
काठमाडौं : साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संसदभित्र र बाहिर रहेका दलको संयुक्त मोर्चा बनाउन अनुरोध गरेका छन्।
मिश्रले देउवालाई बुधबार टेलिफोन गरी संसद बाहिर रहेका दललाई समेत सहभागी गराएर मोर्चा बनाउन आग्रह गरेका हुन्।
उनले ट्वीट गर्दै देउवासँग संसदभित्र र बाहिरका विपक्षी दलको मोर्चा बनाउन माग गरेको जानकारी दिएका छन्। सरकारले ल्याएका अध्यादेशविरूद्ध डिजिटल अभियान चलाउन पनि उनले देउवालाई सुझाव दिएका छन्।
उनले लेखेका छन्, 'सरकारले ल्याएका घातक अध्यादेशविरूद्ध एकजुट हुन संसदभित्रका मात्र होइन संसद बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिनुस्।'
मिश्रले देउवालाई संसद बैठकका लागि दबाब दिन माग गरेका छन्। 'सुरक्षा प्रोटोकलको व्यवस्था गरेर तुरून्तै संघीय संसदको बैठकका लागि आवाज उठाउनुस्। सुरक्षा प्रोटोकल कायम गरेर मन्त्रिपरिषदको बैठक हुन सक्छ भने राष्ट्रिय संकटका बेला संघीय संसद बस्न नसक्ने अवस्था छैन,' मिश्रले लेखेका छन्।
फोनमा शेरवहादुर देउवालाई २ आग्रह:
— Rabindra Mishra (@RabindraMishra) April 22, 2020
१। अध्यादेशविरूद्ध संसदभित्र मात्र होइन बाहिरका दल सहित मोर्चा बनाउन अग्रसरता लिनोस्। २। सुरक्षा प्रोटोकलको व्यवस्था गरेर तुरून्तै संघीय संसदको बैठकका लागि आवाज उठाउनोस्। उहाँले दुबै विषयमा साथीहरूसँग छलफल गर्ने उल्लेख गर्नुभयो। थप मेरो फेसबुकमा।
जवाफमा देउवाले मोर्चा बनाउने बिषयमा छलफल गर्ने आश्वासन दिएको मिश्रले बताएका छन्। 'संसदबाहिरका दललाई पनि सामेल गराउने कुरा म साथीहरूसँग सल्लाह गर्छु भन्नुभयो। संसदको अधिवेशनको हकमा भने अलिकति सुरक्षा चिन्ता देखाउनुभयो,' मिश्रले भनेका छन्।
यसअघि मिश्रले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि उच्चस्तरीय संयन्त्र गठन गर्न सुझाव दिएका थिए।
यद्यपि प्रचण्डले उच्चस्तरीय संयन्त्रको माग गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।
ओलीले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धिका अध्यादेश कांग्रेसले बेमौसमी भन्दै बिरोध गरेको छ। अध्यादेशबारे नेकपाभित्रै तीब्र राजनीतिक धुव्रिकरण बढिरहेका बेला कांग्रेसले अध्यादेशको विरोध गरेको हो।
यस्तै संसद बैठक बोलाउन सांसदहरुले आवाज उठाइरहेका छन्। अध्यादेश पास गराउन सरकारले भने संसद डाक्न गृहकार्य गरिरहेको छ।