- केकी अधिकारी-
'मे आइ कम इन मिस?'
ढोकामा आएर कसैले भन्यो। सबैको ध्यान त्यतैतिर मोडियो। मेरो पनि।
सधैं देखिरहेको भन्दा नौलो अनुहार। कक्षा एकमा पहिलो दिन थियो त्यो।
मिसले उनको हात समाएर भित्रसम्म ल्याउनुभयो। म बसेको बेन्चमा बस्ने ठाउँ खाली थियो। त्यहीँ बस्न लगाउनु भयो। अनि सोध्नु भयो – 'तिम्रो नाम के हो?'
वरपर नचिनेकाहरुलाई देखेर होला उनले निकै मसिनो स्वर सुनियो।
'युक्ता प्रधान।'
उनी कक्षाको नयाँ विद्यार्थी। सबैसँग चाँडै घुलमिल हुन गाह्रो पर्यो उनलाई। तर, मेरो भने निक्कै मिल्ने साथी बनिन्। केही दिनमै हामीले एकअर्कालाई 'बेस्ट फ्रेन्ड'को तक्मा दियौँ।
दोस्ती राम्रै जम्यो हाम्रो। उ आउनुअघि म कक्षाको उत्कृष्ट विद्यार्थी। सबै विषयका शिक्षक शिक्षिकाले मेरै तारिफ गर्ने। त्यो तारिफ हौसला बन्थ्यो। म झन् फुर्किँदै मेहनत गर्थेँ।
युक्ता पनि पढाइमा उस्तै अब्बल ठहरिइन्। पढाइबाहेकका गतिविधिमा पनि उस्तै तगडा। उनी निकै राम्रो नाँच्थिन्। कराँते पनि 'एक्सपर्ट'ले झै खेल्ने। चित्रकलामा मलाई फिटिक्कै नआउने, उनी चाहिँ प्रतियोगिता नै जित्ने।
विस्तारै शिक्षक शिक्षिकाको ध्यान मबाट ऊतर्फ केन्द्रित हुँदै गएको महसुस हुन थाल्यो मलाई। बाल मस्तिष्क न हो, मैले पनि उसलाई मनमनै मन नपराउन थालेँ। उसको उपस्थिति मलाई कमजोर बनाउनको लागि हो जस्तो पनि लाग्थ्यो। तर पनि पूरा स्कूलका लागि केकी र युक्ता बेस्ट फ्रेन्ड थिए। त्यो पहिचान गुमाउनु भने थिएन। त्यसैले भित्र कतै दबेर रहेको द्वेष भावलाई बाहिर व्यक्त भने कहिल्यै गरिनँ।
कक्षा ५ को अन्तिम परीक्षा सकिएपछि भने उनी कहिल्यै कक्षामा फर्किनन्। उनको विद्यालय फेरियो। उनी साथ नहुनुको दु:खसँगै मसँग खुशी हुनुपर्ने अरु केही कारण थिए - म पुन: स्कुल फस्ट हुने भएँ, सर मिसहरुको माया पाउने भएँ। सबैको ध्यान मतिरै हुने भयो। अनि मैले उनलाई बिर्सिएँ।
मानौँ उसको स्कूल परिवर्तनसँगै हाम्रो मन पनि परिवर्तन भयो।
तर, समय बित्दैजाँदा मैले एक्लो महसुस गर्न थालेँ। उनी त मेरो एक मात्र मिल्ने साथी भइसकेकी रहिछिन्। जबरजस्ती नजिक रहिदिएभन्दा गाह्रो रहेछ जबरजस्ती बिर्सनँ। तर, प्रविधि पनि कहाँ धनी भइसकेको थियो र अहिलेजस्तो। मैले चाहेर पनि ऊ कहाँ छ? के गर्दै छ? थाहा पाउन सकिनँ। भेट्न पाउनु त परको कुरा।
समय बित्दै गयो। 'क्लास मेट'हरु फेरिइरहे। तर, मेरो जिन्दगीको पहिलो बेस्ट फ्रेन्डको याद कहिले काहीँ आँधीजस्तै आइरह्यो, गइरह्यो। कहिले काहीँ फुर्सदमा उनलाई फेसबुकमा खोजेँ। तर उसको नाम अनि मुहार मिल्दो कोही भेटिएन। लाग्थ्यो – 'उनी प्रतिभाशाली थिइन्। त्यसैले जहाँ छिन् खुशी अनि सफल छिन्।'
+++
पछिल्लो २० वर्षमा संसार अनगिन्ती कोणबाट फेरिए। विश्वविख्यात बुद्धिजीवीका कुरा स्वीकार्नु पर्छ - यो दुई दशक प्रविधि, विश्व राजनीति र विश्वव्यापी जनसंख्या वृद्धिले जितेको युग हो। जसको प्रभाव जहाँसुकै पनि नपर्ने कुरै भएन।
यही २० वर्षको अन्तरालमा हो मेरो आसपासका खुला ठाउँहरु कङ्क्रिटले भरिएका। मानिसहरु बाक्लै बढेको। प्रविधिको पहुँच धेरै भएको। बिस्तारै पढाई, पेशा, लगावको रङ फेरिएको। फरक ठाउँमा फरक साथीहरु भेटिए। अनि पुराना यादहरु धुमिल बन्दै गए। साँच्चै दुई दशक व्यस्त बन्यो मेरा लागि पनि। परिवर्तन स्वीकारेँ, विकल्प थिएन त्यसको। किनकि परिवर्तनमात्र स्थायी छ भन्ने बुझाइको विकास भइसकेको थियो ममा।
त्यसैले मैले मेरो पहिलो बेस्ट फ्रेन्डलाई खोज्ने वा भेट्ने कोसिस नै गर्न पाइनँ। समयलाई दोष दिइराख्दा म गलत ठहरिन सक्छु। तर, यो सत्य हो, व्यस्तता धेरै कुरा छल्ने बहाना बन्यो।
त्यो बाहनालाई काँध हाल्नै नमिल्ने परिस्थितिमा छाडिदियो – लकडाउनले। जति व्यस्त रहन चाहे पनि फुर्सदै फुर्सद भइरहने परिस्थिति। यही परिस्थितिले हो मलाई एकाएक युक्ताको याद दिलाएको।
मलाई युक्ता कक्षा १ मा भर्ना भएर आएको पहिलो दिनदेखि उसको यादले निकै पछिसम्म सताएको घटनाहरु झल्झल्ती भए- फिल्मको दृश्य हेरेजस्तै।
बालापनको उस्तो धेरै कुरा याद नभएको मलाई उसँग बिताएको समय किन पानी झै छर्लङ्ग हुन्छ?
लाग्यो – पक्कै कतै केही त अधुरो छ।
फेरि एकपटक फेसबुकमा उसलाई खोज्ने प्रयास गरेँ। युक्ता प्रधान नाम गरेका सबै प्रोफाइल एकपछि अर्को गर्दै खोलेँ। तर, अँह ! ती प्रोफाइलका फोटो मेरो स्मरणमा भएका तस्विरसँग मेल खाएन। अनुहार साह्रै परिवर्तन भएछ कि भनेर खुब नियाँले। तर, मुस्किल पर्यो।
अन्तत: हामी दुवैका म्युचल फ्रेन्डको माध्यमबाट पाएँ, उनलाई। तुरुन्त फ्रेन्ड रिक्वेस्ट पठाएँ। प्रविधिको युग न हो 'एक्सेप्ट' हुन समय लागेन।
'धेरै समय बित्यो है। तिमीलाई कस्तो छ?' मैले लेखेँ।
'तिमीलाई म अझै याद छ?,' उनको जवाफ।
उसलाई भन्न सकिनँ – तिमीले स्कुलसँगै धेरै कुरा छाडेर गएकी थियौँ। तिमीले छाडेर गएका ती अधुरा कुराहरुले नै पनि कहिल्यै बिर्सन दिएन। कसरी याद नहुनु?
हामी खुब नोस्टाल्जिक भयौँ। वर्तमानका कुरा गर्यौँ। भविष्यका योजनाहरु भने सुनाउन थाती राख्यौँ। किनकि परिवर्तन अवसम्भावी छ।
दुई सन्तानकी आमा बनेकी उनी निक्कै खुशी भइन्। मेरा हरेक काम नियालेकी रहेछिन् उनले। एकएक गरी सुनाइन्।
'कति पटक बोल्ने कोसिस गरेँ। तर, तिमीले चिन्दैनौ कि भन्ने डर थियो,' उनले भनिन्।
आखिर यस्तै अनुमानहरुले सम्बन्ध अल्मल्याउने रहेछ। वर्षौँ अल्मलिएर भेटेका हामी खुशी भयौँ। अनि मलाई उसको परिवर्तित नाम निकै मनपर्यो – इन्द्रेणी।
ऊ मेरो बाल्यकालमा इन्द्रेणीजस्तै बनेर आएकी थिइन्। अनेक रङ लिएर। जाँदा 'ग्रे जोन'मा उभ्याएर गएकी थिइन् उनले। जिन्दगीका अनेक आयाम पार गरेपछि फेरि भेटिएका छौँ। सायद, अब हाम्रो सम्बन्धको रङ सधैं गाढा रहनेछ।
+++
उसँग पुनर्मिलन भएको दिन मेरा लागि 'लकडाउन'को सबैभन्दा ठूलो उपलब्धि बन्यो। केही नगर्दा पनि संसार जिते सरह। साँच्चै खुशी हुन ठूलै सफलता वा पदक हात पर्नु नपर्ने रहेछ। जिन्दगीका प्राप्तिसँगै छुट्दै गएका कुरा भेटिए पनि पुग्दो रहेछ।
हामी सबै यस्तै गरौँ न, कतै छुटेकाहरुलाई खोजौँ। नभेटिए सम्झिएरै दङ्ग परौँ। अहंकार मारौँ। घमण्ड त्यागेर सम्बन्धमा वाधा पुर्याउने गल्तीहरुलाई माफी दिऔँ।
पल्लो घरको छिमेकीका लागि पनि त एकोहोरो दैनिकीले दिक्क लगाएको होला। छतमा गएर मुस्कान साटौँ। जिन्दगीलाई नयाँ ढङ्गबाट हेरौँ। आखिर कहाँबाट कस्तो विपद्ले चिहाउँछ कहाँ थाहा हुँदोरहेछ र? त्यसैले यो लकडाउनको समयमा सामाजिक/भौतिक दूरी कायम राख्दै मनको दूरी कम गरौं न हुन्न?