PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोरोना महामारीको विषम परिस्थितिमा संविधान, कानुन र पार्टी एकतामा आघात पुग्ने काम नगरौं: नेता नेपाल



पहिलोपोस्ट

कोरोना महामारीको विषम परिस्थितिमा संविधान, कानुन र पार्टी एकतामा आघात पुग्ने काम नगरौं: नेता नेपाल

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना महामारीमा संविधान, कानुन तथा तथा पार्टी एकतामा आघात पुग्ने गरी काम गर्न नहुने बताएका छन्।

सरकारले हिजो राजनीतिक दल सम्बन्धी संशोधन र संवैधानिक परिषद सम्बन्धी संशोधन अध्यादेश ल्याएका बेला नेता नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकार र नेकपा तथा सम्पूर्ण पार्टीको ध्यान माहामारीको संक्रमणका विरुद्ध लड्नेतिर केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन्।

'यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम-कुरा हुनुहुँदैन,' नेता नेपालले भनेका छन्।

उनले विश्व स्वास्थ्य संगठनका मापदण्ड र सरकारका निर्णयको पालना गर्दै आफू सुरक्षित रहँदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रीत रहन र जनसेवाको भावनाबाट अग्रसर हुन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन्।

नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको भन्दै नेता कार्यकर्ता, सदस्य र शुभेच्छुकलाई पार्टी एकताप्रति सम्वेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि पार्टीका काममा क्रियाशील रहन आह्वान गरेका छन्। 'हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्छ। पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ-आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्दछु,' उनले भनेका छन्।

व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भबावेस वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु सबैको दायित्व भएको नेता नेपालको भनाई छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell