
काठमाडौँ: नेपालमा कम्युनिस्ट पार्टी स्थापन भएको ७१ वर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले छुट्टाछुट्टै वक्तव्य जारी गरेका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले छुट्टाछुट्टै विज्ञप्ति निकाले।
नेकपाका वरिष्ठ नेता माधव नेपालले भने मंगलबार नै विज्ञप्ति निकालेका थिए। तिनै जना नेताको विज्ञप्तिमा कम्युनिस्ट आन्दोलनको सम्झना गरिएको छ। एकै सन्दर्भमा तीन नेताले निकालेको वक्तव्यमा तीनथरि कुराको चर्चा गरिएको छ।
पार्टी एकता भएको दुई वर्षसम्म पनि नेकपाभित्र भावनात्मक एकता अझै हुन सकेको छैन। पूर्व समूह अझै सक्रिय छन्।
प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र नेता नेपाल समूहसँग झस्किएका छन्। प्रचण्ड ओली समूहदेखि झस्किएका छन्। पछिल्लोपटक पार्टी फुटाउने सम्बन्धी अध्यादेश ल्याउँदा पार्टी भित्र किचलो मच्चिएको छ। सार्वजनिक रुपमा नेताहरुले सरकारको निर्णयविरुद्ध अभिव्यक्ति दिएका छन् भने ओली समूहका नेताहरुले अध्यादेशको बचाउ गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले जारी गरेको विज्ञप्तिमा गुटबन्दीको चर्चा गरिँदा प्रचण्डको वक्तव्यमा षड्यन्त्रको चर्चा गरिएको छ। नेता नेपालले पार्टी भित्रका नेताहरुको स्वार्थको चर्चा गरेका छन्।
प्रधानमन्त्री ओलीले जारी गरेको विज्ञप्तिमा पार्टी गुटबन्दीलाई किनार लगाउँदै अघि बढेको उल्लेख छ।
'पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाई अघि बढायौँ', विज्ञप्तिमा भनिएको छ।
अर्का अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्तिमा पार्टीलाई देशी-विदेशी शक्तिले कमजोर पार्न खोजेको आरोप लगाइएको छ।
'देशी-विदेशी प्रतिक्रियावादी शक्ति नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन्', प्रचण्डले भनेका छन्।
विज्ञप्तिमा पार्टी कमजोर पार्न भएका षड्यन्त्र परास्त गर्नु नेकपाको कार्यभार भएको बताइएको छ।
'प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो', विज्ञप्तिमा लेखिएको छ।
वरिष्ठ नेता नेपालले निकालेको विज्ञप्तिमा नेताहरुलाइ स्वार्थ त्याग्न आग्रह गरिएको छ। नेपालले पार्टीलाई विधि र विधानका आधारमा चलाउन पनि अपिल गरेका छन्। नेतृत्वलाई उनले एकतामा संवेदनशील हुन आग्रह गरेका छन्।
'व्यक्तिवाद, स्वार्थ, व्यक्तिगत आग्रह या अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशा र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु,' विज्ञप्तिमा उल्लेख छ।
२२ अप्रिल, १९४९ मा नेपालमा पहिलोपटक नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो।