोक



पी बी खड्का

मस्जिदमा भारतीय आउने क्रम बढेपछि सुर्खेतमा सतर्कता, मुस्लिम समुदायमा नयाँ मान्छेको प्रवेशमा रोक

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि पनि भारतीय नागरिक नेपालमा लुकीछिपी बसेको फेला परेपछि थप सतर्कता अपनाइएको छ। भारतबाट नेपाल आएका मुस्लिम समुदायका व्यक्तिमा कोरोना भाइरस संक्रिमत फेला परेपछि स्थानीय समुदाय लगायत सरकारले पनि निगरानी बढाएको छ।

लकडाउनका बेलमा पनि लुकीछिपी नेपाल छिर्ने क्रम बढेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बस्दै आएका मुस्लिम समुदायका नागरिकले सचेतना जगाउँदै छन् भने बाह्य अपरिचित नागरिकलाई समुदाय प्रवेशमा रोक लगाएका छन्। केन्द्रबाट निर्देशन सर्कुलर भए अनुसार धार्मिक कामकाज समेत बन्द गरिएका छन्।

वीरेन्द्रनगर-१० बेलघारीस्थित एक सय ४६ घरपरिवार रहेको मुस्लिम समुदायमा प्रवेश गर्ने मुख्य नाकामा युवाहरुले पालैपालो रेखदेख गर्न शुरु गरेका छन्। मस्जिदमा इमाम तथा मोहोजिम (मस्जिदमा बस्ने व्यक्ति) बाहेक अरु सबैलाई आ-आफ्नो घरमा नमाज पढ्ने गरी नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्ययन केन्द्र प्रवेशमा रोक लगाइएको छ।

‘हाम्रो समुदायमा बाहिरको नचिनेको मान्छे आउन रोक लगाएका छौँ’, अध्ययन केन्द्रका अध्यक्ष फजिर बक्सले भने, ‘हामीले सामूहिक रुपमा गर्ने जति पनि धार्मिक गतिविधिहरु छन् ति सबै आ–आफ्नो घरमा गर्ने, अहिले संकटको यो घडीमा कोही पनि मस्जिदमा नआउने भनेर निर्णय गरिसकेका छौँ।’

सरकारले गरेको लकडाउनलाई सफल पार्न मुस्लिम समुदायले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भन्दै सबै घरपरिवारलाई सुरक्षित साथ घरमा बस्न आग्रह गरेको छ।

त्यस्तै, मदरसा मदिना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सज्जत खानले समुदायमा सतर्कता अपनाउनका लागि युवाहरु मिलेर सचेतना फैलाउने काम भइरहेको बताए।

‘हाम्रो समुदायमा युवाहरु मिलेर सरसफाइसँगै घरबाहिर निस्कन नहुने भनेर जनचेतना फैलाइरहेका छौँ’, उनले भने, ‘युवाहरुले पालैपालो गरेर समुदायको मुख्य प्रवेशद्वारमा को मान्छे आयो, गयो भनेर रेखदेख गर्ने काम गरिरहेका छौँ। त्यसरी नचिनेको मान्छे आउने चान्स नै छैन।’

अहिले समुदायका नागरिक पनि सुरक्षा सतर्कता अपनाएर घरमै बस्ने गरेको उनको भनाइ छ। अध्यक्ष खानले आवश्यक परेको खण्डमा क्वारेन्टाइन प्रयोगका लागि मदरसा विद्यालय दिइने बताए।

‘सरकारलाई आवश्यक परे हामीले हाम्रो मस्जिद, विद्यालय क्वारेन्टाइन प्रयोगका लागि दिन तयार छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell