
इस्लामावाद: पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कोरोना भाइरसको परीक्षण गरिएको छ। संक्रमितको सम्पर्कमा आएको तथ्य फेला परेपछि स्वास्थ्य अधिकारीले उनको नमूना संकलन गरेर परीक्षणका लागि ल्याबमा लगेका छन्। परीक्षणको नतिजा आजै आउने बताइएको छ।
पाकिस्तानको कोभिड-१९ को नियन्त्रणका लागि बनाइएको नियम अनुसार उनमा पनि परीक्षण गरिएको हो। प्रधानमन्त्री खान कोभिड-१९ संक्रमितको सम्पर्कमा पुगेपछि परीक्षणका लागि स्वास्थ्यकर्मीले नमूना संकलन गरेका हुन्।
प्रधानमन्त्री खानका कोभिड-१९ सम्बन्धी फोकल पर्सन डा फैसल सुल्तानले परीक्षणको विषयमा जानकारी दिँदै भने, 'उहाँले कोभिड-१९ संक्रमणको पुष्टि भएका फिलान्थ्रोपिस्ट फैसल इदीसँग भेट गर्नुभएको थियो। त्यसैले परीक्षण थालिएको हो।'
इदि फाउन्डेसनका प्रमुख फैसल इदी कोरोना भाइरस रिलिफ फन्डमा सहयोग स्वरुप १० मिलियन सहयोग गरेका थिए। उनले चेक हस्तान्तरण गर्ने क्रममा प्रधानमन्त्रीसँग भेट गरेका थिए। इदीले पछि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्रीले आफूलाई भेट नगरेको बताएका थिए।
त्यस समयमा उपस्थित सबैको परीक्षण गर्ने तयारी भइरहेको छ। यद्यपी इदीले आफू प्रधानमन्त्रीसँग केही समय मात्र भेटेको र हात नमिलाएको बताएका छन्। तर पनि चेक हस्तान्तरण गर्ने क्रममा भाइरस सर्ने सम्भावना रहेको भन्दै परीक्षण गर्न स्वास्थ्य अधिकारीहरुले सुझाव दिएका हुन्।
मंगलवारसम्म पाकिस्तानमा कोभिड-१९ बाट २ सय जनाको मृत्यु भइसकेको छ।