अस्ट्रेलियाले जी-२० देशरुसँग जंगली जनावरको व्यापारमा रोक लगाउन अपिल गरेको छ। मानिसको स्वास्थ्य र कृषि व्यवसायमा पर्न सक्ने प्रत्यक्ष असरलाई मध्यनजर गर्दै वन्यजन्तुको किनबेच रोक्न आग्रह गरेको हो।
यस अपिलसँगै अस्ट्रेलिया र चीनबीचको कूटनीतिक सम्बन्धमा झनै दरार आउन सक्ने रोयटर्सले जनाएको छ। चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। तर, पछिल्ला वर्षहरुमा बेइजिङले गरेको साइबर अट्याक र क्यानबेराको घरेलु मामिलामा गरेको हस्तक्षेपका कारण कूटनीतिक सम्बन्धमा फाटो आएको छ।
त्यसैले अस्ट्रेलियाले यसअघि पनि कोरोना भाइरस माहामारीलाई लिएर अन्तर्राष्ट्रिय जाँच गर्न माग गरेको थियो। उक्त मागलाई धेरैले ह्वाइट हाउसको समर्थनको रुपमा समेत व्याख्या गरेका थिए। ह्वाइट हाउसबाट त राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन परस्त भएको आरोपमा आर्थिक सहयोग नै रोक्ने घोषणा गरिसकेका छन्। त्यस्तै कोरोना भाइरसको महामारीका लागि चीन जिम्मेवार भएको भन्दै अमेरिकाको मध्यपश्चिमी राज्य मिसौरीले चीन सरकारविरुद्ध सिभिल (नागरिक) मुद्दा दायर गरेको छ।
अस्ट्रेलियामा भने हालसम्म ६ हजार ६ सय संक्रमित देखिएका छन्। त्यस्तै ७५ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
कोरोना भाइरस संक्रमण चीनको वुहानबाट सुरु भएको हो। वुहानस्थित वेट मार्केटमाबाट फैलिएको भनिएको यस संक्रमण वन्यजन्तुबाट सरेको बताइएको छ। विशेष गरी चमेरालाई यसको कारण मानिएको छ।
संक्रमण फैलिएपछि चीनले जनावरी २३ तारिखदेखि उक्त मासु बजारमा अस्थायी प्रतिबन्ध लगाएको थियो। हाल जंगली जनावरको व्यापारसँग जोडिएका कानूनहरुको समीक्षा समेत गर्दैछ। किनकि चीन पनि हानिकारक जंगली जनावरको व्यापारमा स्थायी प्रतिवन्ध लगाउने तयारीमा छ।
अस्ट्रेलियाका कृषी मन्त्री डेविट लिटिल प्राउडले एक अस्ट्रेलियाली टिभी च्यानलमार्फत् भनेका थिए,'मैले २० प्रमुख अर्थव्यवस्थाको समूहसँग जोडिएका सरकारी अधिकारीहरुसँग वेट- मार्केट बन्द गर्ने योजना सुनाएको थिएँ।' उनले विश्व स्वास्थ्य संगठनको सदस्य रहेका सबैले कोरोना भाइरस सम्बन्धी आवश्यक अध्ययनका लागि साथ दिनु पर्ने कुरामा समेत जोड दिए।
अमेरिकाले पनि एसियाका सम्पूर्ण वेट मार्केट बन्द गर्न माग राखेको थियो।
जी-२० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन्। विश्वका औद्योगिक साथै ठूला अर्थतन्त्रहरु समेटिएको यस समूहको स्थापना सन् १९९९ मा भएको हो।