PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोना भाइरस: केही अस्पष्टता र केही वास्तविकता



पहिलोपोस्ट

कोरोना भाइरस: केही अस्पष्टता र केही वास्तविकता

  • डा. सीताराम आचार्य -

अहिले सारा विश्व कोभिड-१९ अर्थात जन जिब्रोको भाषामा भन्नुपर्दा कोरोना भाइरसको महामारीले आक्रान्त छl यो रोगको औषधी र सफल उपचार विधि बारे विभिन्न देशमा तिब्र गतिमा अनुसन्धानहरु भैरहेका छन्, यद्यपि हालसम्म खासै उल्लेखनिय सफलता प्राप्त भैसकेको छैनl विभिन्न मुलुकमा रोग प्रतिरोधात्मक खोपको परिक्षण पनि शुरु भैसकेको छ, तथापि यी खोपहरु प्रभावकारी ठहरिए भने पनि आम मानिसको  निम्ति प्रयोगमा आउन अझै कैयौं महिना लाग्न सक्छl उपचारको बारेमा मात्र नभई रोग निदान अर्थात डायग्नोसिसको प्रभावकारी विधिहरुको बारेमा समेत अनुसन्धानहरु भइ नै रहेका छन्l

गत साता काठमाडौंका एकजना शिक्षाप्रेमी मित्र दिलिप आचार्यसँग 'भर्च्युअल' भेटघाट हुँदा अहिलेको कोरोना महामारी र यसको निदानको निम्ति प्रयोग भैरहेका विधिहरुको प्रभावकारिताको बारेमा सामान्य कुराकानी भएको थियो l पछिल्लो पटक यस सम्बन्धमा नेपालका युवा वैज्ञानिक एवं रसायन शास्त्रका सकृय अनुसन्धानकर्ता डा. वसन्त गिरी र स्वर्णिम देउखुरी क्याम्पसका क्याम्पस प्रमुख डा. जीवराज आचार्य आदिले सामाजिक संजालहरुमा व्यक्त गरिरहनु भएको धारणा  लगायत स्वास्थ्य क्षेत्रका विज्ञहरुले विभिन्न पत्रपत्रिकाहरुमा व्यक्त गर्नुभएको विचारहरु पढिसकेपछि मलाई पनि यसको बारेमा अलि बढी जिज्ञासा पैदा भयोl

यसै सन्दर्भमा उपलब्ध श्रोत-सामग्रीको अध्ययन पश्चात कुनै व्यक्तिमा कोरोना रोग भएको-नभएको पत्ता लगाउन हाल प्रयोगमा आइरहेका विधिहरुको बारेमा लेख्दै गर्दा हालैका दिनहरुमा कोरोना भाइरस सम्बन्धी केही भ्रमपूर्ण धारणा र समाचारहरु सामाजिक संजालमा सुनियो-पढियोl त्यसकारण तत्कालको लागि रोग निदानको विधिहरु र तिनको प्रभावकारिताको बारेको उक्त लेखाइलाई थाँती राखेर सो भन्दा पहिले कोरोना भाइरस सम्बन्धी कतिपय जनमानसमा व्याप्त केही धारणाहरुको बारेमा अलि स्पष्ट पार्न उचित लागेको छl

यस्ता भ्रामक तथ्य तथा सामग्रीहरु सामाजिक संजालमा मात्र नभएर विभिन्न वेबसाइटमा पनि यत्रतत्र भेटिने गर्छन्l जस्तो कि विश्वको एउटा नाम चलेको विश्वविद्यालयको वेबसाइटको हवाला दिँदै विभिन्न वेबसाइटहरुले कोरोना भाइरस सम्बन्धी भ्रामक तथ्यहरु प्रकाशित गरेl पछि सम्बन्धित विश्वविद्यालयले नै ती सामग्रीहरु आफ्नो वेबसाइटमा कहिल्यै नराखिएको र ती सामग्रीहरु भ्रामक रहेको कुरा सार्वजनिक गरेको थियोl  त्यसरी सो विश्वविद्यालयले स्पष्ट पारिसकेको यतिका दिन बितिसक्दा पनि नेपालको एउटा प्रतिष्ठित एयरलाइन्सले भने पछिसम्म उक्त सामाग्री आफ्नो वेबसाइटमा राख्यो। त्यस्ता अप्रमाणित, काल्पनिक र भ्रामक कुराहरुको पछि लाग्नु हुँदैनl विज्ञान प्रमाणित र तथ्यसंगत कुराहरुमा मात्र विश्वास गर्छ, अप्रमाणित र काल्पनिक कुराहरुको विपक्षमा हुन्छ विज्ञान, जहिलेपनिl जसरी यसभन्दा अघिका महामारी र सरुवा रोगहरुको समाधान विज्ञानले गरेको थियो, अहिलेको महामारीको समाधान पनि ढिलो-चाँडो विज्ञानले नै गर्नेछl तसर्थ विज्ञानमै भर पर्नु र विभिन्न वैज्ञानिक खोजहरुबाट प्राप्त हुने सकारात्मक नतिजाको प्रतीक्षा गर्नुको विकल्प हामीसित छैनl महामारी अप्रत्यासित हुन सक्छ र जिवाणुहरुले पनि आफ्नो स्वरुप बदल्दै जान्छन् वा आफुलाई वातावरण अनुकुलित बनाउदै जान्छन्l त्यसैले विज्ञानसँग कहिलेकाहिं यस्ता रोगहरुको रेडिमेड समाधान नहुन सक्छ र समाधानको लागि विज्ञानले बृहत खोज गर्नुपर्ने हुन सक्छ l तर यसैको आधारमा विज्ञान सिद्धियो, विज्ञान त केही होइन रहेछ, यी वैज्ञानिकहरु त कामै नलाग्ने रहेछन् भन्ने खालको अस्पष्टताबाट पनि हामी मुक्त हुनैपर्छl अब म कोरोना भाइरससँग सम्बन्धित केही हल्ला एवं  अस्पष्टताको बारेमा संक्षिप्त चर्चा गर्दैछुl

१. कोरोना भाइरस सजीव कि निर्जीव?

भाइरसलाई जीवित वस्तु मान्ने कि नमान्ने भन्नेमा वैज्ञानिकहरुमा मतक्यैता देखिँदैन l भाइरसले आफैं केही गर्न सक्दैन, अरु जीवित वस्तुको कोषको सहारामा मात्र भाइरस बच्न सक्छ l  भाइरसका कतिपय गुणहरु निर्जीव भन्दा पनि जीवित वस्तु सँग मिल्दोजुल्दो हुन्छन्l यस मानेमा भाइरसलाई धुलो वा धुवाँ जस्तै निर्जीव वस्तु ठानियो भने त्यो सही हुँदैनl

भाइरसलाई झण्डै-झण्डै एउटा मकैको बिउसँग तुलना गर्न सकिन्छl मकैको बिउ निर्जीव तबसम्म रहन्छ जबसम्म उसले अङ्कुराउनको लागि उचित वातावरण (माटो, पानी, तापक्रम, रासायनिक तत्वहरु आदि) प्राप्त गर्दैनl अङ्कुराइसकेपछि उक्त बिउ निर्जीवबाट सजिब अर्थात बिरुवा बन्योl अर्को शब्दमा भन्नुपर्दा बिउ निर्जीव भएतापनि त्यसमा जीवनको अन्तर्निहित गुण हुन्छl भाइरस पनि करिव करिव त्यस्तै होl  भाइरसले पनि आफैंमा आफ्नो जीवन प्रकृयाहरु पुरा गर्न सक्दैनl यसलाई आफ्नो जीवन प्रकृया संचालन गर्नको लागि मान्छे जस्तै अर्को कुनै जीव अर्थात होस्ट चाहिन्छl आफु बच्न र फैलिन सहायक हुने न्युक्लेइक एसिड, प्रोटिन जस्ता रासायनिक पदार्थ बनाउने लगायतका बायोकेमिकल गतिविधिको लागि भाइरसले होस्टको कोश (सेल) मा निर्भर रहनुपर्ने हुन्छl यसबाट भाइरस एउटा परजीवी हो भन्ने कुरा स्पस्ट हुन्छl

भाइरसले कुनै होस्ट प्राप्त गर्न सकेन भने छोटो समयमै यसको अस्तित्व समाप्त हुन्छ भन्ने कुरा पनि यसबाट प्रस्ट भयोl समग्रमा भाइरस भनेको होस्ट प्राप्त नगर्दा आफ्नो जीवन प्रक्रिया संचालन गर्न नसकेर केही घण्टादेखि केही दिनसम्मको छोटो समयमै नष्ट हुने तर होस्ट भेट्टाएको खण्डमा भने सोही होस्टको सहारामा आफ्नो जीवन प्रकृया संचालन गर्दै आफ्नो जीवन लम्ब्याउने एक प्रकारको सुक्ष्म-जिवाणु हो भनेर बुझ्नु उपयुक्त हुन्छ। तर 'भाइरस निर्जीव तत्व हो, त्यसको बोसो युक्त पदार्थ वा त्यस्तै अरु केहीले मात्र यो जीवित भएको हो' भनिहाल्नु चाहिँ कता-कता अलि तथ्यसँग मेल नखाने र अलि अमिल्दो हुन जान्छ र यसो भन्नु भनेको 'मान्छे निर्जीव तत्व हो, उसको मुटु वा गिदीले मात्र मान्छे जीवित भएको हो' भन्नु जस्तै हो l

२. कोरोना भाइरसमा तापक्रमको असर

हामी के कुरामा स्पष्ट हुनुपर्छ भने तातो पानीले नुहाए पनि, चिसो पानीले नुहाए पनि हाम्रो शरीरको तापक्रम परिवर्तन हुने होइन, उक्त तापक्रम स्थिर नै रहन्छ l यसले शरीर भित्रको भाइरसलाई कुनै असर गर्दैन र अर्कोतर्फ, संक्रमण हुने खतरालाई पनि कम गर्दैनl यसैगरी तातो घामले पनि शरीरको तापक्रममा कुनै परिवर्तन नल्याउने हुँदा तातो घामले शरीर भित्रको भाइरस मार्दैन र संक्रमण हुने खतरालाई पनि कम गर्दैनl यदि भाइरस शरीरको बाहिरी भागमै रहेको भएपनि कति डिग्री सेल्सियसको तापक्रममा वा कति आर्द्रतामा सो भाइरस मर्छ भन्ने कुरा हालसम्म प्रमाणित नभएको, अनि धेरै तातो र धेरै चिसो ठाउँहरुमा समेत उल्लेख्य संख्यामा उक्त भाइरसको संक्रमण देखिएको हुनाले तातो पानीले हात/मुख धुँदा वा तातो घाम/चिसो हिउँमा बस्दैमा भाइरस मर्ने र भाइरसको संक्रमण  नहुने होइनl

अत: 'तातो पानीले नुहाउँदा वा हात/मुख धुँदा भाइरस संक्रमण हुने खतरा कम हुन्छ वा भाइरस मर्छ' भन्ने कुरा सत्य होइनl तातो पानीले शरीर बाहिरको भाइरस त मर्दैन भनेर यसरी भनिरहँदा तातो पानी पिएपछि शरीर भित्रको भाइरस मरिहाल्छ भन्ने सोचाइ यथार्थबाट टाढा छ भन्ने कुरा स्वत: प्रष्ट हुन्छl यद्यपि प्रशस्तै पानी पिउनु तथा झोलिलो पदार्थहरु सेवन गर्नु चाहिँ हाम्रो शरीरको लागि फाइदाजनक नै हुन्छl

यसबाट हामीले के कुरा बुझ्न जरुरी छ भने अपरिहार्य वस्तु भनेको साबुन हो, तातोपानी होइनl साबुन लगाएर मिचीमिची हात धुने हो भने चिसो पानी प्रयोग गरेपनि हुन्छ l हात धुँदा साबुन प्रयोग नगर्ने हो भने तातोपानी मात्र प्रयोग गर्नुको कुनै औचित्य छैनl साबुन पानी र भाइरसको बोसोयुक्त बाहिरी पत्रको रासायनिक अन्तरक्रियाको बारेमा मैले "पहिलो पोष्ट" मा केही हप्ता अगाडि प्रकाशित यसअघिको लेखमा चर्चा गरिसकेको छुl

३. अन्य अस्पष्टताहरू

माथि उल्लेखित अस्पष्टताहरूबाहेक कोरोना भाइरससँग सम्बन्धित अन्य केही अस्पष्टताहरू पनि देखिने-सुनिने गर्छन्l जस्तो कि 'ह्याण्ड स्यानिटाइजरमा रहेको अल्कोहलले भाइरस मार्छ भने रक्सीको सेवनले पनि भाइरस मर्नुपर्ने हो' जस्ता कुराहरु पनि नसुनिएका होइनन्, जुन पटक्कै तथ्यसंगत छैनन्l  मानिसले पिउने अल्कोहल इथाइल अल्कोहल होl  हातमा रहेको भाइरस मार्न ह्याण्ड स्यानिटाइजरमा कम्तिमा ६० प्रतिशत् इथाइल अल्कोहल हुनुपर्छl तर त्यो मात्राको अल्कोहल हातमा रहेको भाइरस मार्न मात्र सहायक हुन्छ, शरीर भित्र पसेको 'सकृय' भाइरस मार्न होइनl

तर्कको लागि तर्क गर्ने हो भनेपनि एक त अल्कोहलको मात्रा त्यति धेरै भएको रक्सीहरु धेरै कम हुन्छन् भने अर्कोतर्फ त्यति बढी मात्राको अल्कोहलयुक्त रक्सीहरु पानी नहाली पिउँदा ज्यानै जाने खतरा रहन्छl पानी हालेर पिउँदा पनि अल्कोहलको मात्रा कम हुन जाने भएकोले त्यसले झन् काम गर्ने कुरै आएनl यसर्थ कति मात्राको इथाइल अल्कोहलले शरीर भित्र कैयौंको संख्यामा रहेका सकृय भाइरसहरु मार्छन् भन्ने प्रश्न नै अर्थहिन छ र यस्तो अर्थहिन विषयमा कसैले पनि आजसम्म अनुसन्धान गरेको छैन। यिनै कारणहरुले गर्दा रक्सी पिउँदा कोरोना भाइरस मर्छ भन्ने कुरा किमार्थ सही होइनl बरु यसको ठिक उल्टो धेरै मात्रामा वा बारम्बार रक्सी पिउने व्यक्तिको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र केही गरी उक्त व्यक्ति संक्रमित भयो भने उसको रोग निको हुन गाह्रो पर्न सक्छ भनेर विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ) ले समेत चेतावनी दिएको छl

त्यसैगरी मुख कुल्ला गर्नको लागि प्रयोग गरिने बिभिन्न प्रकारका 'माउथ वास'हरु पनि कोरोना भाइरस मार्न सहायक हुन्छन् भन्ने कुरा पनि सोह्रै आना गलत होl यस्ता 'माउथ वास'हरुमा शरीरको बाह्य भागमा स्थित कोरोना भाइरसलाई मार्न आवश्यक हुने मात्रा भन्दा पनि धेरै कम मात्राको अल्कोहल हुन्छl यस्ता 'माउथ वास'हरुको अल्कोहल पिउन अयोग्य बनाउन हाइड्रोजन पेरोक्साइड, मिथाइल सलिसइलेट, थाइमोल जस्ता पदार्थहरु यसमा मिसाइएको हुन्छl

भाइरस संक्रमणलाई रोक्न चिसो कुरा खानै नहुने, घरपालुवा जनावरको मासु पनि खानै नहुने भन्ने भनाइहरु पनि यथार्थपरक छैनन्l अर्कोतर्फ, 'कोरोना भाइरस सबैभन्दा बढी मुख, त्यसपछि आँखा, अनि त्यसपछि मात्र नाकबाट शरीर भित्र छिर्छ अर्थात नाक भन्दा बढी आँखाबाट शरीर भित्र पस्ने बढी सम्भावना हुन्छ, त्यसैले चश्मा लगाउनु पर्छ' भन्ने भनाइ पनि तथ्यपरक छैनl यो भनाइ कतैबाट पनि प्रमाणित भएको कुरा होइनl बरु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरुले "शरीर भित्र छिर्ने मुख्य माध्यम मुख र नाक नै हो तर आँखा बाट पनि छिर्ने सम्भावना हुन्छ" भनेर भन्दै आएका छन्l

र अन्तमा, कोही पनि व्यक्ति सबै कुराको ज्ञाता हुन्छ भन्ने छैनl त्यसैले आफुलाई थाहा नभएको कुराहरु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरु, सो क्षेत्रसँग सम्बन्धित राज्यका आधिकारिक निकायहरु तथा उक्त क्षेत्रसँग सम्बन्धित आधिकारिक वेबसाइट मार्फत जानकारी लिने र उक्त जानकारी अरुसँग बाँड्ने गरेको खण्डमा आफु र आफ्नो परिवारको लागि मात्र नभएर समाजकै लागि समेत हितकर हुन्छl

लेखक डालस काउन्टी कलेजमा रसायन शास्त्र प्राध्यापन गर्छन्l



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell