PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मनोहरामा महाकालीको झल्को, प्रहरीले जडीबुटीको पुल तर्न नदिएपछि खोला तरेरै बससम्म पुगे गाउँ जानेहरु

मनोहरामा महाकालीको झल्को, प्रहरीले जडीबुटीको पुल तर्न नदिएपछि खोला तरेरै बससम्म पुगे गाउँ जानेहरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको ३० दिन पुगेको छ। यसबीच देशभर ४५ जनामा भाइरसको संक्रमण देखिएको छ। सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एक स्थानीय तहबाट अर्को स्थानीय तह जानसमेत प्रतिबन्ध लगाएको छ।

तर केही दिन लकडाउनको उल्लंघन गर्दै उपत्यका छाड्ने क्रम बढ्दै गएको छ। काठमाडौंको थानकोट र कोटेश्वरबाट सयौंको संख्यामा मानिसहरु गाउँ फर्किरहेका छन्। पहिला हिँड्दै गइरहेका यात्रुहरुलाई स्थानीय जनप्रतिनिधिले बसको व्यवस्था गरेसँगै बाहिर जानेहरुको भिड दिनहुँदिन बढिरहेको छ।

मंगलबारमात्रै कोटेश्वर- जडिबुटी क्षेत्रबाट सयौं मानिस गाउँ फर्किए। भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो भने। यसरी सावधानी बिना सयौं मानिस भेला भएपछि प्रशासनको पनि चर्को आलोचना भएको थियो।

बुधवार पनि त्यति नै संख्यामा मानिसहरु त्यहाँ भेला भए। तर  आज कोटेश्वर जडिबुटी क्षेत्रमा पुगेका मानिसलाई प्रहरीले मुख्य सडकमा बस्न दिएन।

आफ्नो घर फर्किने इच्छाले त्यहाँ पुगेकाहरुको प्रहरीसँग केही बेर भनाभनसमेत पर्‍यो।

'हिजो जान दिने, आज नदिने?' यात्रुहरुले प्रश्न तेर्साइरहे।

प्रहरीले भने भन्दै आज कसैलाई जान नदिन 'माथिको आदेश' छ भन्दै उनीहरुलाई सम्झाइरहेका थिए।

प्रहरीले जडिबुटी पुलबाट हिँड्न रोकेपछि मानिसहरु धेरै बेर त्यही रोकिए। पुल तर्न नदिएपछि केही व्यक्तिहरु भने मनोहरा खोलातर्फ हानिए।

काठमाडौं छाडेर जाने मन बनाएर उनीहरु एकएक गरी खोला तर्न लामबद्ध भए। माथि पुलमा प्रहरीले मानिसहरुलाई रोकिरहेका थिए। तल भने बालबच्चा र सामान बोकी मनोहरा खोला तर्नेको पनि लाम लागेको थियो।

'गाडी पारी आयसक्यो। हामी भने यता छौं। माथिबाट जान दिएनन्। अरु केही विकल्प नभएपछि हामी खोला तर्न बाध्य भयौं,' दोलखा घर भएका सानुकुमारले भने।

मनोहरा खोला गरेपछि उनीहरु भक्तपुर प्रवेश गरे आफ्नो यात्रामा निस्किए।



ट्रेन्डिङ पोस्ट

Ncell