काठमाडौं: सरकारले ४० हजार बढीको कोरोना भाइरस परीक्षण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा ल्याब (पिसिआर) र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ४० हजार ४३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिइयो। पिसीआरबाट ९ हजार ११ र आरडीटीबाट ३१ हजार ४२० जनाको कोरोना भाइरस परीक्षण गरिएको हो।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७३६ जनाको कोरोना परीक्षण गरिएको बताए।
उनका अनुसार अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ७ हजार ३०७ जनाको नमूना परीक्षण गरिएको छ। यस्तै, सबैभन्दा कम नमूना परीक्षण प्रदेश नम्बर ५ मा गरिएको छ। यहाँ २ हजार ५९५ को मात्रै नमूना परीक्षण भएको छ।
प्रदेश नम्बर १ मा ३ हजार ९७ को नमूना परीक्षण भएको छ भने प्रदेश नम्बर २ मा ३ हजार ९२५ को परीक्षण भएको छ। बाग्मतीमा ५ हजार ९१५ को परीक्षण हुँदा गण्डकीमा ४ हजार २७५ को र कर्णाली प्रदेशमा ४ हजार ३० को नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताए।
प्रवक्ता देवकोटाका अनुसार ९५ जना आइसोलेशनमा छन्। अहिलेसम्म नेपालमा संक्रमण भएका मध्ये ७ जना निको भएर घर फर्किएका छन्। कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।