PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भारतीय क्वारेन्टाइनमा २५ दिन पुग्दा पनि सरकारले घर आउन दिएन, धारचुलाबाट ९ नेपाली महाकालीमा हेलिएर नेपाल पसे



कमलराज भट्ट

भारतीय क्वारेन्टाइनमा २५ दिन पुग्दा पनि सरकारले घर आउन दिएन, धारचुलाबाट ९ नेपाली महाकालीमा हेलिएर नेपाल पसे
फाइल फोटो

काठमाडौंः लकडाउनले भारतीय क्वारेन्टाइनमा बस्न वाध्य ९ जना नेपालीले मंगलवार राति महाकाली नदीमा पौडिएर नेपाल प्रवेश गरेका छन्। ज्यान जोखिममा राखेर भारतीय प्रशासनलाई छल्दै मध्यराति उनीहरु महाकाली नदीमा पौडिँदै दार्चुला आएका हुन्। उनीहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ।

महाकाली नगरपालिकाका मेयर हंशराज भट्टले महाकालीमा पौडेर आएका ९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको बताए।

'यत्रो दिन भइसक्दा सरकारले आउन दिएन। घर जानका लागि नदी तरेर आए होलान्। दुई/अढाई सय जना आइसके,' उनले भने, 'लकडाउन कहिले खुल्ने हो थाहा छैन। त्यसकारण आए। २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाउँछौं।'

दार्चुलाका पत्रकार भोजराज जोशीले क्वारेन्टाइन समय पूरा भइसक्दा पनि घर फर्किंन नपाएको भन्दै उनीहरु भारतीय प्रशासनलाई छलेर महाकालीमा हाम्फालेको बताए।

'उनीहरु क्वारेन्टाइनमा बसेको २५ दिनभन्दा बढी भइसक्यो। सरकारले १४ दिन पुगेपछि ल्याउँछु भनेको थियो। दोब्बर समय भारतीय क्वारेन्टाइनमा बस्दा पनि कुनै निर्णय नभएपछि बाँचे पनि स्वदेशमै, मरे पनि आफ्नै देशमा मर्छौं भनेर हाम्फालेका रहेछन्,' जोशीले भने।

जोशीका अनुसार सरकारले स्वदेश फर्काउन कुनै पहल नगरेकोमा उनीहरुको आक्रोशित थिए। उनीहरुले अरु नेपाली पनि तारतम्य मिलाएर महाकाली तरेर आउने तयारी रहेको सूचनासमेत दिएका छन्।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले धारचुलास्थित क्वारेन्टाइनमा बसिरहेका ९ जना राति महाकाली तरेर आएको जानकारी दिए।

'उता पनि क्वारेन्टाइनमा थिए। महाकाली तरेर आएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ। उनीहरुको स्वास्थ्य परीक्षण भइरहेको छ,' उनले भने, 'भारतीय प्रशासन छलेर आएका रहेछन्। हाम्रोतिर सीमामा सुरक्षा व्यवस्था कडा पारेका छौं। नदी तरेलगत्तै सुरक्षाकर्मीले नियन्त्रणमा लिइहाल्यो।'  

सहायक सिडिओ कुँवरले भारतीय क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश ल्याउने कुनै योजना नभएको पनि बताए।

'केन्द्रबाट कुनै निर्देशन र निर्णय पाएका छैनौं। यहाँ भारतीय क्वारेन्टाइनमा एक हजारभन्दा नेपाली छन्। उनीहरु बसेको २५/२६ दिन भइसकेको छ,' उनले भने, 'केन्द्रबाट आदेश आए हामी नेपाली ल्याउन तयारी अवस्थामा छौं।'  

सरकार भन्छ: यो भावनामा बग्ने बेला होइन

यता सरकार भने भारतमा कोरोना संक्रमण नियन्त्रण नभएसम्म नेपाल-भारत सीमा नखोल्ने अडानमा छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संक्रमणको अवस्था रहेसम्म जो जहाँ छन् त्यही बस्नुपर्ने बताउँछन्।

नेपाल-भारतबीच एकले अर्काको नागरिकको रेखदेख गर्ने तथा क्वारेन्टाइनमा राख्ने समझदारी भएको बताउँदै पोखरेल संक्रमणमा कमी नआएसम्म बोर्डर पनि नखोलिने र जो जहाँ छन् त्यहीँ बस्नुपर्ने बताउँछन्। भावनात्मक पक्षमात्र हेर्न नहुने उनको तर्क छ। यसको अर्थ भारतको लकडाउन र संक्रमण स्थितिमा नेपालीहरु घर कहिले आउन पाउने भन्ने निधो हुनेछ। 

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली संकटका बेला भावनामा बग्न नहुने बताइरहेका छन्। एकातिर उनी महामारीमा मानव जीवनको सुरक्षाभन्दा ठूलो अरु दु:ख नहुने बताइरहेका छन् भने अर्कोतिर विभिन्न अध्यादेश ल्याएर कोरोनाविरुद्धको लडाईंलाई ‌सरकारको प्राथमिकतामा नरहेको अथवा ओझेलमा पारेका छन्। यही बेला काठमाडौंबाट हुलका हुल बसमा हालेर मान्छे घर पठाउन सरकारले मद्दत गरिरहेको छ।

सत्तारुढ सांसदको नेतृत्वमा असुरक्षित तरिकाले घर पठाउँदा भारतमा क्वारेन्टाइन समय पूरा गरिसकेका नेपाली ल्याउन भने भावनामा बग्न नहुने प्रधानमन्त्रीको भनाई छ। त्यतिमात्रै होइन ओलीले सुदूरपश्चिमका सीमामा घर आउन हारगुहार गरिरहेका नेपालीलाई उत्ताउलो भनेर होच्याउने काम पनि गरेका छन्। यसबाट सुदूरपश्चिमसँग सीमा जोडिएको धारचुला, पिथौरागढ, टनकपुर, बनबासामा क्वारेन्टाइनमा बसेका झण्डै १५ सय नेपाली स्वदेश फर्काउने विषय सरकारको प्राथमिकतामा छैन भन्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell