PahiloPost

May 15, 2024 | २ जेठ २०८१

भर्चुअल भादगाउँ : टेलिभिजनबाट यसरी हुँदैछ एसईईको तयारी

भर्चुअल भादगाउँ : टेलिभिजनबाट यसरी हुँदैछ एसईईको तयारी

अमित मचामसी/पहिलोपोस्ट


चैतको पहिलो सातासम्म नेपालमा कोरोना भाइरसको कुनै पनि 'एक्टिभ केस' थिएन। तैपनि त्रास बढ्दो क्रममा थियो।

एकातिर भाइरसको त्रास अर्कातिर नजिकिँदै गरेको परीक्षा। विद्यार्थी र अभिभावक अन्यौलमै। धेरैको राय थियो, वार्षिक परीक्षा स्थगित गरौं। तर परीक्षा नसार्ने विषयमा सरकार अडिग रह्‍यो।

धेरैले गरे एसईई परीक्षा स्थगित गराउन। केहीले एसईई स्थगित गरे शैक्षिक क्यालेन्डर नै प्रभावित हुने तर्क गरे। सरकार पनि एसईई गराउने मुडमा नै देखियो।

तर, अन्तिम समयमा एसईई स्थगित भयो। चैत ६ गते परीक्षा अघिल्लो दिन अर्थात चैत ५ गतेमात्र रद्द गर्‍यो।

सरकारले चैत ११ गतेदेखि देशभर लागू गरेको लकडाउन अझै जारी छ। संक्रमितको संख्या बढिरहेको छ। त्यसैले लकडाउन जारी छ। एसईई परीक्षाको पनि टुंगो छैन।

शिक्षा मन्त्रालयका अधिकारीहरु अनुसार सरकारले लकडाउन अन्त्य गरेको दुईदेखि तीन हप्तापछि एसईई हुन सक्छ। तर संक्रमणको त्रास रहेसम्म त्यो सम्भव छैन।

***

एक महिनादेखि लकडाउनमा रहेका एसईई दिने विद्यार्थीहरुमा परीक्षा कहिले हुने भन्नेमा अन्यौलमा छन्।

यसैबीच भक्तपुर नगरपालिकाले एसईई दिने विद्यार्थीका लागि लक्षित गर्दै भर्चुअल  कक्षा संचालनमा ल्याएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा वैशाख ४ गतेको बसेको नगर शिक्षा समितिको बैठकले कोरोना संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न भक्तपुर नगरपालिकाको प्रायोजनमा एसईई लक्षित भर्चुअल कक्षा संचालन गर्ने निर्णय गरेको थियो।

सोही निर्णय्अनुरुप हाल भादगाउँ टेलिभिजनबाट दैनिक रुपमा कक्षा १० का पाठ्यक्रम लक्षित कार्यक्रम प्रसारण भइरहेको छ।

भक्तपुरको च्यामासिहंस्थित बागेश्वरी माध्यामिक विद्यालयमा भर्चुअल माध्यमबाट पढाउन स्टुडियो निर्माण गरिएको छ। त्यहीबाट हरेकदिन शिक्षकहरुले लाइभ पढाइरहेका छन्।

उक्त भिडियो भादगाउँ टेलिभिजनको फेसबुकमा पनि लाइभ आउँछ।

***

एक महिनदेखि बन्द बागेश्वरी माध्यमिक विद्यालय भर्चुअल कक्षा संचालन भएयता बेलुकी खुल्ला हुँदै आएको छ। शिक्षकहरु त्यहीको एक कक्षा कोठामा गएर प्रिजेन्टेसन दिन्छन् भने विद्यार्थीहरु घरमै भादगाउँ टेलिभिजनबाट पढ्छन्।

सोमबार सामाजिक विषयको पढाइ हुने दिन थियो। विषय शिक्षक महेन्द्र गोपाल कर्माचार्य वैदेशिक रोजगारसम्बन्धी पाठ पढाइरहेका थिए।  

यता सिपाडोलकी अञ्जली मचामसी भर्चुअल कक्षा हेर्दै थिइन्।

चैत ६ गते परीक्षा हुने भएकोले परीक्षाको तयारी गरिरहेकी थिइन् उनी। तर अन्तिम समयमा परीक्षा रद्द हुँदा उनी पहिला त अलमा नै परिन्।

'केही दिन अगाडि नै थाहा भएको भए प्रेसर हुँदैन थियो। तर लास्ट आवरमा परीक्षा रोकिँदा केही रिस पनि उठ्यो,' उनी भन्छिन्।

लकडाउनसँगै एक महिना यता घरमै छिन्। एसईई कहिले हुने हो थाहा छैन। दिनभर घरकै काममा व्यस्त हुन्छिन्। बुलेकी केही बेर पढाइलाई समय दिन्थिन्।

केही दिनयतादेखि भने बुलेकी कापीकिताब लिएर भादगाउँ टेलिभिजन अगाडि बस्दैछिन् उनी।

'बेलुकी के गर्ने हुन्थ्यो। टिभिबाट क्लासहरु सञ्चालन हुँदा पढ्न सजिलो भएको छ। घरबाट पनि पढ् भन्नु हुन्छ,' अञ्जली भन्छिन्।

एसईई परीक्षाका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकका साथै सबै अनिवार्य विषयको भर्चुअल कक्षा सञ्चालन भइरहेको छ।

शिक्षक कर्माचार्य भन्छन्,' अहिलेको खाली समयमा विद्यार्थीहरुले थोरै समय दियो भने पनि उनीहरुलाई धेरै फाइदा हुन्छ। यो क्लासले उनीहरुलाई एसईईमा सहयोग गर्छ।'

विषयगत रुपमा हरेक दिन भादगाउँ टेलिभिजनमा कक्षा संचालन हुँदा विद्यार्थीहरुमा पढ्ने बानी बस्ने अनुमान नगरपालिकाले लिएको छ। लकडाउनको अवधी थप भएमा आगामी दिनमा भर्चुअल  कक्षालाई पनि निरन्तरता दिने नगरपालिकाले तयारी गरिरहेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell