PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

छेकेन चुरेले कोरोनालाई : हटस्पटमा रहँदाको मनोदशा [ब्लग]



पहिलोपोस्ट

छेकेन चुरेले कोरोनालाई : हटस्पटमा रहँदाको मनोदशा [ब्लग]

  • तेजेन भट्टराई -

पूर्व पश्चिम राजमार्गबाट करिब २२ किलोमिटर उत्तरको भित्री मधेशमा पर्ने उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाट क्षेत्र नेपालको कोरोना हटस्पट बन्ला भन्ने कत्ति पनि लागेको थिएन। शायद, मनमा लागेको हुँदो हो भारतको सीमाना जोडिएका सिरहा/सप्तरी रहेको तराईमा लाग्ने बाक्लो हुस्सुलाई छेकेर पुसको शीतलहरमा पनि त्रियुगावासीलाई सूर्यको न्यानोबाट बन्चित नगर्ने चुरे पहाडले भारततिर बढी आतंक मच्चाइरहेको कोरोना पनि छेक्ला। अर्धचेतन मनमा यो पनि हुँदो हो सबै समुदायको सहअस्तित्वलाई स्वीकार गरेको हिंसात्मक मधेश आन्दोलनका बेला पनि सुरक्षित रहेको त्रियुगा नदी सिंचित यो लमतन्ने उपत्यका कोरोना भाइरसबाट पनि सुरक्षित रहनेछ।

वैशाख ५ गते शुक्रबार भुल्केको मस्जिदमा बसेका १२ जना एकैचोटी संक्रमित भएको खबरले मेरो यस्तै आत्मविश्वासमाथि पहिलो अनेपेक्षित प्रहार गर्‍यो। भुल्के र प्रशासनिक कार्यालयहरु रहेको गाईघाटलाई त्रियुगा नदीले छुट्याउँछ - गाईघाट नदीको उत्तरतिर छ भने भुल्के दक्षिण किनारामा अवस्थित। लहानबाट गाईघाट जोड्ने राजमार्गबाट करीब दुई किलोमिटर दक्षिण पूर्वमा रहेको अर्ध-शहरी भुल्के क्षेत्रमा नेपाली सेनाको ब्यारेक पनि छ।

समाचार शीर्षकले सिर्जना गरेको त्रासलाई संक्रमित सबै मस्जिदभित्रै बसेका र भारतीय नागरिकहरु भएको भन्ने भित्री विवरणले केही घटाइदियो। लाग्यो, यो पनि देशका अरु भागमा देखापरेका जस्तै आयातित संक्रमण नै हुनुपर्छ। तै पनि समाचारले सचेत हुनुपर्ने भन्ने स्पष्ट संकेत गर्‍यो।

मस्जिदमा बसेका भारतीय नागरिकहरुले कोरोना भित्र्याएको भनेर मुस्लिम समुदायप्रति विभिन्न प्रश्न्नहरु उठे। सामाजिक सञ्जालमा मुस्लिम समुदायको नियतमाथि नै पनि प्रश्न गर्नेहरु उत्रिए। यहीबीच जनकपुरमा कोरोना संक्रमित मुस्लिम महिलाहरूले बाटोमा गलत नियतले पैसा फाल्दै हिँडेको समाचार आयो, जुन पछि अफवाह प्रमाणित भयो। भारतीय टेलिभिजनहरुको मुस्लिम विरोधी सनसनीले पनि काम गर्ने भइगयो। आजभोलि सबै मान्छे पत्रकार, लेखक, विश्लेषक भएका छन्। सबैले अभिब्यक्तिको स्वतन्त्रताको उपयोग गरेका छन, त्यो राम्रै कुरा हो। तर, बढीजसो छुद्रता, नकारात्मकता र अफवाहले ठाँउ पाएको छ किनभने यी सामजिक सञ्जालमा छिटो बिक्छन्।

शुद्ध मन र ठन्डा दिमागले विचार गर्ने हो भने यी मुस्लिम जमातीको पनि कोरोना सार्ने नियत हुँदै होइन। सधैको जस्तै धार्मिक कर्मकै सिलसिलामा आएका थिए उनीहरु। धार्मिक विश्वास अत्यन्त शक्तिशाली हुन्छ - अमेरिकामा जाबो भाइरसले डराएर भगवानको पूजाआजा रोक्नुहुन्न भन्ने चर्चको पादरी कोरोनाले मरेको खबर कतै पढेको थिएँ। मेरै छरछिमेकको एक घरमा क्रिस्चियन धर्ममा विश्वास राख्नेहरुको प्रार्थनासभा हुन्छ, टाढाटाढाका बृध्द, रोगी, अपांगहरु अफ्नो समस्याबाट छुटकारा पाउने आशले आउनुहुन्छ। तर, विडम्बनाको कुरो उहाँहरुलाई त्यो आशा भरोसा दिने पास्टरको आफ्नै छोरीको हालसालै बिराटनगरमा अपरेसन गराउनु पर्‍यो। यस्तै विश्वास हिन्दु लगायत अरु धर्ममा पनि हुन्छ नै। अनि आफ्नो आस्थाको सिलसिलामा हिँडेकालाई गाली गर्नु र सारा समुदायलाई यही निहुँमा अपमान गर्नु ठीक होइन। मुस्लिम समुदायका अगुवाहरुको अहिलेको कर्तव्य भनेको सबै संभावित संक्रमितहरुलाई परीक्षणमा ल्याउनु र अरु संक्रमण हुनबाट बचाउन प्रयास गर्नु हो।

पाँच गतेको संक्रमणको खबरले आत्मविश्वासमा गम्भीर धक्का लागे पनि खासै डर लागेन। विभिन्न ठाउँमा रहनुभएका आफन्तहरुसँग 'म त फेमस जिल्लाको मान्छे नि' भन्दै ठट्टा गरियो। केटाकेटीहरु भुल्के ब्यारेकमा स्वास्थ्यकर्मीहरु बोकेर आउने जाने हेलिकप्टर आकाशमा हेरेर रमाउँदै रहे। हिजो आठ गते राति मेघ गर्जन हावाहुरी सहितको वर्षा भयो। तराईतिर निकै क्षतिको खबर आयो तर यहाँ खासै क्षति भएन। सधैं झैं चुरेले त्रियुगालाई हावाहुरीको ठूलो झट्काबाट बचायो।

तर, आज (मंगलवार) साँझतिर कोरोनाको अझ ठूलो झट्काको खबर आयो। धरानको परीक्षणबाट आठ जना र टेकुको परीक्षणबाट अरु दुइजना संक्रमित भएको पुष्टि भएको खबर मिल्यो। दु:खको कुरो यसपटक संक्रमितहरु फरक फरक परिवारका र फरक फरक स्थानका भएको भन्ने छ। यसबाट संक्रमण समुदायस्तरमा पुगेको छनक देखिएको छ। उदयपुर जिल्लालाई सिल गर्ने र परीक्षणको दायरा बढाउने कुरा आएको छ। टेलिभिजनमा न्युयोर्क, इटाली, स्पेनतिर हेरेको दृश्य आफ्नै गाउँघरमा देख्नु भोग्नु पर्ने हो कि भन्ने भयले सताउन थालेको छ। रातीको ११ बजे यो ब्लग लेख्दालेख्दै टेकुको परीक्षणमा थप एक जनाको पोजिटिभ देखिएको खबर आएको छ। भोलि बिहान उठ्दा यस्ता खालका अरु खबर नआऊन् भन्ने कामना गर्दै सुत्ने तरखरमा छु। अहिले पनि आकासमा बादल गड्गडाउदै छ।

अलिक पर कतै फ्याउरो कराइरहेको आवाज पनि सुनिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell